मूर्तिकला नशाजस्तै

बिना थापा

कास्की — याङ्जाकोटमा छँदा स्कुले बेलामा बाबुराम बस्ताकोटी चराका चित्र कोर्थे । बिस्तारै बिस्तारै उनलाई चित्र बनाउनेसँगै मूर्ति बनाउन रुचि लाग्न थाल्यो । अहिले उनको सोख नै जीवन धान्ने पेसा बनेको छ ।

मूर्तिकला नशाजस्तै

पोखराको नालामुखमा उनको मूर्तिकेन्द्र छ । थरीथरीका मूर्तिबीच उनी ढुंगा, माटो, ढलोट र सिमेन्टमा आकार प्रकार कुँदिरहेका भेटिन्छन् । ‘सुरु सुरुमा यस्तो सोखले बाँच्न सकिएला र जस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘मूर्ति बिक्री हुन थालेपछि हिम्मत बढ्यो ।’ आफ्नो सोखलाई नै पेसा बनाउन पाउनेहरू निकै थोरै भेटिने उनी बताउँछन् ।


उनको पारिवारिक पृष्ठभूमि राजनीति र व्यापार थियो । ‘आफूलाई रहर लागेको कामले दाम पनि दिएपछि आनन्दले काम गर्न सकिने रहेछ,’ उनले भने, ‘जे बनाउने हो इमान्दारीपूर्वक काम थाले बनाउन सकिन्छ ।’


देवदेवी, व्यक्ति, वन्यजन्तु र चरा, उनी सबै प्रकारका मूर्ति बनाउँछन् । ‘हिजोआज मैले बनाउने धेरै मूर्ति अर्डरकै हुन्छन्,’ उनले भने, ‘कसलाई के चाहिएको हो, त्यही बनाएर दिने गर्दैछु ।’ आफूले बनाएका मूर्तिबाट वार्षिक १० लाख हाराहारीको कारोबार हुने उनले बताए ।


उनले बनाएका मूर्ति छिमेकी जिल्लाहरू स्याङ्जा, तनहुँ, बागलुङ र म्याग्दी पनि पुगेका छन् । जिल्ला जिल्लाबाट उनलाई खोज्दै चाहेजस्तो मूर्ति बनाएर लैजानेहरू पनि आइरहन्छन् । उनले तयार पारेका मूर्ति विदेश पनि पुगेका छन् । ‘पोखरामा धेरै बिक्री हुने मूर्ति नागको हो,’ उनले भने, ‘मसँग ५ सयदेखि ४० हजारसम्म पर्ने मूर्ति हुन्छन् ।’ ३६ वर्षदेखि मूर्तिकलाको काम गर्दै आएको बताउने उनी परिवारको साथ भएकाले रुचिको काम गर्न सजिलो भएको सुनाउँछन् ।


‘जुनसुकै कलाको काम गर्न पहिले रुचिबाट सुरु हुन्छ, रुचि एक प्रकारको नशा जस्तो हुनुपर्छ । त्यसपछि काममा निखार ल्याउन गुरु चाहिन्छ,’ उनले भने, ‘मैले विश्वेश्वरप्रसाद पराजुलीसँग छोटो अवधिको तालिम पनि लिएँ ।’ उनी आफू मूर्ति बनाउने मात्रै गर्दैनन्, एउटा निजी विद्यालयमा शिक्षक भएर सिकाउने काम पनि गर्छन् ।


‘अहिलेको वातावरण राम्रो छ,’ उनी भन्छन्, ‘सिक्न चाहनेका लागि खोजी गर्दा सिकाउने गुरु भेटिन्छन् । मैले स्कुलमा पढाउन थालेको पनि १९ वर्ष भयो ।’ कलाको क्षेत्रमा काम गर्नेका लागि पोखरा उपयुक्त थलो भएको उनको अनुभव छ ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?