कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेलमैदान फिर्ता गराउन पहल

दिप्ती सिलवाल

पर्वत — कुश्मा नगरपालिका ५ बडागाउँको पुरानो खेलमैदान फिर्ता गर्न पहल सुरु भएको छ । दुई दशक अघिसम्म विभिन्न प्रतियोगिता हुने गरेको उक्त मैदानमा ०५८ सालमा सशस्त्र प्रहरी बलको चण्डिका गण बसेको थियो ।

खेलमैदान फिर्ता गराउन पहल

सशस्त्र द्वन्द्वको समय सुरक्षा बल राखिएयता मैदान सर्वसाधारणले उपयोग गर्न पाएका छैनन् । गणलाई अन्यत्र स्थानान्तरण गरेर मैदान खेल गतिविधिका लागि सहज पारिनुपर्ने स्थानीयको माग छ ।

जिल्ला खेलकुद विकास समितिको नाममा कित्ता नम्बर ८१०, ८१२ र ८१३ को ८३ रोपनी जग्गा छ । गणलाई धौलागिरिका चार जिल्लाको सुरक्षा जिम्मेवारी छ । धेरै जनाको दरबन्दी भएकाले उपयुक्त जग्गा अन्यत्र नभएपछि तत्कालीन रूपमा केही समयका लागि भन्दै बसेको गण अन्यत्र सरेको थिएन ।

कुश्मावासीले पटक–पटक सम्बन्धित विभाग, मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म लिखित र मौखिक जानकारी गराएपछि अहिले उच्च तहमा अन्तिम छलफल भइरहेको जिल्ला समन्वय समितिका प्रमुख मनोहर पौडेलले बताए । ‘जिल्लाको उच्चस्तरीय समितिले छलफल र निर्णय गरी सरकारलाई पठाइएको छ,’ उनले भने, ‘यहाँको समस्याबारे केन्द्रमा कुरा पुगेको छ ।’

सदरमुकाममै खेलमैदानको अभाव भएको अवस्थामा सशस्त्रले ओगट्दा खेलप्रेमी खेलकुद गतिविधि शून्य भएपछि सरोकारवालाले चासो देखाएका हुन् । यसअघि पर्वतमा हुने खेल गतिविधि र ठूला सार्वजनिक कार्यक्रम बडागाउँमा हुँदै आएका थिए ।

हाल सार्वजनिक कार्यक्रम गर्ने खुला चौरको अभाव छ । खुला चौरको अभावमा बान्द्रेबिंडीको साँघुरो चौरमा सार्वजनिक कार्यक्रम हुँदै आएका छन् । साँघुरो चौरको डिलबाट तल करिब दुई सय मिटर अग्लो भीर भएकाले बान्द्रेबिंडीमा कार्यक्रम गर्न जोखिम भएको स्थानीय बताउँछन् ।

सरोकारवालाले ८३ रोपनी बाहेकको जग्गा व्यवस्थापन गरेर चण्डिका गण सार्न सकिने सुझाव समेत दिएका छन् । पटक–पटक गृहजिल्ला आउने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि यसबारे धेरै छलफल भएको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए ।

‘कुश्माको गहना भनेकै बडागाउँ चौर हो,’ उनले भने, ‘बडागाउँमा खेलमैदान हुँदा कुश्माको व्यवसायमा ठूलो फाइदा हुन्छ ।’ राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले चण्डिका गण सार्न सकिने विषयमा केन्द्रमा समेत छलफल चल्नेगरेको बताउँदै आएका छन् । ‘खेलमैदान खुल्ला गर्न समस्या हैन,’ उनले गत साता कुश्माको एक अन्तरक्रियामा भनेका थिए, ‘यत्रो वर्ष बसेको चण्डिका गणलाई तत्कालै अन्त पठाउन मुस्किल हुन्छ । अन्यत्र व्यवस्थापन गरेपछि खेलमैदान फिर्ता हुन्छ ।’ सरोकारवालाले जिल्ला वन कार्यालय, कर्मचारी मिलन केन्द्र, साबिक जिल्ला विकास समिति र पशुसेवा कार्यालयका नाममा रहेको जग्गा उपयोग गरेर चण्डिका गण सार्न सकिने सुझाएका छन् ।

हाल चण्डिका गणले ओगटेको जग्गामा वन कार्यालयको नाममा रहेको कित्ता नम्बर ५२१, कर्मचारी मिलन केन्द्रको नाममा रहेको कित्ता नम्बर ७८४ प्रयोगमा आएको छैन । त्यस्तै साबिक जिविसको कित्ता नम्बर ९३०, सीप विकास तालिम केन्द्रका नामको ९३१ र पशु सेवा कार्यालयका नामको कित्ता नम्बर ४४६ प्रयोगमा ल्याएर सशस्त्रलाई सार्न सकिने सुझाव दिएका छन् ।

विभिन्न कार्यालयका नाममा रहेको पाँच कित्ता जग्गा करिब २० रोपनीभन्दा धेरै हुने भएकाले उक्त जग्गाले चण्डिका गणलाई पुग्ने सुझाव अगुवाहरूले दिएका छन् । त्यसले अपुग भए स्थानीय बडागाउँ सामुदायिक वनको केही जग्गा समेत उपयोगमा ल्याउन सकिने वन उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र पौडेलले बताए ।

सशस्त्रले विगत १७ वर्षदेखि बडागाउँ चौर ओगटेपछि कुश्मामा पर्याप्त खेलमैदानको अभाव छ । मैदानकै अभावमा खेल गतिविधि फस्टाउन नसकेको खेलप्रेमीहरू बताउँछन् । बडागाउँ चौरलाई खेलमैदानका ऋपमा विकास गरी सशस्त्रलाई अन्यत्रै स्थानान्तरण गर्न पटक–पटक आवाज उठ्दै आएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङले बताए ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?