१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भत्ताले घटायो ‘होम डेलिभरी’

स्वास्थ्यचौकीमा सुत्केरी गराउनेले नगरपालिकाबाट ३ हजार, नेपाल सरकारबाट १५ सय र बाटो खर्च २ हजार पाउने
प्रकाश बराल

बागलुङ — गलकोट नगरपालिका ३ की सरिता परियारले नियमित गर्भ परीक्षण गर्दै स्वास्थ्यचौकीमा पुगेर सुत्केरी हुँदा नगरपालिकाले ३ हजार रुपैयाँ बाटो खर्च दियो  ।

भत्ताले घटायो ‘होम डेलिभरी’

नेपाल सरकारबाट पाउने १५ सय प्रोत्साहन भत्ता, नियमित स्वास्थ्य परीक्षण गर्दा पाउने बाटो खर्चसमेत गर्दा ६ हजार ५ सय रुपैयाँ पाएर सुत्केरी खर्चलाई सहयोग पुग्यो ।


स्थानीय तहले थपेका सेवाले घरैमा सुत्केरी हुनेको संख्या घटेको हटिया स्वास्थ्यचौकीका सिनियर अहेब दिलु सुवेदीले बताए । नगरपालिकाले घरमा सुत्केरी गर्नेको संख्या शून्यमा झार्न सेवा थपेको नगर प्रमुख भरत शर्मा गैरेले बताए । नगरपालिकाले प्रोत्साहन दिन्छ भनेपछि पौष्टिक आहार खाने, तत्काल स्वास्थ्य संस्थामा जानेको संख्या बढेको छ ।


जटिल शल्यक्रिया गर्नुपर्दा सदरमुकामसम्म पुग्न नगरपालिकाले नै ट्याक्सी खर्च पनि दिने व्यवस्था गरेपछि आर्थिक रूपमा विपन्नलाई राहत मिलेको छ । चालु आर्थिक वर्षका लागि परियार जस्ता १ सय ५० लाई रिफर गर्नुपर्ने अनुमान गरिएको गैरेले बताए । रिफरल कोषका लागि ४ लाख ५० हजार र प्रोत्साहन भत्ताका लागि ५ लाख कोष स्थापना भइसकेको छ ।


नगरपालिका भित्र ५ वटा बर्थिङ सेन्टर पनि छन् । ती सेन्टरमा पुगेर गर्भ परीक्षण गरेको र सुत्केरी भएका महिलालाई यो सेवा दिइन्छ । ग्रामीण क्षेत्रमा बस्ने महिलाले समयमै स्वास्थ्य परीक्षण गराउने वातावरण बनाउन यो व्यवस्था गरिएको हो । ‘दलित र विपन्न बस्तीका महिलाले कमाइ नभएर स्वास्थ्य संस्था जानबाट वञ्चित हुन नपरोस् भनेर यो अभियान ल्यायौं,’ नगर प्रमुख गैरेले भने, ‘सेवा सुविधा छ भनेपछि परीक्षणका लागि चासो पनि बढेको छ ।’ यो प्रावधानले आमाहरूको स्वास्थ्य सेवामा पहुँच बढ्न थालेको उनले बताए ।


दलित बस्तीमा नियमित गर्भ परीक्षण गर्ने चलन अझै चल्न नसक्दा धेरै जनाको स्वास्थ्य अवस्था कमजोर थियो । ‘सेवाले धेरैलाई आकर्षित गरेको छ । नियमित परीक्षण गर्न आउने पनि बढेका छन्,’ हटिया स्वास्थ्यचौकीका सिनियर अहेब दिलु सुवेदीले भने, ‘स्वास्थ्य सेवामा राज्यको लगानी बढेकाले धेरैलाई राहत मिलेको छ ।’ हटिया स्वास्थ्यचौकीमा मात्र बर्सेनि ४ सय जनाभन्दा बढीले प्रसूति सेवा लिने गरेका छन् ।


भौगोलिक कठिनाइले कतिपयले समयमा उपचार गर्न नल्याउने र गर्भ परीक्षण पनि नगर्ने प्रवृत्तिले आमा र शिशुको ज्यान बचाउन कठिन भएका धेरै घटना सार्वजनिक भएका थिए । ‘नियमित परीक्षण गर्दा समयमै समस्याबारे थाहा हुन्छ र उपचार पनि सम्भव हुन्छ,’ वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले भने, ‘नगरपालिकाले थालेको अभियानबाट आमाहरूको स्वास्थ्यमा सुरक्षा बढ्ने भयो ।’


नगरपालिकाले हटिया स्वास्थ्यचौकीमै प्राथमिक तहको ट्रमा उपचार कक्ष सञ्चालनका लागि तयारी गरेको छ । ट्रमा उपचारका लागि चाहिने उपकरण र एकजना दक्ष जनशक्ति राखेर पहिलो चरणको सेवा दिने व्यवस्था सुरु गर्ने उपप्रमुख रेणु काउचाले बताइन् । ‘राजमार्गको क्षेत्र भएकाले दुर्घटना बढी हुने र टाउकोको समस्या पर्नेलाई तत्काल उपचार गर्न यो व्यवस्था गरिएको हो,’ उनले भनिन्, ‘प्राथमिक उपचारपछि अन्यत्र लैजान सकेमा त्यस्ता बिरामीलाई बचाउन सकिन्छ ।’ नगरपालिकाले पहिलो चरणका लागि २ लाख ५० हजार रुपैयाँ बजेटबाट काम थालेको हो ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?