कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मध्यपहाडी लोकमार्गको बिजोग

प्रकाश बराल

बागलुङ — पाण्डवखानीकी जुनदेवी श्रीषलाई सदरमुकामदेखि घर गलकोट पुग्न जिपमा १२ घण्टा लाग्यो । मुख्य बजारदेखि अक्षेते र बिहुँ हुँदै गलकोट निस्कन उनलाई दिनभर लागेको हो । मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकामदेखि रिजालचोकसम्मको २५ किमि खण्ड जीर्ण छ ।

मध्यपहाडी लोकमार्गको बिजोग

फराकिलो बनाएर कालोपत्रेसमेत गर्ने ठेकेदार कम्पनीले काम ढिलाइ गरिदिँदा उनीजस्ता धेरै यात्रीले सास्ती खेप्नु परेको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान शनिबार बडिगाडमा तुरतुरेको पहिरो निरीक्षणका लागि हिँडेका थिए ।

बिहुँमै जीर्ण सडकमा फँसेको ट्रयाक्टरले दिनभर बाटो छेक्यो । उनको टोली राति १२ बजे मात्र सदरमुकाम फर्कन सक्यो । ‘सडककै कारण भीआईपी पाहुनालाई पनि समयमै सुरक्षित रूपमा पठाउन सकिएको छैन,’ प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले भने, ‘कम्तीमा सवारी नफस्ने गरेर बाटो बनाइदिए राम्रो हुने थियो ।’ मध्यपहाडी लोकमार्ग आयोजनालाई आग्रह गरेको समेत उनले बताए ।

हरेक दिन पश्चिम बागलुङका सयौंले यस्तै सास्ती खेप्छन् । तुरतुरेको पहिरोले सडक अवरुद्ध भएकाले ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिकाका सयौंले त खाद्यान्नदेखि दैनिक उपभोग्य सामानसमेत पिठ्युँमै बोकेर लैजानुपर्ने बाध्यता छ । त्यसबाहेक गलकोट नगरपालिका, बडिगाड र ताराखोला गाउँपालिका पुग्नेले पनि सास्ती खेपेका छन् ।

उनीहरूले समेत ५० किमि खण्डमै दिनभर बिताउन बाध्य भएको गुनासो गरे । ‘बिहानै घरबाट निस्केर सदरमुकाममा काम गरौंला भनेकी थिएँ,’ बुर्तिबाङकी हीरादेवी बुढाले भनिन्, ‘सदरमुकाममा बेलुका पुगेर बास बस्न पनि कठिन भयो ।’ तुरतुरेको पहिरो पार गर्न मात्र ३ घण्टा लागेको
उनले बताइन् ।

सबैभन्दा बढी सदरमुकामदेखि ७ किमि पश्चिमको काठेखोला पुग्न घण्टौं हिलोमा फस्ने समस्या छ । कामविशेषले हिंडेका काठेखोला गाउँपालिकावासीले समेत्समयमा पुग्न नसकेको गुनासो गर्छन् । मध्यपहाडी लोकमार्गको निर्माणाधीन खण्डमा विकल्प नदिई काम थालेपछि दैनिक घण्टौं जाम हुने र सवारी फस्ने समस्याले हैरान भएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।

जिल्लाभित्रको १ सय ४२ किमि खण्डमध्ये सदरमुकामदेखि बिहुँको ताराखसेसम्मको १३ किमि खण्डमा सिद्धिसाई प्रकाश संयुक्त निर्माण कम्पनीले काम गरिरहेको छ । एमके कन्स्ट्रक्सन कम्पनीले यसअघिको काम अलपत्र पारेपछि यो खण्डमा यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् । ‘दैनिक कार्यालय जान–आउन पनि हैरान खेप्नु परेको छ,’ थापाले भने, ‘पैदल हिँड्न पनि नमिल्ने गरी सडक बिगारेपछि सयौं मान्छे अलपत्र पर्छन् ।’ अप्ठ्यारो स्थानमा पैदल भए पनि सहज हिँड्ने अवस्था बनाइदिन आग्रह गर्दासमेत ठेकेदारले बेवास्ता गरेको उनले गुनासो गरे ।

