कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निभ्यो गाउँको दियो

दिप्ती सिलवाल

पर्वत — गाउँमा कोही बिरामी पर्‍यो कि बोकेर अस्पताल कुदाइहाल्थे । गाईभैंसी बिरामी पर्दा र कुनै समस्या पर्दा प्रेमको ठूलो भर थियो । कुश्मा–७ गोदामका यस्ता २८ वर्षीय प्रेमबहादुर बस्याल वैदेशिक रोजगारीबाट राम्रो कमाइको चाहना राखेर अघिल्लो साउनमा दुबई गएका थिए ।

निभ्यो गाउँको दियो

होटल व्यवस्थापनको तालिम गरेको भए पनि त्यहाँ पुगेपछि दलालले उनलाई भवन बनाउने मजदुरको काम लगाइदिए । एक वर्षसम्म त्यही काम गरे । गत भदौमा मात्रै उनले आफ्नो सीप अनुसारको काम पाएका थिए । पारिश्रमिक पनि राम्रै थियो । साताअघि मात्रै श्रीमती रोशनीलाई यसपालिको दसैंमा आउन नपाउने कुरा फोनमा भनेका थिए । आफू आउन नपाए पनि दसैं खर्च पठाउने बताएका थिए ।


‘दसैंमा ५० हजार जति पैसा पठाउँछु छोरा, आमा र बुवालाई एक–एक जोर लुगा किन्दिनु, आफूले मन लागेको गहना लगाउनु भनेको रैछ,’ दाजु चन्द्रबहादुुरले भने, ‘बुहारीले मसँग गहना किन्ने सल्लाह माग्दै थिइन् । त्यसको भोलिपल्ट उनी माइत गइन् । अहिले यस्तो विपत्ति आइलाग्यो ।’


माइत गएकी रोशनीलाई ससुरा बिरामी हुनुहुन्छ भनेर सोमबार साँझ घरमा बोलाइयो । मंगलबार बिहान श्रीमान प्रेमलाई पक्षघात भएकाले घरमै ल्याउन लागिएको बताउँदै छिमेकी एकपछि अर्कोगरी घरमा भेला भए । करिब ९ बजेतिर श्रीमान त आए । तर, उनले सोचेजस्तो पक्षघात वा अन्य कुनै बिरामी भएर नभई काठको बाकसमा लास आयो ।


यो घटनाले रोशनी अचेत छन् । बाबुआमा विक्षिप्त छन् । ७२ वर्षे बाबु गोपाल कुश्मामा जुत्ता सिलाउने काम गर्छन् । आमा दमको रोगी छिन् । प्रेम एक्ला छोरा थिए । ‘बुढेसकालमा गतिलो घर बनाएर राख्छु बाबा भन्थ्यो,’ पिता गोपालले भने, ‘किन दैवले चुँडेर लग्यो ।’ गाउँका करिब सयभन्दा बढी परिवार शोकमग्न छन् ।


‘जस्तो समस्या परे पनि काँध थाप्थ्यो,’ स्थानीय उजेली नेपालीले भनिन्, ‘गाँवैलाई एक्लो बनाएर गयो । हाम्रो दु:खमा साथ दिने ऊ जस्तो कोही थिएनन् ।’


प्रेमका नजिकका आफन्तका अनुसार दुबईमा करिब एक वर्षभन्दा बढी श्रमिकको काम गरेका उनले एक महिनाअघि त्यहीँको होटलमा खाना पकाउने काम पाएका थिए । नयाँ काम थालेपछि पारिश्रमिक बढेको थियो । तोकिएको बाहेक बढी समयसमेत काम गरेका उनले यो महिनामा दसैंखर्च बापत ५० हजार रुपैयाँ घरमा पठाउन लागेको जानकारी सातादिन अघि गराएका थिए ।


तर, पहिलो महिनाको पारिश्रमिक बुझ्न नपाउँदै कोठामा सुतिरहेको अवस्थामै उनको मृत्यु भएको हो । गत सोमबार मृत्यु भएका प्रेमको शव मंगलबार घर आइपुगेको थियो । दसैंको मुखमा गाउँमा आएको यो विपत्तिले गोदाम आसपास मात्रै होइन सिंगो गाउँ शोकमग्न छ । एक महिनाअघि सोही गाउँका प्रकाश आचार्यको पनि साउदीमा मृत्यु भएको थियो ।


आचार्यको घटनाबाट खसेका आँसु ओभाउन नपाउँदै अर्को नराम्रो खबरले गाउँका लागि ठूलो क्षति भएको वडाध्यक्ष सुवास पौडेलले बताए । ‘गाउँमा यस्तो घटना पहिले सुन्नुपरेको थिएन,’ उनले भने, ‘मृत्युको यथार्थ कारण थाहा नपाउँदा पीडा हुँदोरैछ ।’ विदेशमा मृत्यु भएपछि त्यहाँको सरकारले दिने सामान्य जानकारीको भरमा चित्त बुझाउनुबाहेक परिवारलाई अरू विकल्प नहुने उनले बताए ।


वडासदस्य पर्शुराम पुरीका अनुसार दुवै युवा गाउँकै असल पुस्ता थिए । ‘दु:ख गाह्रो पर्दा काँध थापिहाल्थे,’ उनले भने, ‘महिना दिनमै गाउँले असल नक्षत्र गुमायो ।’ सबैसँग मिलनसार दुवै युवाको मृत्युले अब वैदेशिक रोजगारीको विकल्प गाउँमै खोज्नुपर्नेमा सबै चिन्तित हुन थालेका छन् । विदेश गएका युवाको धमाधम मृत्यु हुन थालेपछि वडाबासीलाई चिन्ताको विषय बनेको छ । वडाध्यक्ष सुवासचन्द्र पौडेलले युवाहरूलाई विदेश जानुभन्दा स्वदेशमै रोजगारतर्फ लगाउनेबारे योजना बनाउन थालिएको बताए ।


उनले विदेश जानबाट रोक्नका लागि वडाले पहिलो चरणमा जनचेतना जगाउन थालेको बताए । युवालाई तरकारी खेती, पशुपालन, व्यवसायतर्फ उन्मुख गराउने कार्यक्रम वडाले सञ्चालन गर्ने सोच बनाएको वडाध्यक्ष पौडेलले बताए ।

प्रकाशित : आश्विन १८, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?