कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पर्व नजिकिँदा महँगी आकासियो

प्रतीक्षा काफ्ले

स्याङजा — दसैं नजिकिएका बेला मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन् । खाद्यान्न, कपडा र गाडी भाडामा साबिकभन्दा मूल्यवृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै गाडीभाडा १० प्रतिशतले बढेको छ ।

पर्व नजिकिँदा महँगी आकासियो

स्थानीय सरकारले कर बढाएको भन्दै बजारमा खाद्यान्न, कपडा र मसलामा २० देखि ४० प्रतिशतसम्म मूल्य बढेको छ । कतिपय व्यवसायीले भन्सारमा करको दर बढेको आयातीत वस्तुको भाउ बढाएका छन् । ‘अब त गुजारा चलाउनै नसकिने दिन आयो,’ मजदुरी गरेर छाक टार्दै आएका कृष्ण नेपाली भन्छन्, ‘यो दुई तिहाइको सरकारले महंगी मात्र बढायो । हामीजस्ता मजदुरले कसरी हातमुख जोर्ने ।’

मजदुरी गर्दा आफूले चार वर्षअघि पाउँदै आएको साबिकको ज्याला नबढेको उनले गुनासो गरे । ‘एक घण्टा भारी बोके पनि दिने उही २० रुपैयाँ हो,’ उनले भने, ‘गरिखान गाह्रो भयो । झन् चाडबाड टार्न मुस्किल छ ।’

महंगीले आफूजस्ता मजदुर सबैलाई समस्यामा परेको उनले बताए । बजारमा दाल, चामल, तरकारी, तेल सबैको मूल्य बढेको पुतलीबजार १ का विमल खातीले बताए । ‘१२ सयमा पाइने तेलको कार्टुन १६ सय, १६ सय पर्ने चामलको बोरा २२ सय पुग्यो,’ उनले भने, किलोको सय पर्ने चनामा ५० रुपैयाँ बढेको छ । मानाको ८० मा पाइने भाङ डेढ सय पुग्यो ।’

बजार भाउमा मनपरी भएको उनले गुनासो गरे । दैनिक उपभोग्य वस्तुको दरभाउ नियन्त्रित हुनुपर्ने र मूल्यसूची सबैले देख्ने ठाउँमा राखिनुपर्ने भनाइ उपभोक्ताको छ । ‘बिदाको दिन बजारभाउ बुझ्ने योजना बनाएर नै पसल पसल चाहर्छु,’ पुतलीबजार–१ का शिव ढकाल भन्छन्, ‘मुठाको ५० रुपैयाँमा पाइने कोसे बोडी डेढ सयसम्म पुर्‍याएका छन् । काउली, लसुन, प्याज, अदुवा सबैको भाउ बढेको छ ।’

सीमित आम्दानी हुनेले घर चलाउनै नसक्ने गरी बजार भाउ उकालो लागिरहेको उनले बताए । ‘कमाइ थोरै, चाहिने कुरा धेरै । त्यसैमा पनि भाउ बढेर किनिसाध्य छैन,’ उनले भने ।

दसैंमा मिठो खाने र राम्रो लाउने चलन पुरानै हो । यहीबेला खाद्यान्न र लुगा कपडाको राम्रो व्यापार हुन्छ । कपडामा सरदर ४० प्रतिशतसम्म भाउ बढेको उपभोक्ता बताउँछन् । जिल्लामा स्याङजा, वालिङ, मिर्दी, फेदीखोला, बाडखोला, गल्याङ र मालुंगालगायत बजार ग्रामीण क्षेत्रबाट किनमेलका लागि आउनेको बजार हो । यहाँका मुख्य तीनवटा बजारका रूपमा पुतलीबजार, गल्याङ र वालिङ छन् ।

स्थानीय तह कार्यान्वयनपछि मुख्य बजारभन्दा साना ग्रामीण बजारले गाउँलेलाई राजमार्ग पुग्न रोकेको छ । पहिलेका ठूला बजारमा अब चाडबाडमा भीड हुने अवस्था नभएको व्यवसायी रविन केसी बताउँछन् । ‘मेला भनेर बजार लागेको कहिल्यै जानिएन,’ उनले भने, ‘दसैं लागेपछि गाउँ–गाउँबाट आउनेहरू सामान किनमेल गर्न बजार झर्ने हुन् । पर्व नजिकिएको जस्तो भएकै छैन ।’ स्थानीयस्तरका उत्पादन नहुने, बाहिरबाट ल्याइएका र कारखानाको प्याकिङ भएर आएका सबैजसो वस्तुमा भाउ बढेको उनले बताए ।

अन्य सामानको तुलनामा दसैंतिहारको मुखमा कपडाको मूल्य बढ्नु स्वाभाविक रहेको दाबी अर्का व्यवसायी रमेश अर्यालको छ । ‘भाउ उत्पादक र थोकबाटै भएर बजारमा आइपुग्छ,’ उनले भने । स्याङ्जामा विशेष गरी सुनौलीबाट भारतीय सामान र पोखरा तथा काठमाडौंबाट स्वदेशी तथा चिनियाँ सामान आइपुग्छ ।

इन्धनमा भएको मूल्यवृद्धिले ढुवानी भाडा पनि बढेको असर बजारमा परेको व्यवसायीको भनाइ छ । यसपटक स्थानीय प्रशासनले बजार अनुगमन कडाइका साथ गरेको छैन । त्यसैले पनि भाउमा मनपरी भएको उपभोक्ताको गुनासो छ ।

स्थानीय सरकार पनि बजार अनुगमनमा विषयमा उदासीन छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा बजार अनुगमन गर्न रहेको अधिकारबारे जनप्रतिनिधि मौन छन् । ऐनमा जनप्रतिनिधिले पनि अगुवाइ गर्न सक्ने प्रवधान भएपछि जनप्रतिनिधिले अधिकार खोसेको महसुस गर्नसक्ने भन्दै स्थानीय प्रशासन अनुगमनबाट पन्छिन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादवराज शर्माले हालै भएको सुरक्षा समितिको बसेको बैठकमा पनि बजार अनुगमनबारे छलफल भएको बताए । ‘बजार अनुगमनको काम छिटै थाल्ने कुरा छ,’ उनले भने ।

प्रकाशित : आश्विन २१, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?