कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पहिरोको धरापमा डाँडागाउँ

कान्तिपुर संवाददाता

लमजुङ — भिरालो पाखोमा रहेको कालाघिरिङको डाँडागाउँका घरहरू पहिरोको धरापमा परेका छन् । मस्र्याङ्दी गाउँपालिका ४ मा पर्ने डाँडागाउँका ३६ घरमा धरापमा परेका हुन् । केही घर पहिरोले बगाएको छ भने केही उच्च जोखिममा छन् ।

पहिरोको धरापमा डाँडागाउँ

घर बगाएपछि देवीजंग गुरुङको परिवार बहिनी कन्यामायाको धन्सार बारेर बसेका छन् । लौमाया गुरुङ आफन्तकहाँ सरेकी छन् । बलराम गुरुङको परिवार अस्थायी रूपमा विस्थापित छन् । स्थानीय अगुवा कुमारसिंह गुरुङका अनुसार सबैजसो घरधुरीलाई पहिरोले कुनै न कुनै रूपमा क्षति पुर्‍याएको छ । ‘हामी त चारैतिर पहिरोको घेराउमा परेका छौं । सबैका घरमा केही न केही क्षति पुगेको छ,’ उनले भने, ‘केही आफन्तकहाँ घर सरे । केही डराई डराई अझै बसेकै छन् ।’


उनका अनुसार माथिबाट आएको पहिरोले अधिकांश घरका भित्ता भत्काएको छ । तलबाट गएको पहिरोले आँगन र आधा घर लगेको छ । ‘यसै त भीरको गाउँ । पहिरोले पच्छ्याएपछि हामी डराएका छौं,’ उनले भने, ‘राति सुत्न सकिँदैन । अलि ठूलो पानी आएमा बगाउने खतरा छ ।’


स्थानीयका अनुसार नजिकै कालाघिरिङको गैरीगाउँमा पनि पहिरोले क्षति पुर्‍याएको छ । त्यहाँ करिब ३५ घरधुरी छन् । ‘रातको बेला भए त हाम्रो परिवार लगिसक्थ्यो । पहिरो दिउँसो आएकाले भाग्न भ्याइयो,’ डाँडागाउँका देवीजंग गुरुङले भने, ‘घर र अन्नपात भने केही लग्यो, केही पुर्‍यो ।’ मस्र्याङ्दी ४ का वडाध्यक्ष सुमन गुरुङका अनुसार पहिरो चलेकाले डाँडागाउँ असुरक्षित भएको छ ।


‘पानी नपरे पनि अलिअलि पहिरो खसिरहन्छ । पानी पर्‍यो भने झन् बढी खस्छ,’ उनले भने, ‘गाउँलाई अन्त सार्नुको विकल्प छैन ।’ वडाको विपत् व्यवस्थापन समितिले अनुगमन गर्दा अधिकांश घर बस्न नमिल्ने गरी केही पहिरोले पुरेको र केहीका आँगन तथा पिँढी बगाएको र केही धरापमा परेको उनले बताए ।

प्रकाशित : आश्विन १०, २०७५ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?