सडकको विकल्प नभएका कारण यात्रीले दु:ख पाउनु स्वाभाविक रहेको ठेकेदार कम्पनीका साइट इन्चार्ज यज्ञ शाहीले बताए । ‘दैनिक दुई सयभन्दा बढी गाडी चल्छन्, विकल्प दिने बाटो छैन,’ उनले भने, ‘ढुंगा खस्ने समस्या भएका ठाउँमा गाडी र बटुवालाई सोझै जाऊ भन्न पनि कसरी सकिन्छ ?’ आगामी हिउँदमा काम सक्ने योजनामा रहेको उनले बताए ।

बुर्तिबाङदेखि पश्चिमको खण्डमा पनि यात्रीले दैनिक सास्ती खेपेका छन् । बागलुङको निसीखोलासहित पूर्वी रुकुमका बासिन्दाले यात्रा गर्ने खण्डमा दर्जनौं पहिरो र खाल्डाखुल्डीले यात्रा कष्टकर बनेको हो । असारदेखि बुर्तिबाङबाट निसीतर्फको ५० किमि र बुंगादोभानतर्फको २० किमि खण्डमा गाडी आउजाउ हुन नसक्ने भएको छ । हिउँदमा बुर्तिबाङदेखि रुकुमकोटसम्म बस सञ्चालन भएको थियो ।

तुरतुरे पहिरो हटाउनै चुनौती
दुई साताअघि मध्यपहाडी लोकामार्ग र बडिगाड खोला थुनिने गरी खसेको तुरतुरेको पहिरो पन्छाउने काममा अझै अन्योल छ । प्राविधिक अध्ययन गर्न आएको सेनाको टोलीले पानी खुलाउने काम तत्काल नगरी सडक खुलाउने काम गर्न सुझाव दिएको छ । लोकामार्ग आयोजनाको टोलीले पनि सडक सहज पार्नेबारे अध्ययन गरेको थियो । सडक विभाग र आयोजनाको टोलीले सडक खुलाउने काम प्राथमिकतामा राखेपनि काम थाल्ने टुंगो छैन ।

सेनाको टोलीले थुनिएको खोला खुलाउने विषयमा अध्ययन गरेको थियो । उक्त टोलीले वर्षाको समयमा विस्फोटबाट ढुंगा फोरेर निकास खोल्दा एकैपटक ठूलो भेल बग्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने जनाएको छ । नदीको जलस्तर कम भएपछि हिउँदमा मात्र निकास खोल्न सुझाव दिएर टोली फर्केको छ । ‘अहिले प्राकृतिक रूपमै थुनिएको ठाउँ नाघेर पानी बग्न थालेको छ । त्यसैले विस्फोट गर्दा तटीय क्षेत्रमा असर पर्छ भनेर फर्केका छौं,’ विज्ञ टोलीका प्रमुख सेनानी राधाकृष्ण थापाले भने, ‘सडक खुलाउने काममा पनि सहयोग गर्न तयार छौं ।’ ठूलो विस्फोट गर्नुपर्दा सेनाले सघाउने र अन्य काम सडक विभागबाटै हुने उनले बताए ।

मन्त्री चुमानले पनि प्रदेश सरकारले मात्र यो काम गर्न नसक्ने बताए । ‘सडक विभाग, भौतिक योजना मन्त्रालयको अभियानमा हामी पनि साथ दिन्छौं,’ उनले भने, ‘जनताको दैनिक जीवन सहज बनाउन पनि तत्काल सडक खुलाउनुपर्छ ।’ वर्षासँगैको पहिरोले मध्यपहाडी लोकमार्गको झन्डै ४ सय मिटर सडक छियाछिया बनाएको छ भने ठूला ढुंगाले विभिन्न स्थानमा पुरिएको छ ।

प्रकाशित : आश्विन ८, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?