कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पदमार्ग खोज्दै विशिष्ट

भँवरकोट–घोडेपानी पदमार्गको सम्भाव्यता अध्ययन र स्थलगत अवलोकन
दिप्ती सिलवाल

पर्वत — शुक्रबार दिउँसो करिब साढे २ बजे मोदी गाउँपालिका–२ देउपुरको मैदानमा पहिलोपल्ट हेलिकोप्टर अवतरण गर्‍यो  । त्यसबाट ओर्लिए राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र संघीय सरकारका पर्यटनमन्त्री रवीन्द्र अधिकारी  ।

पदमार्ग खोज्दै विशिष्ट


मुख्य कार्यक्रम गाउँदेखि करिब ३ घन्टाको पैदल यात्रापछि पुगिने भँवरकोटमा थियो । आयोजकले सोचेका थिए, अतिथिहरू हेलिकोप्टरमै भँवरकोट पुग्छन् । तर, उनीहरूलाई ल्याएको हेलिकोप्टर केही मिनेटमै फर्कियो । गाउँदेखि जंगलैजंगलको पैदलमार्गमा हिंडेरै भँवरकोट पुग्ने इच्छा दुवै विशिष्टले व्यक्त गरेपछि आयोजकले अरू विकल्प पनि खोजेनन् । ‘हामीले घोडाको व्यवस्था गर्ने सोच बनाएका थियौं,’ आयोजक राजेन्द्र खड्काले भने, ‘उहाँहरूले हिंडेरै जान्छौं भनेपछि विकल्प खोज्नतिर लागिएन । हाम्रो मनसाय पनि उहाँहरू हिंडेरै गइदिए हुन्थ्यो भन्ने थियो ।’

देउपुरका अगुवा एवं इन्जिनियर मनबहादुर खडकाको अगुवाइमा निर्माणाधिन भंवरकोट–घोडेपानी पदमार्गको सम्भाव्यता अध्ययन र स्थलगत अवलोकनका लागि तिमिल्सिना र अधिकारी यहाँ आएका हुन् । मैदान हुँदै पुरानो चल्तीको बाटो करिब साढे ३ बजेतिर उकालो लागेका तिमिल्सिना र अधिकारी करिब साढे ३ घन्टाको हिंडाइपछि भंवरकोट पुगे । रातको करिब ७ बजे पुगेका उनीहरूले त्यहाँको सौन्दर्य भने बिहान मात्रै नियाल्ने अवसर पाए । मोदीको वडा नम्बर १, २ र ३ को बीचमा पर्ने भंवरकोटको चर्चा बाहिर खासै नभए पनि देउपुरवासीका लागि भने प्रकृतिको उपहार नै हो । चारैतिर हिमालले घेरेको जस्तै लाग्ने विशाल खर्कबाट गण्डकी प्रदेशको राजधानी पोखरा, बाग्लुङ, म्याग्दी र पर्वतका अधिकांश भू–भाग भर्‍याङले जोड्नेगरि मुन्तिर देख्दा पर्यटनमन्त्री अधिकारी औधी लोभिए ।

‘उहाँ (गणेश तिमिल्सिना) यहीं जन्मेहुर्केको मान्छे,’ अधिकारीले भने, ‘म कास्कीकै भए पनि नजिकै यस्तो रमणिय ठाउँ छ जस्तो लागेकै थिएन । साह्रै उत्तम रहेछ ।’ अधिकारीले मुलुकभर धुले सडकका कारण पदमार्गको अस्तित्व हराउन लागेका बेला यो पदमार्ग उत्कृष्ठ बन्न सक्ने बताए । त्यसबाहेक अन्तराष्ट्रिय विमानस्थल बनेपछि विस्थापित हुने भनिएको प्याराग्लाइडिङ उडान गर्न यहाँबाट उत्तम हुने बताए । ‘पोखराबाट एक घन्टा दूरी लामो पनि होइन,’ उनले भने, ‘पोखरा नजिकै प्याराग्लाइडिङ स्पट भएन भन्ने व्यवसायीको चिन्ता अब मेटिन्छ ।’ मन्त्री अधिकारीले आफू फर्किएलगत्तै पर्यटन मन्त्रालयमा सम्बन्धित विज्ञ र प्राविधिक बोलाएर यसबारे विस्तृत अध्ययन गर्न लगाउने बताए । तिमिल्सिनाले यहाँको पर्यापर्यटनमा लगानी गर्न सम्बन्धित निकायमा घच्घच्याउने बताए । मन्त्री अधिकारीप्रति लक्षित गर्दै उनले भने, ‘पर्यटनको क्षेत्रमा काम गर्ने मुख्य व्यक्ति नै यहाँ आइसकेपछि मैले थप कुरा गर्न जरुरी छैन । अब यहाँ के–के गर्नुपर्छ उहाँले गरिहाल्नुहुन्छ ।’

देउपुरमै जन्मिएर अमेरिकामा लामो समय दूरसञ्चार इन्जिनियरको काम गरेका मनबहादुर खडाको अगुवाइमा देउपुर–भंवरकोट–घोडेपानी पदमार्ग निर्माण गर्न लागिएको हो । ३ वर्षअघि गठित पर्वत भँवरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले विदेशीलाई पदमार्गको अवधारणा अघि सारेको हो । मोदीको तिलाहारबाट सुरु हुने पदमार्ग घोडेपानी पुग्न २१ किलोमिटर भएको खड्काले बताए । ‘तीन किलोमिटर अघिल्लो वर्ष निर्माण भइसकेको छ,’ उनले भने, ‘बाँकी आगामी वर्ष पुरा गर्ने लक्ष्य हो ।

बजेट भए कठीन छैन ।’ अघिल्लो वर्ष पर्यटन बोर्डबाट २० लाख रुपैयाँ बिनियोजन भएकोमा चालु वर्ष प्रदेश पर्यटन मन्त्रालयबाट ३५ लाख रुपैयाँ छुट्टिएको उनले बताए । अमेरिकामा मासिक १० लाखको नोकरी छोडेर गाउँमै फर्किएका खडाले यो रुटमा व्यवस्थीत रिसोर्ट, लज, लेकाली खर्कमा भैंसीपालन लगायतको योजना बनाएको सुनाए । त्यसका लागि उनिसहित केहि युवाहरूले २ सय रोपनी जग्गा खरिद गरिसकेका छन् । पदमार्ग निर्माण सकेपछि रिसोर्ट लगायतका पुर्वाधार निर्माण शुरु गर्ने खडाले बताए । यो पदमार्ग म्याग्दीको घोडेपानी हुँदै अन्नपुर्ण बेसक्याम्प पुग्ने पदमार्गसंग जोड्न पर्यटन मन्त्रीसंग आग्रह गरिएको समितिका सचिव राजेन्द्र खडाले बताए । ‘अहिले लेस्पार, मोहरेडाँडा हुंदै घोडेपानी पुग्न ३ दिन लाग्छ,’ उनले भने, ‘यो बाटो जोड्न सके २ दिनमै पुगन्छ ।’

प्रकाशित : आश्विन २८, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?