१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्रसारण लाइनले जोखिम

पर्वत — बाक्लो बस्तीको बीचैबाट विद्युत् प्रसारण लाइन विस्तार हुँदा जलजला २ र ३ का बगरफाँटमा जोखिम बढेको भन्दै स्थानीयले गुनासो गरेका छन् । विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा ३२ केभीए क्षमताको केन्द्रीय प्रसारण लाइन विस्तार गर्न लागेको छ ।

प्रसारण लाइनले जोखिम

घर छुनेगरी टाँगिएका तारका कारण छतमा जानै जोखिम भएको स्थानीयको गुनासो छ । प्रसारण लाइन निर्माण भइसक्दा समेत सम्बन्धित निकायले ध्यान दिएको छैन । करेन्ट लाग्न सक्ने भएकाले छतमा कपडा सुकाउन जान पनि डर लाग्ने स्थानीय सुरेश विकले बताए । ‘घरघरै हाइटेन्सन लाइन छ,’ उनले भने, ‘कि क्षतिपूर्ति दिएर घर भत्काउनुपर्‍यो । नत्र, लाइन व्यवस्थापन गर्नुपर्‍यो । प्राधिकरणले धराप थापेर छोड्न मिल्छ ?’ हाइटेन्सन लाइनकै कारण करेन्ट लागेर तीनजना घाइते भएका उनले बताए ।

तीव्ररूपमा बजारीकरण भइरहेको बगरफाँटका लागि विद्युत् प्रसारण लाइन धराप बन्दै गएको स्थानीय हीराबहादुर बरुवालले बताए । ‘बजारकै माथिबाट प्रसारण लाइन तानियो,’ उनले भने, ‘पछि घर बन्ने क्रम पनि रोकिएन । आफ्नो जग्गामा सबैले घर बनाउनैपर्‍यो ।’ मुख्य लाइन व्यवस्थित गर्न सम्बन्धित निकायलाई आग्रह गरिए पनि बेवास्ता गरेको उनले गुनासो गरे । बगरफाँटको बजार क्षेत्रमा करिब दुई किलोमिटर प्रसारण लाइन छ । १ सय २० घरधुरी उक्त प्रसारण लाइनको जोखिममा रहेका उनले बताए ।

बजार क्षेत्रभित्र परेको हाइटेन्सन लाइन व्यवस्थापन गर्न दबाब दिन स्थानीय टीका माइलीपारको अध्यक्षतामा समिति गठन गरेका छन् । समितिको निरन्तर दबाबपछि गाउँपालिकाले विद्युत् प्रसारण लाइन व्यवस्थापनमा चासो देखाएको छ । बजार क्षेत्रको प्रसारण लाइन व्यवस्थापनका लागि वडा र गाउँपालिकामार्फत ऊर्जा मन्त्रालयमा पहल गरिएको जलजला २ का वडाध्यक्ष गोविन्द खत्रीले बताए ।

‘प्रसारण लाइन व्यवस्थापनका लागि ३० लाख रुपैयाँ लागत अनुमान गरी डीपीआर तयार पारिएको छ । बस्तीलाई जोखिम नहुने गरी व्यवस्थापन हुनुपर्छ,’ उनले भने, ‘कालीगण्डकीको किनार वा बस्तीमाथिको किनाराबाट प्रसारण लाइन लैजाने गरी डीपीआर बनाइएको छ । सम्बन्धित निकायमा कुरा पुगेको छ ।’

प्रसारण लाइन व्यवस्थापनका लागि प्रभावित क्षेत्रका बासिन्दाले सरकारी निकायबाट सञ्चालन हुने योजनाको जनसहभागिताका लागि प्रतिघर १५ हजार रुपैयाँका दरले रकम संकलन गर्न थालेका छन् । हालसम्म ४ लाख ६० हजार रुपैयाँ संकलन भएको समिति अध्यक्ष माइलीपारले बताए । स्थानीयको मागअनुसार योजना स्वीकृत गरिसकेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?