कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

दसैं मनाउन गाउँ

प्रतिक्षा काफ्ले

स्याङजा — विजयादशमी नजिकिएपछि गाउँ फर्कनेहरुको भीड बढ्दै गएको छ । गाउँकै घरमा दसैं मनाउनुपर्छ भन्ने पुरानो मान्यता अझै पनि कायम छ ।

दसैं मनाउन गाउँ

रोजगारी र अध्ययनको लागि गाउँबाट बजार झर्नेहरु वैदेशिक रोजगारीमा गएकाहरु दसैं मनाउन घर फर्किन थालेका हुन् ।

दसैं मनाउनकै लागि घर आएको भीरकोट नगरपालिकाका सन्तोष क्षत्रीले बताए । काठमाडौंमा रहेर रोजगारी गर्दै आएका उनी गत मंसिरको संविधानसभाको निर्वाचनमा घर आएका थिए । ‘घर आउने भनेको दसैं र तिहारमा मात्र हो’उनी भन्छन,‘गतसाल संविधान सभाको निर्वाचनमा भोट हाल्नकै लागि घर आएका थियौँ । त्यसपछि बल्ल आयौँ ।’ दसैंको टीका लगाउने उद्देश्यले परिवारसहित उनी शुक्रबार घर आइपुगेका हुन् ।


यसरी नै दसैं मनाउनकै लागि बजार झरेका पनि गाउँ जान थालेका छन् । छोराछोरी पढाउने बाहानामा पुतलीबजार नगरपालिका-१ बस्दै आएकी अम्बिका गिरी पनि आइतबार गाउँ लागिन्। ‘दसैंमा टीका छ’उनी भन्छिन्,‘कहिलेकाही दसैं जूठो,सुत्केरो परेर रोकिन्छ ।


अहिले भने टीका भएकै कारण छिट्टै घरमा जान लागेका हौँ ।’ छोराछोरीको विद्यालय बिदा भएपछि गाउँतर्फ लागेको उनले सुनाइन् । अध्ययनरत बालबलिकाको लागि दसैंतिहार बिदा भएपछि गाउँ जानेको संख्या ह्वात्तै बढेको गिरीले बताइन् ।


पढाइसँगै रोजगारी गर्न जापान पुगेका पुतलीबजार निवासी विज्ञान खत्री पनि चार वर्षपछि दसैं मनाउन घर फर्किएको बताउँछन् । ‘गएपछि आउने भन्ने यतिकै हुने रहेछ’उनले भने,‘घर जाने भनेपछि दसैं नै पार्न मन लाग्ने । अरु समयभन्दा चाडपर्वको बेला घरमा छुट्टै रमाइलो हुन्छ । सबैसँग भेटघाट हुने घरपरिवारलाई खल्लो पनि नलाग्ने । त्यसैले दसैं मनाउने उद्देश्यले नै आएको हुँ ।’ दुई महिनाको छुट्टि लिएर आएको बताउने उनले दसैं तिहारसँगै छठ मनाएर मात्र जापान फर्किने बताए ।


अघिपछि घर आउन नपाएकोमा खासै दु:ख नलाग्ने उनलाई चाडपर्वको समयमा भने घरको याद निकै आउने र नरमाइलो लाग्ने गरेको बताए । यो वर्ष भने घर परिवार, साथीसँग बसेर रमाइलो गरी चाडपर्व मनाउने योजना रहेको उनले सुनाए ।


पुतलीबजारकै गणेश सुनार पनि ६ वर्षको अन्तरालमा दसैं मनाउनकै लागि घर फर्किएका छन् ।‘विदेश भन्ने कुरा रहर भन्दापनि बाध्यता हो’उनले भने,‘आर्थिक अभावले गर्दा के परिवार,के चाडपर्व । कसरी पैसा कमाउने भन्ने ध्यान हुन्छ ।’ दिनरात काममा व्यस्त भएपछि घर आउने समय पनि नपुग्ने उनले बताए ।


उनको पनि यस वर्षको दसैं तिहार परिवार र साथीभाइकै साथ रमाइलो गरी मनाउने योजना छ । विदेश भएका र रोजगारीको सिलसिलामा जिल्ला बाहिर भएकाहरु गाँउ फर्किने क्रम बढ्दै गएपछि दसैंको छुट्टै रौनक बढेको पुतलीबजार नगरपालिका-४ का कमल सुनारले बताए । नेपाल प्रहरीमा कार्यरत उनी जागिरको शिलशिलामा काठमाडौं थिए । बेला-बेलामा बिदा नपाउने भएपछि यस वर्ष बिदा बचत गरी दसैंमा घर आएको उनले बताए ।


आफ्नै गाँउका दाजुभाई वर्षको एक पटक भएपनि चाडपर्व मान्न कै लागि गाउँ आउँदा निकै रमाइलो मान्नुपर्ने स्थानीय मनबहादुर क्षेत्री बताउँछन् ।


‘अघिपछि भने युवाहरुको अभावमा गाँउ नै शून्य हुने गर्दछ’उनले भने,‘पारिवारिक बाध्यताले विदेशिएका र रोजगारीको लागि अन्यत्र गएकाहरु लामो समय पछि घर फर्किएकाले गाँउ नै भरीपूर्ण जस्तो लागेको छ । त्यसमाथि पनि सबै युवाहरु जुटेर गाँउ सरसफाई गर्ने,भत्किएका बाटा मर्मत गर्ने र अन्य सामाजिक कामहरुमा जुटेका छन् । जसले गर्दा गाउँमा चाडपर्वको रौनक छाइसकेको महशुस भएको छ ।’

प्रकाशित : आश्विन २८, २०७५ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?