कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नवदुर्गा महोत्सव सुरु

कान्तिपुर संवाददाता

कास्की — पोखराको विन्ध्यवासिनी मन्दिरमा बडा दसैंको अवसरमा नवदुर्गा महोत्सव सुरु भएको छ  । बुधबार नगर परिक्रमा र्‍यालीपछि सुरु भएको महोत्सव नवमीसम्म विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति सचिव तीर्थ श्रेष्ठले बताए  ।

नवदुर्गा महोत्सव सुरु

महोत्सवअघि आयोजित भगवती शोभायात्रामा उल्लेख्य संख्यामा नगरवासी सहभागी भएका छन् । देवीका नौ रूपको स्वरूप नौ कन्याका नौ रथ, मन्दिरको प्रतिकात्मक स्वरूप सजिएको झाँकी, १ सय ८ कलश, भजन समूह र विभिन्न जातजातिका वेशभूषासहितको सांस्कृतिक झाँकी र्‍यालीमा थियो । र्‍यालीमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्काउट, आमा समूह, धार्मिक, सामाजिक र शैक्षिक संघसंस्थाहरूको सहभागिता थियो । शोभायात्राले मोहरियाटोल, भैरवटोल र महेन्द्रपुललगायत बजारका विभिन्न भागको परिक्रमा गरेको थियो । महोत्सवको उद्घाटन गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।

आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवद्र्धनका लागि विगत ११ वर्षदेखि महोत्सव हुँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । तीन सय वर्षको इतिहास बोकेको मन्दिरमा स्याङ्जा, तनहुँ, लमजुङ र गोरखा लगायतका जिल्ला र छिमेकी राष्ट्र भारतबाट समेत धेरै भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

बागलुङ कालिकामा भीड
बागलुङ (कास)– घटस्थापनाको दिन बागलुङ भगवती मन्दिरमा सयौं भक्तजनको भीड लागेको छ । बिहान ४ बजेदेखि लामबद्ध भएर पूजा गर्नेको भीड दिउँसो १२ बजेसम्म लागेको थियो । कालिकाप्रति विश्वास भएकाले भक्तजनहरू आउने गरेका हुन् । सोह्र श्राद्धमा मुक्तिनाथ गएका अधिकांश भक्तजनसमेत घटस्थापनाको दिन मन्दिरमा पूजा गर्न आएका थिए । ‘टाढाबाट आएकाले कालिकाको पूजा पनि गरेर जाऔं भनेर एक दिन यतै बसियो’ चितवनका हरि कोइरालाले भने, ‘छिमेकीहरूले पनि कालिकाको शक्तिबारे गुणगान गाएकाले आएको हुँ ।’ समय–समयमा छिमेकीहरू कालिका मन्दिर आएकाले आफू पनि आएको उनले बताए ।

पूजा र बलि व्यवस्थापन गर्दै सरसफाइ गरिएकाले कालिका मन्दिर चिटिक्क देखिएको थियो । घटस्थापनादेखि सुरु हुने विशेष पूजा कोजाग्रत पूर्णिमासम्म चल्ने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए । राजमार्गबाट ७ सय मिटरभित्र जंगलमा रहेकाले भक्तजनले मन्दिर पुग्दा पनि आनन्द अनुभव गर्छन् । गुठीले पञ्चवर्षे योजनासहित गुरुयोजना बनाएर काम गरिरहेकाले केही वर्षदेखि मन्दिर आउने भक्तजन बढिरहेका छन् । खानेपानी, सार्वजनिक टेलिफोन, सुरक्षाकर्मीलगायतको व्यवस्थापनले भक्तजनले सुरक्षित महसुस गरेको मन्दिर आएकी गीता थापाले बताइन् ।

घटस्थापनाकै दिन पारेर बागलुङ नगरपालिका ९ तित्याङमा पुनर्निर्माण गरिएको मनकामना मन्दिर उद्घाटन गरिएको छ । नगरप्रमुख जनकराज पौडेलले मन्दिर उद्घाटन गरे । नगरपालिकाको ४ लाख रुपैयाँ खर्चेर मन्दिर पुननिर्माण गरिएको हो ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?