कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशबाट फर्केर केरा खेती

कान्तिपुर संवाददाता

स्याङजा — दुबई, कतार र साउदीलगायतका खाडी मुलुकमा २० वर्ष बिताएर घर फर्किएका चापाकोट नगरपालिका–९ का ४५ वर्षीय रामु बस्याल अहिले केराखेतीमा लागेका छन्  । उनले विगत एक वर्षदेखि केरा खेती गरिरहेका छन्  ।

विदेशबाट फर्केर केरा खेती

माटोको परीक्षणबिना पहिलो चरणमा केरा खेती लगाएर व्यवसाय सुरु गरेका उनले गतवर्षको फागुनमा मैदानी बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी फलफूल, तरकारी जस्ता विभिन्न प्रकारका खेती गरे । ‘कृषि विकास बैंकले सरल कृषि तथा पशुपालन शीर्षकमा १० लाख रुपैयाँ लगानी गरिदिएपछि व्यवसाय थालेको हुँ,’ उनले भने, ‘खेती हुँदैन कि भनेर सुरुमा बैंकको उत्प्रेरणाले कृषिमा लागे । आफ्नो छाडिएको बाँझो खेत सदुपयोग हुन्छ भन्ने लाग्यो । अहिले केराको बुँगा अर्थात घरी लागेको छ ।’ छोटो समयमा फल नदिने भए पनि चापाकोटको फाँट हावापानीले उपयुक्त भएकाले यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।


‘अन्य व्यवसायमा व्यक्ति आफू मात्र फाइदा लिने हो,’ उनले थपे, ‘कृषि खेती राम्रो गर्नसके बेरोजगारलाई रोजगारी दिन सकिन्छ । यसबाट अरूले पनि आम्दानी गर्न सक्छन् । धानखेती गरिने ठाउँ अहिले तरकारीमय बनेको छ ।’ उनले कृषिले समाज रूपान्तरणमा टेवा पुग्ने बताए । खेतीका लागि उनी आफैं फिल्डमा खटिएका हुन्छन् । चार रोपनी क्षेत्रफलमा केराखेती र अन्य स्थानमा तरकारी खेती गरिएको उनी बताउँछन् ।


उनका अनुसार स्याङ्जाको करेनडाँडाबाट चार सय केराको बिरुवा ल्याइएको थियो । केराको सिजन फागुन महिना हो । फागुनमा लगाइएको केराले डेढ वर्षमा फल दिन सुरु गर्छ । केराबाहेक अन्य तरकारी खेतीबाट खर्च कटाएर हालैमात्र पनि २० हजार रुपैयाँ आम्दानी भएको बस्यालको भनाइ छ । उनका अनुसार काम गर्ने मजदुरको अभाव छ । ‘नियमित काम गर्ने कामदार छैनन्,’ उनले दोहोर्‍याए, ‘म र मेरो परिवार नै काममा सक्रिय बन्छौं । एकैदिन धेरै काम गर्नुपरेमा कामदार खोज्छौं । एक घण्टाको एकसय रुपैयाँ ज्याला दिनुपर्छ ।’


विदेश बसेर गरिने कमाइभन्दा गाउँमै गरिने उत्पादनले राम्रो उत्पादन हुने उनको भनाइ छ । उनका अनुसार नेपालमा गर्न सके अवसर छ भन्ने उदाहरण दिन खोजेका छन् । विदेशको दु:खले नै आफूलाई व्यावसायिक कृषक बनाएको उनी बताउँछन् । कृषि विकास बैंकका प्रमुख विश्वराज मरासिनीले बैंकबाट दिइने कृषि कर्जाले केरा खेती नै उत्कृष्ट रहेको बताए । ‘अन्यत्र गरिएको लगानी त्यति चित्त बुझ्दो छैन,’ उनले भने, ‘परीक्षणका लागि गरिएको खेतीले लगानी उठ्नेमा ढुक्क छु ।’ उनले पानीको प्रशस्त पहुँच भएमा कृषिमा गरिने लगानी सजिलै उठ्ने बताए ।


हावापानी उपयुक्त भए पनि यहाँ पानीको ठूलो समस्या छ । यहाँको फाँट क्षेत्रफलका आधारमा पर्याप्त मानिए पनि पानीको समस्याका कारण राम्रो उत्पादन हुँदैन । सानो मधेस भनेर चिनिने चापाकोट फाँटको तलबाट कालीगण्डकी नदी बग्छ । तर, यहाँको सिँचाइका लागि ज्याग्दीखोलाको नहर प्रयोग गर्नुपर्ने अर्का स्थानीय कृषक शिव पंगेनी बताउँछन् । उनले हाल नहरको व्यवस्था भएपछि खेतीमा नियमित पानी लगाउन सजिलो भएको बताए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?