१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कारागारभित्र दसैं खर्चको जोहो

गएको दसैंका बेला १ हजार ५ सय मुडा बेचेका कैदीबन्दी यसपटक पनि उत्तिकै मिहिनेत गर्दै
प्रताप रानामगर

दमौली — बन्दी जीवन बिताइरहेका तनहुँ कारागारका अधिकांश कैदीबन्दी यतिबेला दसैं खर्च जोहोका लागि दिनरात मिहिनेत गरिरहेका छन्  । भित्र तयार पारिने मुडाले राम्रो आम्दानी हात पर्ने भएकाले बनाउन लागिपरेका हुन्  ।

कारागारभित्र दसैं खर्चको जोहो

‘अरू बेला पनि बुन्छन् तर दसैंतिहारमा मुडा अलि धेरै बिक्री हुन्छ,’ नाइके नरबहादुर थापाले भने, ‘दसैंमा आउने पैसा धेरैले घरखर्चका लागि पठाउँछन् । त्यसैले अहिले दिनरात खटिरहेका छन् ।’ मुडा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरकले गर्दै आएको उनले बताए ।


कामको जिम्मेवारीअनुसारको पारिश्रमिक पनि छ । टायर राखेको १०, मुडा उठाउने १५, बिट मारेको र बुट्टा भरेको ३०/३० रुपैयाँ दरले पारिश्रमिक तोकिएको छ । हिजोआज प्रतिव्यक्ति दैनिक दुई सय रुपैयाँ हात परिरहेको छ ।


बिहान उठ्नासाथ काममा जुट्ने अर्जुन तामाङलाई यो दसैंमा १० हजार भेला पार्न मन छ । ‘घरमा दसैं राम्रोसँग मान्न सघाउने सुर हो,’ उनले भने, ‘दसैं खर्चमात्रै पनि घरमा पठाउन सक्दा ठूलो मदत हुन्छ ।’ परिवारलाई लुगाफाटा, माछामासु र चामलका लागि भरथेग गर्न मिहिनेत गरिरहेको उनले बताए । ‘पोहोरको दसैंमा ६ हजार पठाएको थिएँ,’ उनले भने, ‘अलि–अलि आफूलाई जोगियो भने पनि खनखाँचोमा काम लाग्छ ।’


तामाङसँगै ६० जना कैदीबन्दी यतिबेला दिनरात मुडा बुन्न व्यस्त छन् । धेरैले भित्र आएपछि मात्रै हस्तकलाको यो सीप सिकेका हुन् । अरू बेला सीमित काम गरेर आराम गर्न रुचाउने कैदीबन्दी पनि यतिबेला दसैं खर्चकै जोहोका लागि मुडा बुन्न व्यस्त छन् । दिनभर काममा व्यस्त रहनेहरू बेलुकी राम्ररी निदाउने र झैझगडा पनि नहुने अवस्था रहेको कारागार प्रशासनले जनाएको छ । कैदीबन्दीले तयार पार्ने मुडा बजारमा मन पराइन्छन् । केही वर्षअघिसम्म तनहुँ कारागारका मुडा कास्की, गोरखा र लमजुङसम्मका बजारमा पुर्‍याइन्थ्यो ।


आकारअनुसार दुई सयदेखि सात सय रुपैयाँसम्म प्रतिगोटा बिक्री हुने मुडा यतिबेला तनहुँकै बजारमा खपत हुन्छन् । अन्य जिल्लाका कारागारहरूमा पनि हस्तकलाको उद्यम सुरु भएपछि स्थानीय बजारमात्रै सम्बद्ध जिल्ला कारगारको भागमा परेको छ । यति भइकन पनि मुडाको माग भने घटेको छैन । तयारी मुडा खरिद गर्ने व्यापारीले तयार पार्दा चाहिने कच्चा पदार्थ जुटाउन सघाएका छन् । हस्तकला उद्यमीहरूले घरैमा तयार पारेका मुडाको तुलनामा कैदीबन्दीले बुनेका बलियो हुने व्यापारीको भनाइ छ ।


गत वर्ष दसैंको समयमा १ हजार ५ सय वटा मुडा बिक्री गरेर कैदीबन्दीले ४ लाख ५० हजार रुपैयाँ आम्दानी लिएका थिए । यसपटक पनि उत्तिकै परिमाणमा मुडा तयार पार्ने लक्ष्य उनीहरूको छ ।


थोरै खर्च आफूलाई खर्च राखेर कैदीबन्दी कम्तीमा दुईदेखि नौ हजार रुपैयाँसम्म घरमा पठाउने तयारीमा जुटेका छन् । कारागार भित्रै पनि कैदीबन्दीले दसैं राम्रैसँग मान्ने गरेका छन् । सरकारले दसैं खर्चस्वरूप प्रतिव्यक्ति तीन सय रुपैयाँ दिने गरेको छ ।


कारागारभित्रको कैदीबन्दी कोष र सरकारले दिँदै आएको रकम संकलन गरेर दसैं मनाउने तयारी भइरहेको कारागार प्रशासनले जनाएको छ । एउटा नवरात्रिमा एउटा राँगा र टीकाको दिन खसी काट्ने योजना छ । दसैंमा कैदीबन्दीलाई टीका तथा आशीर्वाद दिन परिवार तथा आफन्त कारागारमा भेट्न आउने गरेका छन् । तनहुँ कारागारमा १ सय १३ जना कैदीबन्दी छन् ।

प्रकाशित : आश्विन २६, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?