चाडबाडमा सस्तो पसल

कान्तिपुर संवाददाता

पर्वत — चाडबाडमा उपभोग्य वस्तुको मूल्य आकासिँदै गएको बेला यहाँको एक सहकारीले सहुलियत पसल सञ्चालनमा ल्याएको छ  । कुश्मामा रहेको नमुना व्यावसायिक कृषि सहकारीले उपभोक्तालाई सस्तो मूल्यमा सामान बिक्री गर्ने दाबीसहित सहुलियत पसल सञ्चालनमा ल्याएको हो  ।

चाडबाडमा सस्तो पसल

सहकारीले कुश्माको बगैंचा चोकमा पसल सञ्चालन गरी आफ्नै फर्ममा उत्पादित तरकारी, च्याउ, माछा, अण्डा र कुखुराको मासु बिक्री गरिरहेको छ । सहकारीको कुश्मा ४ र मोदी २ को सीमामा रहेको अम्बोटमा व्यावसायिक कृषि फार्म छ । १५ रोपनी जमिनमा फैलिएको फार्ममा बेमौसमी तरकारी, लेयर्स र ब्रोइलर कुखुरा, विभिन्न जातका माछा उत्पादन हुन्छ । फार्ममा मात्रै सहकारी र सहकारीका सेयर सदस्यको ५७ लाख रुपैयाँ लगानी छ ।


सहकारीका अध्यक्ष यामप्रसाद शर्माका अनुसार सहकारीको फार्ममा उत्पादित कृषि उपजलाई सहज बजार व्यवस्थापन गर्न, उत्पादक र ग्राहकबीच सिधै किनबेचको वातावरण मिलाउन सहुलियत पसल सञ्चालन गरिएको हो ।

‘हामीले उत्पादित सामान सिधै ग्राहकले पाउने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘बिचौलियाले लिने फाइदा ग्राहकलाई नै छोड्दा १० प्रतिशत छुटमा सामान बिक्री गर्न सकिन्छ । यसो गर्दा हामीलाई पनि फाइदै हुन्छ ।’ अहिले बजारमा कुखुराको मासु प्रतिकिलो चार सय रुपैयाँ पर्छ । सहकारीको पसलबाट ३ सय ६० रुपैयाँमै बिक्री हुँदै आएको छ ।


कृषि फर्मका व्यवस्थापक लालबहादुर हरिजनका अनुसार अहिले मासिक साढे ३ लाख रुपैयाँको कृषि उपज सहकारीले उत्पादन गर्दै आइरहेको छ । फार्ममा ग्रास कार्प, कमन कार्प र माहुर माछा, लेयर्स कुखुराका अण्डा, ब्रोइलर कुखुरा र १२ वटा टनेलमा तरकारी उत्पादन हुन्छ । फर्ममा हाइड्रोपोनिक (हावा र पानीबाट मात्रै तरकारी उत्पादन गर्ने), हाइटेक टनेल लगायतको प्रविधिबाट तरकारी उत्पादन भइरहको छ । त्यस्तै सहकारीकै सञ्चालकले पातीखोलामा रेन्बो ट्राउट माछा उत्पादन गरेका छन् । सस्तो पसलबाट रेन्बो ट्राउट माछा समेत सहुलियत मूल्यमा बिक्री गरिने व्यवस्थापकले बताए ।


सहकारी स्थापनाको पाँचौं वर्षको अवसरमा आयोजित सहुलियत पसल उद्घाटन कार्यक्रममा व्यवसायिक कृषिमा लाग्नेलाई चार प्रतिशत ब्याज अनुदानमा ऋण दिइने अध्यक्ष शर्माले बताए । सहुलियत पसल सञ्चालन गर्ने व्यवसायी वा किसानलाई ३ प्रतिशत ब्याज अनुदानमा ऋण दिने निर्णय गरेको छ । त्यसका लागि सहकारीले सहकारी बैंकसँग अनुदानको सहुलियत ऋण लिन लागेको उनले जनाए ।


सहुलियत पसलको उद्घाटन गर्दै संघीय सांसद् पदम गिरीले उत्पादन र रोजगारमा केन्द्रित सहकारीका गतिविधि प्रशंसनीय भएको बताए । उनले कृषिलाई वैज्ञानिक र व्यावसायिक बनाउन सके अभाव र समस्या कतै नहुने उल्लेख गरे । कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले व्यावसायिक कृषि फार्ममध्ये नमुना सहकारीको फार्म जिल्लाकै उत्कृष्ट भएको बताए ।

सहकारीले फार्म सञ्चालनमा सहयोग र योगदान पुर्‍याएको भन्दै ज्ञान केन्द्र प्रमुख रेग्मी र उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मालाई सम्मान गरेको थियो । सहकारीका कोषाध्यक्ष खडप्रसाद खनालले ५० लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीले एक करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?