१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ढोरपाटनमा आउन थाले सिकारी

प्रकाश बराल

बागलुङ — चालु आर्थिक वर्षको पहिलो सिजनका लागि ढोरपाटन सिकार आरक्षमा सिकारी आउन थालेका छन् । गत वर्ष कम मूल्यमा बोलकबोल भएकोमा यसपटक भने उच्च मूल्यमा कबोल गर्दै सिकारी आउन थालेको आरक्षका प्रमुख अणराज बरालले बताए ।

ढोरपाटनमा आउन थाले सिकारी

सिकार आरक्षमा वर्षेनी दुई पटक सिकारी आउँछन् । पहिलो सिजन असोज–कात्तिक र दोस्रो सिजन फागुन–चैतमा पर्छ । आरक्षका अनुसार यो वर्ष सिकारीले नाउरका लागि १२ लाख ५ हजार रुपैयाँ राजस्व तिरेका छन् भने झारल सिकारका लागि ९ लाख २० हजार तिरेका छन् ।

विभाग स्तरमा सिकारीले सम्झौता गरेपछि सिकारका लागि ढोरपाटन आउने गरेका हुन् । हरेक वर्ष १६ नाउर र ११ झारल सिकार गर्न पाइने प्रावधान छ । त्यो कोटालाई दुई सिजनमा बाँडिन्छ । पहिलो सिजनमा १० नाउर र ६ झारलको अनुमति दिइएको हो । अघिल्लो वर्ष सिकारीले ६ लाख रुपैयाँसम्म बोलकबोल गरेकोमा यो वर्ष झन्डै दोब्बर बढेको हो ।

पहिलो चरणको पहिलो सिकारीका रूपमा हिमालयन सफारीमार्फत सिकारी ढोरपाटनमा पुगिसकेका हुन् । त्यहाँ पुग्ने सिकारीले बढीमा २१ दिनसम्म आरक्षमा बसेर सिकार गर्न पाउँछन् । आरक्षका लागि सरकारले निर्धारण गरेको कोटामा ५ कम्पनीबाट सिकारी आइरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले बढी राजस्व तिर्नेलाई सिकार अनुमति दिन्छ ।

विभागले कोटा निर्धारण गरेर बोलपत्रको आधारमा सिकारी ल्याउने कम्पनीसँग सम्झौता गर्ने प्रावधान छ । हरेक वर्ष हिमालयन सफारी, नेपाल वाइल्डलाइफ सफारी, ट्रयाक एण्ड ट्रेल्स, ओपन नेपाल वाइल्डलाइफ सफारी र ग्लोबल सफारीले टेण्डरमा भाग लिने गरेका छन् । उनीहरू मार्फत धेरैजसो यूरोपेली मुलुकका सिकारी आउने गरेका हुन् । ढोरपाटनका ७ वटा ब्लकका लागि सिकार अनुमति दिइन्छ । सिकारीले बार्से, फागुने, गुस्तुङ, सेङ र सुनदह ब्लकमा बढी सिकार गर्छन् ।

पर्यटक ल्याउने कम्पनीसँग हुने सरकारी ठेक्काको सम्झौता काठमाडौंमै हुन्छ । सिकारका लागि विभागमै राजस्व तिर्दा स्थानीयले केही नपाएको गुनासो गर्ने गरेका छन् । आरक्षका लागि उठ्ने राजस्वको केही रकम स्थानीयको विकासमा खर्च गर्न उनीहरूको माग छ । ‘यहाँ आएर सिकारीहरू फर्कन्छन् तर उनीहरूले तिरेको लाखौं राजस्वबाट हाम्रो क्षेत्रको विकासमा केही लगानी भएन,’ ढोरपाटनका स्थानीय दीपक थापाले भने, ‘राज्यले यो भाग उपयोग गर्ने तर, जनताको विकासमा ध्यान नदिने गर्नु हुँदैन ।’

सरकारी तहबाट आरक्ष आसपासको भागलाई मध्यवर्ती क्षेत्र घोषणाका लागि आह्वान भइरहेकाले त्यसपछि मात्र राजस्व पाउने आधार तयार हुने आरक्षका प्रमुख बरालले बताए । ‘मध्यवर्ती क्षेत्र घोषणा गर्दा ५० प्रतिशत राजस्व स्थानीय रुपमै खर्च गर्न पाउने व्यवस्थापन हुन्छ,’ उनले भने, ‘त्यसका लागि प्रारम्भिक पूर्वाधार बनाउने तयारी छ ।’ आरक्षको प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्ने, रोजगारी र सुरक्षाका लागि मध्यवर्ती क्षेत्र सहयोगी हुने उनले बताए ।


उक्त क्षेत्रको सुरक्षाका लागि नेपाली सेना खटिएको छ । हाल सेनाको हनुमानध्वज गुल्मले उक्त क्षेत्रको सुरक्षा गरिरहेको हो । सेना बसेपछि चोरी सिकारी र अतिक्रमण लगायतको समस्या पनि हटेको छ । त्यस्तै स्थानीय बासिन्दाको नियमित स्वास्थ्य परीक्षण र विद्यालय पुनर्निर्माण तथा शैक्षिक सामग्रीका लागि पनि सेनाले सहयोग गरिरहेको छ ।

वर्षमा २ करोड रुपैयाँसम्म राजस्व संकलन हुने मुलुकै एक मात्र सिकार आरक्ष हो । ढोरपाटन क्षेत्र पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण गन्तव्य मानिन्छ । आरक्ष क्षेत्रसम्म पुग्न सडक मार्ग भने अझै स्तरोन्नतिको पर्खाइमा छ । सिकारी भएर आउने पर्यटकहरू हेलिकप्टरमा आउने गरेका छन् । आरक्ष क्षेत्र घुम्नका लागि आउजाउ गर्न चाहनेलाई वर्षामा सडक बिग्रने भएकाले असुविधा छ ।

प्रकाशित : आश्विन २१, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?