दसैंमा बालीघरकै भर

दीपक परियार

कास्की — पोखरा महानगर र रूपा गाउँपालिकाको साँध ढोडबेंसीबाट अलि पर आइपुग्छ देउराली फेदी । फेदीबाट ६ किलोमिटर कच्ची बाटो उकालो लागे देउराली बजार पुगिन्छ । देउराली बजार जत्तिकै उमेर खाएका एक वृद्ध फेन्सी पसल बाहिर टुक्रुक्क बसेका छन् ।

दसैंमा बालीघरकै भर

आधा भाँचिएको कुर्सीमा अडेस लाउन मिल्दैन । कुक्रुक्क परेर घोप्टो पर्छन् । चस्माको डाँडी तलमाथि गर्छन् । मसिनो सियोमा धागो उन्छन् । उमेरले ७५ काटेका कृष्णबहादुर दर्जी अझैं कपडा सिउँछन् । कपडाभन्दा धेरै तानाबाना सिउँछन् ।

दसैंले छपक्कै छोपिसक्दा उनको मनलाई अर्कै चिन्ताले छोपेको छ । बाह्र घरबाट बाली उठाएर दसैं कसरी मान्ने ? घरभरि आउने पाहुनापाछा केले उम्काउने ? बूढाबूढीका एकसरो नयाँ टालो कहिले फेर्ने ? बालीघरबाट उठ्ने तीन मुरी धान र १२ माना चामलले पोहोरपरारको दसैं नउम्केको उनले बिर्सेका छैनन् ।

देउराली नजिकै मज्र्याङकोट गाउँमा उनी श्रीमती पार्वतीसँग बस्छन् । पार्वतीले घरको धन्दा गर्छिन् । भैंसी, बाख्राको स्याहार गर्छिन् । कृष्णबहादुर एकाबिहानै आधा घन्टाको उकालोओरालो गरेर देउराली बजार आइपुग्छन् । अर्कैको फेन्सी पसलभित्र राखेको पुरानो मेसिन पेटीमा निकाल्छन् । बाँकी भएका कपडा सिउँछन् । उनले कपडा सिलाइदिएबापत बाली उठाउने १२ घर छन् । ती घरले दसैंको मौकामा पाँच पाथी धान र एक माना चामल दिन्छन् । वर्षभरि लुगा सिउँदा पाउने ज्याला उनलाई पटक्कै चित्त बुझेको छैन । ‘पहिला १० पाथी धान दिन्थें,’ उनी भन्छन्, ‘अहिले महँगी बढ्यो, झन् ज्याला घट्यो ।’ उनलाई धान, चामलको सट्टा पैसा नै दिएको स्वाद लाग्छ । वर्षौं अघिदेखिका बालीघरले पैसा दिँदैनन् । ‘पहिला आफैंले बालीघरे लगाइयो, अहिले पैसा लिन्छु भन्दा पनि दिँदैनन्,’ उनले दु:खेसो पोखे । वर्षभरि कपडा सिएको ज्याला पाँच पाथी धान र एक माना चामलभन्दा धेरै हुने उनलाई थाहा छ । पहिलेदेखि चलिआएको चलन भनेर केही बोल्न सक्दैनन् ।

बालीघरबाहेकका पनि दौरा, आस्कोट, चोलो, भोटो सिउँन उनकोमा आउँछन् । उनीहरूसँग भने पैसा नै लिन्छन् । दिनमा कहिले तीन सय, कहिले पाँच सय कमाउँछन् । दिनभरिको ज्याला नुन तेलमा ठिक्क हुन्छ । बिरामी हुँदा औषधिमुलो त्यसैले गर्छन् । घरमा बूढाबूढी भए पनि पाहुना आइरहन्छन् । एउटा छोराले दुई श्रीमती विवाह गरेपछि दुवै बुहारी घरमा छैनन् । छोरा कतार गएका छन् । बाबुआमालाई एकसुको पठाउँदैनन् । दुई छोरीको विवाह भइसक्यो । छोरी, ज्वाइँ, नातिनातिना, भाइ, भतिज आउँदाजाँदा वर्षैभरि पाहुना हुन्छन् । बालीघरबाट उठाएको अन्नपातले चाडबाड मान्नै धौ हुन्छ ।

रूपा गाउँपालिकाको देउरालीमा बजार बसेको पहिल्यै हो । पृथ्वी राजमार्ग नखुल्दै पोखरा र काठमाडौं पैदलमार्ग ओहोरदोहोर यही बजार हुँदै गर्नुपथ्र्यो । विसं २०११ मा तत्कालीन महिन्द्र दल बटालियनले पोखरादेखि देउरालीको ढुंगागाडेसम्म मोटरबाटोको ट्रयाक खोल्यो । सयौं सेनाले धम्मरधुस लगाएर खनेको बाटो हेर्न राजा महेन्द्र पोखरा आए । विसं २०१२ मा उनी जिप लिएर दलबलसहित देउराली पुगे । भर्खर १० वर्ष पुगेका कृष्णबहादुरलाई त्यतिखेरको दृश्य अलिअलि मात्रै सम्झना छ । पश्चिमदेखिबाट आएका पैदलयात्री यही बाटो लाइन लागेर काठमाडौं जाने गरेको उनी सम्झन्छन् । सरोजगोपाल बज्राचार्यको चर्चित गीत ‘देउराली उकाली चढेर...’ मा भनिएको देउराली त्यही बजार हो ।

समृद्धिको सूचकमा कास्की अघिल्लो नम्बरमा छ । महानगरकै नजिक बालीघरे प्रथा अझैं कायम छ । बिहीबार बजार अनुगमनमा पुगेका गाउँपालिका अध्यक्ष नवराज ओझा कृष्णबहादुरको गुनासो सुनेर चकित परे । ‘अझैं पनि बालीघरे प्रथा कायमै छ भनेको सुन्दा अचम्म लाग्यो,’ उनले भने, ‘यसको समाधान छिट्टै हुन्छ ।’ कृष्णबहादुरकै अगाडि उनले वडा नम्बर ५ का कार्यबाहक अध्यक्ष राजन खनाललाई एक हप्ताभित्र समाधान गर्न निर्देशन दिए ।

कृष्णबहादुरले १२–१३ वर्षकै उमेरमा सिलाइ काम सिकेका हुन् । सिउने काम छोडेर उनी भारत पसे । पुलिसमा भर्ती भए । नौ वर्ष भारतीय प्रहरीमा जागिर खाए । त्यसपछि भने आफ्नै गाउँघर सम्झेर फर्के । फेरि सिलाउन सुरु गरे । बालीघरमा सिलाउन लागेको झन्डै ४० वर्ष नाघ्यो । अझै विश्राम लिने उनको छाँटकाँट छैन । मेसिनमा एकनासले कपडा खुट्टै उनले भन्े, ‘सकिन्जेल गर्ने हो, मरेपछि जता गइन्छ, गइन्छ ।’

प्रकाशित : आश्विन २८, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?