३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सकियो बर्खे अधिवेशन: ४२ बैठक, १३ विधेयक

लेखनाथ — गण्डकी प्रदेशसभाको दोस्रो अधिवेशन सोमबारबाट सकिएको छ । जेठ १६ बाट सुरु भएको बर्खे अधिवेशन सोमबार रातिबाट अन्त्य भएको हो ।

सकियो बर्खे अधिवेशन: ४२ बैठक, १३ विधेयक

अधिवेशन अन्त्य गर्न प्रदेश प्रमखु बाबुराम कुँवरद्वारा प्रेषित पत्रबमोजिम आइतबारको प्रदेशसभामा सभामुख नेत्रनाथ अधिकारीले अधिवेशन अन्त्यको घोषणा गरेका थिए ।


प्रदेशसभा सचिवालयले सोमबार पत्रकार सम्मेलन गरी अधिवेशन अवधिभर भएका काम सार्वजनिक गरेको छ । प्रदेशसभा सचिव शम्भुबहादुर खड्काका अनुसार अधिवेशन ३५ दिनमा ४४ घण्टा ८ मिनेट बैठक बसेको थियो । ४२ बैठकमा १३ विधेयक (प्रदेशसभा नियमावलीको संशोधन सहित) पारित भएका छन् । यिनमा ११ विधेयक नयाँ हुन् ।


प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) विधेयक, प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश राजस्व बाँडफाँड तथा अनुदान हस्तान्तरण गर्नेसम्बन्धी तयार गरिएको प्रदेश वित्त व्यवस्थापन विधेयक, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, आर्थिक वर्ष ०७५/०७६ को सेवा र कार्यहरूका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश विनियोजन विधेयक), प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, स्थानीय तहको कानुन निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्थ गर्न बनेका विधेयक पारित भएका हुन् ।


अधिवेशनबाटै खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको विधेयक, प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक र गण्डकी प्रदेश, प्रदेशसभा (दोस्रो संशोधन नियमावली पारित भएका छन् ।


तीन विधेयक कारवाहीको प्रक्रियामा छन् । प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा सचिवालय ऐन २०७५, सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वर–पीपल चौतारा संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएका छन् । दोस्रो अधिवेशनमै प्रदेशको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ३ मा प्रदेशसभालाई सम्बोधन गरेका थिए । सचिव खडकाले कर्मचारी अभावले प्रदेशसभा सचिवालयको कामकारबाही अझै चुस्त हुन नसकेको बताए ।


सभामुख अधिकारीले दोस्रो अधिवेशनमा प्रदेशको नाम र राजधानी तोक्ने महत्त्वपूर्ण काम भएको बताए । उनले लोगो र पोसाकको व्यवस्था गर्ने, विभिन्न विधेयक पारित गर्नेजस्ता उल्लेखनीय काम उक्त अवधिमा भएको जनाए । ‘स्रोतसाधन, भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि उल्लेखनीय काम भएका छन्,’ उनले भने, ‘शिशु अवस्थाको प्रदेशसभा हुर्कंदो क्रममा छ ।’ हाल नगर विकास प्रशिक्षण केन्द्रको मातहतमा रहको जग्गा र भवन प्रदेशसभाको नाममा ल्याउन संघीय सरकारलाई आग्रह गरेको जानकारी उनले दिए ।


प्रदेशसभाको मूलगेटबाट सभाभवनसम्म पुग्ने बाटो पिच गर्ने काम भइरहेको र संसदका समितिका सभापतिका लागि कार्यकक्ष स्थापना गर्न भवन निर्माणका लागि टेन्डर आह्वान भइसकेको पनि पत्रकार सम्मेलनमा जनाए । प्रदेश प्रमुख बाबुराम कुँवरले आह्वान गरेपछि हिउँदे अधिवेशन सुरु हुनेछ ।

प्रकाशित : आश्विन ९, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?