शाहबंशीय पहिलो राजाको सालिक

विसं १५५० असार १५ मा लमजुङ दरबारको राजासनमा बिराजमान गराइएका यशोब्रम्ह शाहको प्रतीकात्मक सालिक निर्माण
कान्तिपुर संवाददाता

लमजुङ — राजा यशोब्रम्ह शाह यस्तै थिए भन्ने लख कसैले काट्न सक्दैनन् । उनको तस्बिर इतिहासमा कहींकतै भेटिँदैन । विसं १५५० असार १५ मा लमजुङ दरबारको राजासनमा बिराजमान गराइएका यशोब्रम्ह शाहको प्रतीकात्मक सालिक निर्माण गरिएको छ ।

शाहबंशीय पहिलो राजाको सालिक

नेपाली सेनाको उदिपुरस्थित श्रीजंग गणले लमजुङ दरबार, कालिका मन्दिर परिसरमा निर्माण गरेको नेपालकै पहिलो शाहबंशीय राजा यशोब्रम्ह शालिकको आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापाले अनावरण गरे । उनले लमजुङ कालिका मन्दिरमा पूजा गरेका थिए ।


राजतन्त्रका समय राजा र गणतन्त्रमा राष्ट्रपतिबाहेक कालिका मन्दिरभित्र प्रवेश गर्न नपाइने लमजुङ कालिका मन्दिरका मूल पुरोहित माधवप्रसाद बरालले बताए । उनका अनुसार राजतन्त्र हटेपछिको १२ बर्षको अवधिमा नेपाली सेनाका उच्च पदस्त व्यक्तिले पहिलोपटक आइतबार लमजुङ कालिका मन्दिरमा पूजा गरेका थिए । लमजुङ कालिका शाह बंशीय राज खानदानको कूल देवताको रुपमा लिइन्छ ।


लमजुङको बेंसीसहर नगरपालिका २, नरुवल पाखाथोक पुख्र्यौली घर भएका प्रधान सेनापति थापाले कालिका भगवती मन्दिर र लमजुङ दरबारको ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय महत्वलाई प्रवद्र्धन गर्न शालिक निर्माण गरेको बताए । उनले नयाँ निशान अर्पण, लमजुङ कालिकाको पुरानो निशानको पर्दा फेर्ने कार्य, मन्दिर तथा दरबार परिसरमा अर्थिङको व्यवस्था, मन्दिरमा नयाँ मौलोको व्यवस्था गरेका छन् । निशान राख्ने दराजको व्यवस्था र बगैंचा निर्माण गरेको श्रीजंग गणले जनाएको छ । मन्दिर परिसरमा राखिएको यशोब्रम्ह शाहको शालिक भने ओखलढुंगा घर भई सैनिक संग्रहालयमा कार्यरत हवल्दार माधव पौडेलले बनाएका थिए । उनले आफैंले डिजाइन गरी ४ जनाको सहयोगमा शालिक निर्माण गरेको बताए ।


कालिकमा ६५ किलो पित्तल राखिएको छ । यसअघि उनले पृथ्वीनारायण शाहलगायत राजाका शालिक निर्माण गरेको बताए ।

कास्कीबाट १५४० मा राजा बनाउन ल्याइएका कुलमण्डल खाँ (शाह) का माइला छोरा कालु शाहलाई लमजुङका पूर्व शाशकहरुले हत्या गरेका थिए । त्यसपछि कूलमण्डलका कान्छो छोरा यशोब्रम्हलाई १५५० मा ल्याएर लमजुङको राजगद्दीमा विराजमान गराएका थिए ।


लमजुङका दुरा, धिंगल, क्याप्छा र घिमिरे समेतको समूहले सिन्दरे ढुंगामा सिन्दुरजात्रा गरी पुरानकोट ल्याएर उनको राज्याभिषेक गराएको इतिहासमा उल्लेख छ । त्यतिबेला उनको सुरक्षामा आएका सेनापति अकबरसिंह पुँवर थापा र नाहरसिंह थापा लगायतले निशान गाढेर घेराबन्दी कायम गरेका थिए ।

प्रकाशित : आश्विन २८, २०७५ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?