कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

मुडिकुवा–झकलाक सडक कालोपत्रे सुरु

कान्तिपुर संवाददाता

पर्वत — फलेवास नगरपालिकाको मुडिकुवा–झकलाक सडकको कालोपत्रे काम सुरु भएको छ  । नगरप्रमुख पदमपाणि शर्माका अनुसार ठेकेदार कम्पनीले अघिल्लो सातादेखि काम सुरु गरेको हो  ।

मुडिकुवा–झकलाक सडक कालोपत्रे सुरु

पटक–पटकको दबाबका बीच काम छोडदै सम्पर्कमा आउँदै गरेका ओएसिस इन्जिनियरिङ एन्ड बिल्डर्स कम्पनीका ठेकेदारले काम थालेका हुन् । गत असारभित्रै काम सक्ने सम्झौता भए पनि सम्पर्कमा आउन आनाकानी गरेपछि फलेवासका नगर प्रमुखसहितको टोलीले ठेकेदार अच्यूत पाण्डेलाई १० असोजमा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक आयोजना (डोलिडार) कार्यालयमै डाकेर काम छिटो सक्न दबाब दिएका थिए ।

‘वर्षाले बिग्रिएको काम मर्मत गर्ने र गिट्टी ओसार्ने काम गर्दैछ,’ शर्माले भने, ‘अब मंसिरभित्र काम सक्न दबाब दिएका छौं ।’ सम्झौताअनुसार ७ किलोमिटर सडकको ३.७५ मिटर चौडा कालोपत्रे गर्नुपर्ने छ । नगरपालिकाले अघिल्लो वर्ष सडकको नयाँ मापदण्ड बनाएअनुसार उक्त सडकको चौडा कम हुने भएपछि नगरपालिकाले ४ मिटर चौडा कालोपत्रे गर्न डोलिडारलाई आग्रह गरेको नगरप्रमुख शर्माले जानकारी दिए ।

दोस्रो पटक सम्झौता मिति थपिएको करिब ३ महिनापछि काम सुरु गरको ठेकेदार कम्पनीलाई भने अब काम सकेपछि मात्रै भुक्तानी दिइने भएको छ । यसअघि तत्कालीन जिल्ला प्राविधिक कार्यालयबाट कामको प्राविधिक मूल्यांकन र भुक्तानी हुँदै आएकोमा १० असोजमा डोलिडार कार्यालयमा भएको छलफलपछि जिल्लास्थित ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालय र नगरपालिकाले समन्वय गर्ने छलफल भएको हो । डोलिडार प्रमुख रामचन्द्र श्रेष्ठको रोहरवरमा भएको छलफलमा कामको प्राविधिक निरीक्षण तथा भुक्तानीमा नगरपालिकाले समन्वय र सहयोग गर्ने निर्णय भएको थियो । निर्णयअनुसार ठेकेदार कम्पनीले काम सकेपछि मात्रै भुक्तानी पाउनेछ ।

कालोपत्रेको सबै काम मंसिर मसान्तसम्म सक्ने र ठेकेदारलाई बाँकी रकम भुक्तानी गर्नका लागि बजेट व्यवस्था गर्ने निर्णय भएको तत्कालीन जिल्ला इन्जिनियर एवं ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यायका प्रमुख जगदीश शर्माले बताए । ‘धेरैजसो काम सकिएको छ,’ शर्माले भने, ‘गिटी बिछ्याउने र कालोपत्रे गर्ने २० प्रतिशत काम बाँकी हो । मंसिरभित्र सक्नेगरी सम्झौता भएको छ । अब काम सकेपछि मात्रै भुक्तानी दिने हो ।

दोस्रो पटक थप भएको मितिअनुसार गत असार २० सम्ममा सडक निर्माण सक्नुपर्ने थियो । प्राविधिकका अनुसार ठेकेदारले गरेको काममध्ये १ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । चालु आर्थिक वर्षमा बाँकी काम सम्पन्न गर्न आवश्यक पर्ने ४ करोड रुपैयाँ रकम बजेटमा व्यवस्था भएको छैन । निर्माण कम्पनीलाई अहिलेसम्म ८ करोड १८ लाख रुपैयाँ भुक्तानी भएको छ । फलेवास नगरपालिकासहित महाशिला, बिहादी र पैयुँ गाउँपालिका जोड्ने मुख्य सडकको ७ किमि खण्ड कालोपत्रे गर्न ०७२ माघमा चितवनस्थित ओएसिस इन्जिनियरिङ एन्ड बिल्डर्स कम्पनीले ठेक्का सम्झौता गरेको थियो । पछिल्लो कामको विवरणबारे जानकारी माग गर्दा कम्पनी सञ्चालक अच्यूत पाण्डेले जानकारी दिन मानेनन् ।

स्थानीय विकास मन्त्रालयको ग्रामीण पुनर्निर्माण तथा पुन:स्र्थापना आयोजना (आरआरआरएसडीपी) को १२ करोड रुपैयाँ लगानीमा ६.७५ किलोमिटर सडकको काम ०७२ माघमा सम्झौता भई ०७४ असार २० मा सक्नुपथ्र्यो । ओएसिस कम्पनीले जिम्मा लिएको काम बीचैमा छाडेर ठेकेदार लामो समय सम्पर्कविहीन भएका थिए । बीचैमा काम छाडेर बेखबर भएका ठेकेदार पाण्डे स्थानीयवासी र सरोकारवालाको दबाबपछि झन्डै एक वर्षपछि काममा फर्किएका थिए ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?