१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सडकमा सुरक्षा सतर्कता

पर्वत — जिल्लाका मुख्य सडकमा सुरक्षा तैनाथी र ट्राफिक नियम पालनाको जाँचमा प्रहरीले कडाइ गरेको छ । मुक्तिनाथको दर्शनका लागि स्थलमार्ग प्रयोग गर्ने यात्री र चाडबाडमा गाउँ फर्कने सर्वसाधारणको यात्रा सहज गराउने उद्देश्यले कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा सुरक्षा सतर्कता

ग्रामीण सडकमा लाइसेन्स नै नभएकाहरूले गाडी चलाउने, क्षमताभन्दा बढी चढाउने, छत र छेउछाउमा यात्रु झुन्ड्याउने, मादकपदार्थ सेवन गरी सवारी चलाउने र बढी भाडा लिने सवारीमाथि निगरानी बढाइएको हो । ट्राफिक प्रहरीले मुख्य राजमार्गमा समेत जाँचमा कडाइ गरिएको जनाएको छ ।

‘मुख्यगरी ग्रामीण सडकमा फोकस गरिएको छ,’ ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले भने, ‘गाउँमा बिनारुट परमिट चल्ने गाडीले धेरै कमजोरी गर्छन् ।’ मध्य पहाडी लोकमार्गको पर्वत खण्ड र मालढुंगा–बेनी सडकमा पनि चौबीसै घण्टा निगरानी गरिएको उनले बताए । मंगलबारदेखि सुरु हुने सोह्र श्राद्धका अवसरमा मुस्ताङको कागबेनीस्थित कालीगण्डकी किनारमा पिण्ड दिने तीर्थालुको भीड लाग्छ ।

पितृतर्पणका लागि पुग्ने श्रद्धालुको भीडले आइतबारदेखि नै पोखरा–बागलुङ सडकमा सवारीको चाप सुरु भइसकेको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गका कारण राजमार्गमा दिउँसोको समयमा दैनिक ७ घण्टा सडक जाम हुने गरेको छ । सडकमा हुने अवरोधलाई लक्षित गरी ट्राफिक प्रहरीले राजमार्गमै ड्युटी गरिएको ट्राफिकले जनाएको छ ।


राजमार्गमा खटिएका ट्राफिक प्रहरीले टाढाका चालक र यात्रुलाई गन्तव्यसम्म पुग्ने सडकमा हुने सम्भावित अवरोध, सडकमा आइपर्ने समस्या र बस्ने स्थानबारे समेत जानकारी गराउँदै आएका छन् । त्यसबाहेक राजमार्गमा हुनसक्ने सम्भावित दुर्घटनाबाट जोगाउन ‘चालकसँग एक मिनेट’ कार्यक्रमसमेत सञ्चालन गरिएको छ । चालकलाई सडकको दायाँ–बायाँ टाँगिएका ट्राफिक बोर्ड, चिह्न, घुम्ती र साँघुरा सडकमा सवारीको गति, जेब्राक्रस, भीर र सम्भावित पहिरोबारे जानकारी दिने गरिएको ट्राफिक प्रमुख रानाभाटले बताए ।


कास्कीबाट धौलागिरि भित्रिने मुख्य नाका नयाँपुल, डिमुवा प्रहरी चौकी, कुश्मा, मालढुंगा, मिलनचोक, र वारिबेनीलगायतमा नियमित चेकजाँच भइरहेको छ । डिमुवा, पातीचौर, कुश्मा र वारिबेनीमा सीसी क्यामेराबाट पनि सडक निगरानी गरिएको छ ।

प्रकाशित : आश्विन ९, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?