कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

८९ वर्षमा नागरिकता

प्रताप रानामगर

दमौली — तनहुँको एक महिलाले ८९ वर्षमा नागरिकता पाएकी छन् । घिरिङ गाउँपालिका ३ की डिलमाया कामीले यो उमेरमा नागरिकता पाएकी हुन् । जिल्ला प्रशासन कार्यालयले घिरिङको पोखरीछापमा सञ्चालन गरेको घुम्ती शिविरका क्रममा उनले नागरिकताको प्रमाणपत्र पाइन् ।

८९ वर्षमा नागरिकता

घुम्ती शिविरमा टोली प्रमुख एवं प्रशाकीय अधिकृत रामप्रसाद ढकालले उनलाई घरमा नै गई नागरिकताको प्रमाणपत्र दिएका थिए । अहिलेसम्म उनले नागरिकता नलिएको खबर पाएर टोलीले पटक–पटक शिविर स्थलमा ल्याउन प्रयास गरेका थिए । तर, उनी मानेकी थिइनन् । जिन्दगीमा कहिल्यै सवारी साधन नचढेकाले शिविर स्थलसम्म जान नमानेकी हुन् । अन्तत: टोली नै घरमा पुगेर नागरिकता प्रदान गरेको प्रशाकीय अधिकृत रामप्रसाद ढकालले बताए ।


‘नागरिकता नभए पनि उनले सामाजिक सुरक्षाभत्ता लिँदै आएको थाहा पाएपछि नागरिकता बारेमा सशंकित भयांै,’ उनले भने, ‘सनाखतका लागि सामाजिक सुरक्षाभत्ता लिएको मुक्तिनाथ विकास बैंक भीमादमा पुग्यांै ।’ नागरिकता नभए पनि साबिक माझकोट गाविसको सिफारिसको आधारमा उनले सामाजिक सुरक्षा भत्ता लिँदै आएको तथ्य फेला परेको उनले बताए । डिलमायाले अहिलेसम्म कुनै नागरिकता प्रमाणपत्र नलिएको देखिएकोले जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रमाणपत्र सदर गरेको छ । उनको घर परिवारले पटकपटक नागरिकता बनाइदिन सदरमुकाम दमौली लैजान कोसिस गर्दागर्दै नमानेका कारण अहिलेसम्म नागरिकता लिनबाट वञ्चित भएकी थिइन् । घुम्ती शिविरका क्रममा दैलोमा नागरिकता प्रमाणपत्र पाउँदा उनको घरपरिवार खुसी छन् ।


घिरिङ १ की तारामाया थापाले पनि ६४ बर्षको उमेरमा बल्ल नागरिकता बनाइन । उनी गाउँघरमा नै नागरिकता पाउँदा खुसी छिन् । ‘यो उमेरमा आएर पनि नागरिकता पाउँदा खुसी लागेको छ,’ उनले भनिन्, ‘बल्ल नेपाली भएको जस्तो अनुभूति भएको छ ।’ नागरिकता लिनासाथ फोटोसहित मतदाता नामावलीमा गाउँमा नै उनले नाम दर्ता गराइन् । यसअघिका चुनावमा आफन्त, साथीभाइले भोट हाल्दा टुलुटुलु हेरेको स्मरण मात्र गरिनन्, भाग्यले साथ दिए आगामी चुनावमा भोट हाल्ने इच्छा रहेको उनले बताइन् ।


उक्त घुम्ती शिविरमा १ सय १९ महिला र ७१ पुरुषले नागरिकताको प्रमाणपत्र लिए । घिरिङ गाउँपालिका तनहुँको विकट गाउँपालिका रुपमा मानिन्छ । त्यस्तै २ सय ९ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् ।


देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाले घुम्ती शिविर गरिसकेको छ । देवघाटमा तीन सय १७, शुक्लागण्डकीमा एक सयलाई घुम्ती शिविरबाट नागरिकता वितरण गरिएको छ । जनतालाई घरदैलोमा नजीकबाट सेवा पुर्‍याउने उद्देश्यले स्थानीय तहसँग समन्वय गरी घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । ‘घुम्ती शिविर १२ महिना सञ्चालन गरिन्छ,’ उनले भने, ‘शिविरमा नागरिकता टोलाी जान्छन् । यसबाट जनताले प्रत्यक्ष सेवा पाएका छन् ।’

प्रकाशित : आश्विन ३०, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?