कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अनुदान लिन चासै दिँदैनन् भूकम्पपीडित

०७५ असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने निजी लाभग्राहीले ०७५ पुस मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने
प्रतीक्षा काफ्ले

स्याङ्जा — लाभग्राहीको सूचीमा नाम समावेश भएर घर निर्माण गरेका भूकम्पपीडितमध्ये दोस्रो किस्ता लैजानेको संख्या न्यून छ  । घर बनाएर दोस्रो किस्ता धमाधम लैजानुपर्नेमा पीडितले त्यति चासो नदिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ  ।

अनुदान लिन चासै दिँदैनन् भूकम्पपीडित


एकाइ कार्यालयका अनुसार आवास पुनर्निर्माणका लागि भदौ मसान्तसम्म १ हजार ९ सय ६७ जनाले दोस्रो किस्ताबापत रकम बुझे । पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लगेर घर निर्माण थालनी गरेका पीडितले दोस्रो किस्ता रकमबापत १ लाख ५० हजार रुपैयाँ बुझेका हुन् । न्यून अवस्था भएका परिवारले घर निर्माण थालेपछि दोस्रो किस्ता लैजान सुरु गरेको एकाइ कार्यालयका प्रमुख प्रवीण ढकालले जानकारी दिए ।
तीन लाख रुपैयाँ लिनयोग्य भूकम्पपीडितमध्ये जिल्लामा ५ सय २७ जनाले हालसम्म पनि पहिलो किस्ता लगेका छैनन् । पहिलो किस्ता लैजान भूकम्पपीडितले नै त्यति चासो नदिएको ढकाल बताउँछन । ‘लाभग्राहीको सूचीमा नाम समावेश भएर वैदेशिक रोजगारीका लागि जानेको संख्या थुप्रै छ,’ उनले भने, ‘कतिपय लाभग्राहीको मृत्यु भएको छ । कतिलाई जानकारी नै छैन भने पुरानो घरमा बसोबास गर्दै आएकाहरू नयाँ घर बनाउनतर्फ आकर्षित छैनन् ।’

दोस्रो किस्ता लगेर पनि कतिले घर सुरु गरे वा बनाए भने यकिन नभएको एकाइले जनाएको छ । ढकाल भन्छन्, ‘तेस्रो किस्ता लैजाँदा मात्र यकिन जानकारी हुन्छ । कतिले घर बनाए भनेर ।’ पहिलो किस्ता ८ हजार २ सय ३९ जनाले लगेका छन् । सरकारले भूकम्पबाट पूर्ण क्षति भएका घर अनिवार्य रूपमा भत्काउनुपर्ने, यदि नभत्काएसम्म किस्ता रकम नदिने घोषणा गरेसँगै ३ लाख रुपैयाँले घर निर्माण नहुने हुँदा भइरहेकै पुरानो घरमा बस्ने भन्दै पीडितले नयाँ घर निर्माण नगरेको कार्यालयले बतायो । स्याङ्जामा ८ हजार ७ सय ६६ पीडित ३ लाख रुपैयाँ पाउनयोग्य छन् । प्रबलीकरणको सूचीमा ५ सय ६७ जना रहेको प्राधिकरणले जनाएको छ । लाभग्राही सूचीमा नपरेको भन्दै ४ हजार ९ सय ३९ जनाले गुनासो फारम भरेका छन् । संकलित गुनासो फारम केन्द्रमा सिफारिस गरिएको प्राधिकरणले जनाएको छ । प्रवलीकरणमा परेकामध्ये ३ सय ९८ जनाले प्रथम किस्ता लगेका छन् । कम क्षति भएका घर मर्मतका लागि पीडितले १ लाख रुपैयाँ अनुदान पाउनेछन् ।
प्रबलीकरणमा परेका लाभग्राहीका घर मर्मतको क्रममा भत्किएर क्षति भएमा उनीहरूले पनि पूर्ण लाभग्राहीसरह नै ३ लाख रुपैयाँ अनुदान पाउने प्रावधान छ । पहिलो किस्ता ५० हजार रुपैयाँ बुझेपछि लाभग्राहीले घर बनाउन थाल्ने, ढोका र झ्याल राखेपछि दोस्रो किस्ताबापतको १ लाख ५० हजार पाउने र अन्त्यमा छानो छाएपछि अन्तिम किस्ता १ लाख रुपैयाँ पाउने प्रावधान रहेको छ ।

किस्ता लिन समय तोकियो
भूकम्पपीडित लाभग्राहीले घर निर्माण गर्न पाउने अनुदानको रकम बुझ्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, निर्देशक समितिको भदौ २१ मा बसेको बैठकले समयावधि तोकेको छ । जिल्ला एकाइ कार्यालयका अनुसार पहिलो किस्ता प्राप्त गरिसकेका लाभग्राहीका लािग ०७५ असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने निजी लाभग्राहीले ०७५ पुस मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्नेछ । यसैगरी दोस्रो किस्ता लिइसकेकाले ०७६ वैशाख मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।
यसरी नै पहिलो किस्तासमेत प्राप्त गर्न बाँकी लाभग्राहीको हकमा पहिचान भएका सवै लाभग्राहीसँग अनुदान सम्झौता सम्पन्न गरी प्रथम किस्ता आगामी कात्तिक मसान्तसम्म प्राप्त गर्नुपर्ने छ । कात्तिकमा पहिलो किस्ता लैजानेले माघ मसान्तसम्म दोस्रो र आगामी जेठ मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।

प्रकाशित : आश्विन २८, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?