कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालकक्षा सुधार्न पूर्वविद्यार्थीको अगुवाइ

प्रकाश बराल

बागलुङ — विद्यामन्दिर माविको शिशु कक्षामा पढ्ने विद्यार्थी विद्यालय जाने भनेपछि खुसी हुन्छन् । विद्यालयमा आरामदायी बसाइँ, रमाएर पढ्ने खेल्ने वातावरण, दिउँसो मीठो खाजाको व्यवस्था गरेर बालबालिकालाई विद्यालय ल्याउने अभियानमा यहाँका पूर्वविद्यार्थीहरूले लगानी गरेका छन् ।

बालकक्षा सुधार्न पूर्वविद्यार्थीको अगुवाइ

जिल्लाकै जेठो विद्यामन्दिर माविका पूर्वविद्यार्थीहरूले व्यक्तिगत लगानी गरेर शिशु कक्षाका बालबालिकालाई रमाएर पढ्न आउने वातावरण बनाएका हुन् । पूर्वविद्यार्थी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवासकुमार राजभण्डारीको अगुवाइमा राजेन्द्र आचार्य, मुकेशचन्द्र राजभण्डारी, र बाबुलाल शाक्यलगायतले अभियान थालेपछि सहयोग पनि जुट्न थालेको छ ।


राणाकालमै १९९७ सालमा स्थापित यो विद्यालयमा प्राथमिकदेखि मावि तहसम्म छ । हाल १ हजार ४ सय विद्यार्थी छन् । ‘बालकक्षालाई पनि प्रभावकारी बनाउन सानो लगानीबाट व्यवस्थापकीय सुधारको काम थाल्यौं,’ आचार्यले भने, ‘पहिलो चरणमा ६ लाख लगानी गरेर कक्षा व्यवस्थापन, बालबालिकाको पोशाक, जुत्ता–मोजा र स्टेसनरीमा लगाएका छौं ।’


हरेक दिन फरक–फरक खाजा खुवाउने व्यवस्था पनि गरेको उनले बताए । बालबालिकालाई विद्यालय आउने बानी पार्न र कक्षा १ का लागि भर्ना अभियान सञ्चालन गर्नै नपर्नेगरी जोहो गरिएको हो । हाल बालकक्षामा २७ बालबालिका भर्ना भएका छन् । ५० जना बालबालिकालाई राख्न सकिनेगरी कक्षाकोठालाई व्यवस्थापन गरिएको प्रधानाध्यापक जगन्नाथ आचार्यले बताए ।


कक्षा १ मा भर्ना गर्नुअघि रमाएर पढ्ने वातावरण बनाउनका लागि यो कक्षा उपयोगी भएको पूर्वविद्यार्थी मुकेशचन्द्र राजभण्डारीले बताए । ‘मेरी छोरी पनि साथीसँग घुलमिल बन्ने, खेल्ने र पढ्न रुची गर्ने भएकी छन्,’ उनले भने, ‘यो कक्षाले नियमित पढाइका लागि सहयोग गर्ने लागेको छ ।’


तीनदेखि चार वर्षका बालबालिकाहरू बालकक्षामा छन् । यो सहयोगलाई निरन्तर बनाउने र सबै पूर्वविद्यार्थीलाई जुटाउने माध्यम बनाउन पहल थालिएको समेत आचार्यले बताएका छन् । बर्सेनि ५ देखि ६ लाख संकलन गर्ने र जिल्लाकै नमूना बालकक्षा बनाउने योजना बनाइएको उनले सुनाए । बालकक्षाका लागि दुईजना सहयोगी शिक्षक भर्ना गरिएको छ । न्यानो कार्पेट बिच्छ्याएर आरामदायी बसाइँ, निद्रा लाग्दा सुत्न र कोठाभित्रका सबै खेल खेल्न सक्ने व्यवस्था पनि मिलाइने उनले बताए ।


बालकक्षाको व्यवस्थापन सुधारको अभियानमा पूर्वविद्यार्थीसमेत रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । ‘मलाई विदेशका महँगा बिद्यालयमा नपढेकोमा पछुतो छैन । विद्यामन्दिरमा पढेकोमा गर्व छ,’ श्रेष्ठले भने, ‘पूर्वविद्यार्थीकै पहलमा विद्यालयलाई नमूना बनाउने हो ।’ सरकारले केही गरेन भनेर बस्दा शिक्षाको गुणस्तर, भौतिक निर्माण सबै अलपत्र पर्ने उनले बताए ।


पूर्वविद्यार्थीहरू जुट्दा शैक्षिक र भौतिक सफलता पाउन सकिने उदाहरण पनि यही विद्यालयले देखाएको छ । भूकम्पले भत्केपछि विद्यालयले सञ्चालन गरेको महायज्ञमा पनि पूर्वविद्यार्थी तथा अभिभावककै सहयोगमा ५ करोड रकम संकलन भएपछि ४ तले भवन बनेको छ । यो भवनले दुई हजार विद्यार्थी थेग्न सक्ने क्षमता बनेको राजभण्डारीले बताए । त्यस्तै बेलायती पूर्वसैनिकहरूको वेलफेयर ट्रस्टले १ करोड ३५ लाख रुपैयाँ लगानी गरेर थप ८ कोठे भवन बनाइदिएको छ ।


उक्त भवनमा छात्रावास राख्ने योजना छ । यहाँ बागलुङ, म्याग्दी र पर्वतका छात्राहरूको छात्रावास पनि सञ्चालनमा छ । १२ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने अभिभावकको नाउँमा एउटा कोठाको नामकरण गर्ने कार्यक्रम राखेपछि धेरैले लाखौं सहयोग गरेका छन् । हाल दर्जनभन्दा बढी कोठाको नामकरण भइसकेको प्रधानाध्यापक आचार्यले बताए ।


प्रकाशित : आश्विन १०, २०७५ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?