कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘आफ्नो सुरक्षा आफैं गर्छौं’

दीपक परियार

लेखनाथ — पोखरा बाटुलेचौरकी १५ वर्षीया ममता अधिकारीले बलात्कारका समाचार नसुनेको दिन हुँदैन  । घर नजिकैको विन्ध्यवासिनी माविमा ७ कक्षामा पढ्ने उनको मन त्यो दिनदेखि झन् बेचैन बन्यो जुन दिन ६ कक्षामा पढ्ने पुष्पा बस्नेतको शव भेटियो  ।

‘आफ्नो सुरक्षा आफैं गर्छौं’

विद्यालयमै आत्मरक्षा तालिम पाएपछि भने उनका केही साहस बढेको छ ।


गण्डकी प्रदेशस्तरीय आत्मरक्षा तालिम उनकै विद्यालयबाट सुरु भयो । तीनदिने तालिमको पहिलो दिन उनले अरूले आक्रमण गरे कसरी जोगिने भन्ने सिकिन् । ‘अब कसैले हातपात गर्न खोजे प्रतिकार गर्न सक्छुजस्तो लाग्छ,’ उनले भनिन्, ‘तालिमले मनमा आँट पनि बढ्दो रहेछ ।’ कक्षा ७ मै पढ्ने रुवी नेपाली अनावश्यक रूपमा कसैले छोए तुरुन्तै प्रतिकार गर्ने हिम्मत राख्ने बताउँछिन् । ‘हाम्रो आत्मबल बढेको छ,’ उनले भनिन्, ‘अब आफ्नो सुरक्षा आफैं गर्छौं ।’ आफूले सिकेको आत्मरक्षा कला छिमेकका आफ्ना साथीलाई पनि सिकाउने उनले बताइन् ।


यौनजन्य हिंसामा वृद्धि भएपछि पोखरामा पनि इम्पावर वुमन एन्ड चिल्ड्रेन (इवाच) नेपालले छात्रालाई आत्मरक्षा तालिम दिन सुरु गरेको हो । संस्थाले हाल ६ देखि १० कक्षासम्मका छात्रालाई आत्मरक्षा तालिम दिइरहेको छ । विन्ध्यवासिनी माविबाट सुरु भएको तालिम प्रदेशका अन्य सामुदायिक तथा निजी विद्यालयसम्म पुग्नेछ ।

तेक्वान्दोका सेकेन्ड डन जीवन खातीले तालिम दिइरहेका छन् । ‘तालिम लिएपछि लडेर परास्त नै गर्न सकिन्छ भन्ने होइन,’ उनी भन्छन्, ‘केही हदसम्म चर्को स्वर गरेर प्रतिकार गर्ने हो भने पनि अपराधीको मनोबल घट्छ ।’ ईवाच नेपालकी अध्यक्ष सुमिता बस्नेत आकस्मिक रूपमा हुने आक्रमणबाट बच्न आत्मरक्षा तालिम सहयोगी बन्ने बताउँछिन् ।

तालिमसँगै छात्रालाई मनोविमर्श पनि प्रदान गर्ने भएकाले शारीरिक र मानसिक दुवै आत्मबल बढ्ने उनले बताइन् । ‘कतिपय अवस्थामा बालबालिकालाई ललाइफकाई पनि यौनजन्य हिंसा भएका छन्,’ उनी भन्छिन्, ‘शारीरिक रूपमा प्रतिकार गर्ने त छँदै छ, कसैले अनुचित प्रस्ताव राखे ‘हुँदैन’ भन्न पनि तालिमले सिकाउँछ ।’


गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइराला तालिमले सोच्ने तरिकामै परिवर्तन ल्याउने बताउँछन् । तालिमको उद्घाटन गर्दै उनले जीवनप्रति आत्मविश्वास बढ्ने अनुभव सुनाए ।

प्रकाशित : आश्विन २३, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?