व्यवस्था बदलियो, मन उस्तै

कान्तिपुर संवाददाता

पर्वत — कुश्मामा बिहीबार ६३ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अघिल्तिरको सहिद प्रहरीको स्मृतिमा निर्मित स्तम्भमा माल्यार्पण गर्न लहरै माल्यार्पण र पुष्पगुच्छा अर्पण चल्यो  ।

व्यवस्था बदलियो, मन उस्तै

प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, नगरपालिका र जलजला गाउँपालिकाका प्रमुख उपप्रमुखलगायत सहिद स्तम्भमा श्रद्धाञ्जली दिन पालोमा थिए । उनीहरूसँगै थिए जिल्लामा कार्यरत प्रहरी अधिकृत, जवान, अन्य सरोकारवाला ।


यही भीडमा थिए सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका प्रहरीका पत्नीहरू मेनका लामगादे, लीला केसी, भीमकुमारी पौडेल र नारायणी केसी लगायत । स्तम्भमा माल्यार्पण गर्दैगर्दा सहादतप्राप्त प्रहरीपत्नी मोदी ५ बाजुङकी नारायणी केसीले पछ्यौराले मुख ढाकेर डाँको छोडिन् । बर्सेनि असोज २५ मा मनाइने प्रहरी दिवसमा निमन्त्रणा गरे पनि श्रीमान्को मृत्युपछि पहिलोपटक उनी औपचारिक कार्यक्रममा सहभागी भएकी थिइन् ।


उनले स्मृति स्तम्भमा माल्यार्पण गर्नै सकिनन् । ‘उहाँको मृत्युपछि धेरै आश्वासन पाएँ । केटाकेटी साना थिए,’ उनले भनिन्, ‘पढाउन र जागिर खोज्न सहयोग गर्छौं भन्ने आश्वासन कहिल्यै पूरा भएन ।’ आफ्ना श्रीमान्जस्ता सयौं प्रहरीले कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएर मुलुकको शासन व्यवस्था बदलिए पनि आफ्नो मन बदल्ने कुनै बाटो नभेटेको उनले बताइन् ।


कार्यक्रममा बोल्दै दिवंगत प्रहरीपत्नी मेनका लाम्गादेले जीवनसाथी गुमाउँदा भन्दा त्यसयता मुलुकमा भएको राजनीतिक परिवर्तनले पीडाबोध भएको बताइन् । ‘एक्लै पछ्यौराले मुख ढाकेर रुन्छु,’ लाम्गादेले भनिन्, ‘मृत्यु स्वाभाविक भए पनि त्यसले दिने पीडा सहनै नसक्ने गरी बल्झिइरहेको छ ।’ राज्यले दिने सामान्य पेन्सनबाहेक चित्तबुझ्दो सहयोग नपाएको गुनासो गरिन् । बर्सेनि मनाइने प्रहरी दिवसमा जिल्ला प्रहरीमा आयोजना हुने कार्यक्रममा विगत स्मरण गर्दा मन थाम्न मुस्किल हुने प्रहरीपत्नीहरूले बताए ।


पछिल्लो समय प्रहरीमाथि उठेका आचरणका प्रश्नहरूले पनि सहिद प्रहरीको आत्मामाथि ठेस पुगेको उल्लेख गर्दै प्रहरीपत्नीहरूले त्यसमा हेक्का राख्न अनुरोध गरे । कञ्चनपुरको घटनालाई जोड्दै उनीहरूले प्रहरीलाई सर्वसाधारणले गरेको भरोसामा आँच आएको गुनासो गरे । ‘प्रहरी नागरिकको अभिभावक हुन्छ भन्ने भनाइ भ्रम साबित भएको छ,’ लीला केसीले भनिन्, ‘एक जनाले गल्ती गर्दा पनि संगठनकै बदनामी हुन्छ । प्रहरी परिवार भएकाले हामीलाई पनि छुँदोरैछ ।’ सशस्त्र द्वन्द्वका बेला मुलुकमा शान्ति स्थापनार्थ बलिदान दिएका परिवारको आँसु पुछ्नेगरी परिवर्तन ल्याउने कुरामा राज्यले चासो नदेखाएको उनीहरूले गुनासो गरे ।


सशस्त्र द्वन्द्वका क्रममा पर्वत जिल्लाभित्र ज्यान गुमाएका २६ जना प्रहरीको स्मरण र सम्मानमा कार्यक्रममा पुष्पगुच्छा र माल्यार्पण गरिएको थियो । गएको एक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न दर्जाका प्रहरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले प्रहरीको आचरण सुध्रे मात्रै आमनागरिकले विश्वास गर्ने वातावरण बन्ने दाबी गरे ।

‘हाम्रो संगठनभित्र पनि कमजोरी होला,’ उनले भने, ‘कमजोरी आफैंबाट सुधार्ने प्रयास गर्नुपर्छ । हामीले यहींबाट सुरु गरिसकेका छौं ।’ उनले आफू आएलगत्तै जिल्ला प्रहरी परिसरभित्र मद्यपान र धुम्रपान पूर्ण रुपमा निषेध गरेको बताए ।

प्रकाशित : आश्विन २६, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?