कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शिक्षा सुधार्दै रूपा गाउँपालिका

दीपक परियार

लेखनाथ — एक कक्षामा १, दुई कक्षामा २ र तीन कक्षामा ३ विद्यार्थी । कतै दुई विद्यार्थीलाई ३ शिक्षक । कतै एक शिक्षकलाई ४ विषय । ग्रामीण भेगका सामुदायिक विद्यालयमा यस्तै हुन्छ । सामुदायिक विद्यालयको यही अवस्था सुधार्न कास्कीको रूपा गाउँपालिकाले नमूना कार्यक्रम लागू गरेको छ ।

शिक्षा सुधार्दै रूपा गाउँपालिका

गाउँपालिकामा १० माध्यमिकसहित ३४ विद्यालय छन् । रूपा आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका घोषणा भइसकेको छ । ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भदौ २४ मा उक्त घोषणा गरिएको हो । ३४ वटै विद्यालयमा ५ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । गाउँपालिकाले प्रत्येक विद्यार्थीलाई अंग्रेजी माध्यमको एक/एक सेट किताब नि:शुल्क उपलब्ध गराएको छ ।

अंग्रेजी किताबका लेखकलाई गाउँपालिकामा बोलाएर शिक्षकलाई तालिम पनि प्रदान गरेको छ । वर्षमा तीनपल्ट दिइने त्यस्तो तालिम दुईपल्ट भइसकेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले विज्ञान, गणित, अंग्रेजी र सामाजिक विषयका किताब लेखकले तालिम दिएको बताए । उनका अनुसार तालिमले शिक्षकको क्षमता अभिवृद्धिमा मद्धत पुग्छ ।

गाउँपालिकाले १० वटै माविमा शिक्षक र कर्मचारीलाई विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । क्रमिक रूपमा सबै विद्यालयमा विद्युतीय हाजिरी पुर्‍याउने गाउँपालिकाको लक्ष्य छ । पाठय योजनासहितको शिक्षक डायरी गाउँपालिकाले तयार गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा एउटै पाठयक्रम र कार्यक्रमसहितको शैक्षिक क्यालेन्डर लागू भएको छ । गाउँपालिकाकै सहयोगमा प्रत्येक विद्यालयका छात्रालाई नि:शुल्क सेनिटरी प्याड वितरण हुँदै आएको छ । शिक्षिकालाई समेत सेनिटरी प्याड नि:शुल्क वितरण हुन्छ । ‘छात्रा महिनावारी हुँदा विद्यालय नआउने समस्या देखेपछि सेनिटरी प्याड बाँड्न थाल्यौं,’ गाउँपालिका अध्यक्ष भन्छन्, ‘यसले छात्राको हाजिरी बढाएको छ ।’

गाउँपालिकाका १० वटै माविमा दुई/दुई किलोवाट क्षमताको सोलार पावर जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा प्रत्येकमा ४ लाख ७० हजार रुपैयाँ बराबरको सोलार जडान गाउँपालिकाले गरेको हो । उक्त सोलारबाट कम्प्युटर, प्रिन्टर चलाउन, बत्ती बाल्न पर्याप्त रहेको गाउँपालिका अध्यक्ष ओझाले बताए । गत आर्थिक वर्षमा शिक्षामा ५७ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ छुटयाएको छ ।

प्राथमिकतामा प्राविधिक शिक्षा
एसईईपछि विद्यार्थीले गाउँ छाड्ने क्रम बढेपछि गाउँपालिकाले प्राविधिक शिक्षाको योजना ल्याएको छ । जसअन्तर्गत तीन विद्यालयले प्राविधिक शिक्षाको अनुमति लिएर कक्षा सञ्चालनको तयारीमा छन् । विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर पढाइ सुरु गर्न लागेका हुन् ।

देउरालीको विश्वशान्ति माविमा सिभिल इन्जिनियरिङको तीन वर्षे डिप्लोमा कोर्स सुरु भएको छ । सीटीईभीटीको प्रवेश परीक्षामाफर्त छनोट भएका २० विद्यार्थीको भर्ना विद्यालयले लिइसकेको छ । यही असोज ७ देखि कक्षा सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक वसन्त पहारीले बताए ।

‘इन्जिनियरिङलाई आवश्यक भवन, ल्याबलगायत भौतिक संरचना तयार गरिसकेका छौं,’ उनले भने । खाल्डेको गाउँफर्क माविमा पशुविज्ञान र रामकोट माविमा बालीविज्ञानको पढाइ हुन लागेको छ । दुवै कोर्स १८ महिने हुन् । पशुविज्ञान र बालीविज्ञानमा प्रवेश परीक्षामार्फत २०/२० विद्यार्थी छनोट भएका छन् । गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्यसहित बजेटमार्फत २४ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?