कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

तुरतुरे पहिरो हटाउन सुरु

सडकमा ठूला चट्टान आएर बसेकाले हटाउन ठूलो चुनौती

बागलुङ — मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा खसेको कडा चट्टानसहितको तुरतुरेको पहिरो हटाउन लोकमार्ग आयोजनाले काम थालेको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा रहेको तुरतुरेमा दुई साताअघि ठूलो पहिरो खसेको थियो ।

तुरतुरे पहिरो हटाउन सुरु

करिब ४ सय मिटर लम्बाइ र ७ सय मिटर उचाइको पहाडै खसेर लोकमार्ग र बडिगाड खोलाको प्रवाह थुनिएयता यस क्षेत्रको यात्रा कष्टकर छ । खोलाको पानी बढ्दै पहिरो नाघेर बगिरहेको छ भने सडक पुरिएको छ । त्यसयता सयौं यात्रीले आउजाउमा दैनिक सास्ती खेप्दै आएका छन् ।


गत आइतबार पहिरोग्रस्त क्षेत्रमा पुगेको लोकमार्ग आयोजना र सडक विभागको प्राविधिक टोलीले निरीक्षण गरेको थियो । दुवैतर्फबाट पहिरो पन्छाउने काम थालिएको आयोजनाले जनाएको छ । ठूला चट्टान आएर बसेकाले हटाउने काम निकै जोखिम र चुनौतीको छ । ‘समस्या त धेरै छ तर पनि सडक नखुलाई हुँदैन,’ आयोजनाका डिभिजन इन्जिनियर रमेश दृष्टिले भने, ‘सकेसम्म दुई सातामा पहिरो पन्छाउने काम गर्छौं ।’ त्यसका लागि आवश्यक पर्ने उपकरणहरू म्याग्दी र बागलुङमा उपलब्ध भएसम्मको जोहो गरिने उनले बताए ।


पहिरो निरीक्षणका लागि प्रदेशका मन्त्रीदेखि सांसद, प्राविधिक र सेनाको प्राविधिक टोलीसमेत पुगेको थियो । ठूला चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक परे सहयोग गर्ने प्रतिबद्धता सेनाले गरेको छ । पुरानो बहाव थुनिएपछि खोलाको पानी ठूलो क्षेत्रसम्म भरिएर जलविद्युत् आयोजनाको जलाशयजस्तो भएको छ । खोला थुनिएको स्थानमा भने जलस्तर घटेपछि सेनाको टोलीले अवरोध खोल्ने आश्वासन दिएको छ । सडक खुलाउन प्रदेश मन्त्रालयहरूले पनि आयोजनालाई सहयोग गर्ने जनाएका छन् ।


यो मार्ग भएर आउजाउ र सामान ढुवानी गर्ने उपभोक्ताले पनि खाद्यान्नसहित दैनिक उपभोग्य सामान पाउन छाडिसकेका छन् । ‘तत्काल अभाव नहोस् भनेर हामीले पहल गरिरहेका छौं तर पनि उपभोक्ताले सास्ती भने पाएका छन्,’ उद्योग वाणिज्य संघ बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्माले भने, ‘दसैंअघि सडक खुलाउन दबाब परेपछि काम सुरु भएको हो ।’


स्थानीय तहको अगुवाइमा भीमगिठेदेखि दर्लिङ र राजकुत हुँदै बुर्तिबाङ पुग्ने सडक सञ्चालनको पहल पनि सुरु भएको छ । मध्यपहाडी लोकमार्ग खुल्दा २० मिनेटमा पुगिने बुर्तिबाङ उक्त सडकबाट घुम्दा ३ घण्टा लाग्छ । खोला र पहिरोको जोखिमले उक्त सडकको विकल्प नभएपछि स्थानीय तहले रकम खर्चेर सडक बनाउन लागेका हुन् । उक्त खण्डमा जिप चलेमा खाद्यान्न ढुवानी र यात्रीलाई सहज हुनेछ ।


यसैबीच पहिरोपछि बनेको तालले पुरिएका चुडाबहादुर कुमाल र कृष्ण कुमालका घर ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बनाइदिने घोषणा गरेका छन् । घर पुरिएर आफन्तकहाँ शरण लिएका उनीहरू घर बनाएर दिने प्रतिबद्धतापछि खुसी छन् । उनीहरूका घरसहित तीनवटा गोठ अहिले पनि पानीको तालमा परेका छन् ।

प्रकाशित : आश्विन ९, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?