कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

‘समाज बुझ्दैन नयाँ पुस्ता’

दीपक परियार

लेखनाथ — ‘साथीको छोराले घर छेवैको बोटको नाम चिन्दैनन् । दार्जिलिङ पढेकी काठमाडौंकी एक छात्रा भक्तपुर घुमेकी छैनन् ।’ समाजसँग नयाँ पुस्ताको संवाद कसरी टुटै छ भन्ने यी अनुभव शिक्षाविद् केदारभक्त माथेमाका हुन् । नेपाली भाषा र संस्कृतिप्रति अहिलेको पुस्तामा रुचि घट्दै गएकोप्रति उनी चिन्तित छन् ।

‘समाज बुझ्दैन नयाँ पुस्ता’

पोखराको एक कार्यक्रममा प्रमुख वक्ता भएर उनी केही दिनअघि पोखरा झुल्किए । अहिलेको पुस्तामा सांस्कृतिक स्खलन र समाजप्रतिको दायित्वबोध कम हुँदै जानुमा भाषा जिम्मेवार रहेको निचोड उनले प्रस्तुत गरे । ‘हाम्रा सामाजिक मूल्य, मान्यता, परम्परा र संस्कारका सबै पक्ष अन्य भाषामा अनुवाद हुन सक्दैनन्,’ उनले भने, ‘यो सबै पक्ष बुझाउन पनि कम्तीमा निश्चित तहसम्म सामाजिक शिक्षालाई नेपाली भाषामा पढाउनुपर्छ ।’


आफ्नो इतिहास, संस्कृति, भाषा, वेशभूषा पनि अंग्रेजीमा पढाइँदा नयाँ पुस्तामा घोक्ने र परीक्षामा उत्तीर्ण हुन मात्रै सामाजिक शिक्षा पढ्ने बानी परेको उनले स्विकारे । सामाजिक शिक्षाको उद्देश्य घोकाएर नम्बर ल्याउने भन्दा पनि सामाजिक व्यवहारमा परिवर्तन ल्याउने भएको उनको तर्क छ । ‘सामाजिक शिक्षा पढिसकेपछि त्यसले विद्यार्थीको सामाजिक व्यवहारमा परिवर्तन ल्याए नल्याएको थाहा हुन्छ,’ उनले भने, ‘अबको विद्यार्थी मापनको आधार सामाजिक व्यवहारलाई बनाउनुपर्छ । सामाजिक शिक्षा घोकन्ते मात्रै भयो, यो अन्तरक्रियात्मक हुनुपर्छ ।’ उनले अन्य भाषासम्म पुग्ने ढोका खोल्न अंग्रेजीको आवश्यकताप्रति सहमत छन् । उनले भने, ‘अंग्रेजी चाहिन्छ तर नेपाली भाषालाई नै थिच्ने गरी होइन ।’


संस्कृतिकर्मी तीर्थ श्रेष्ठ सामाजिक शिक्षा नितान्त संस्कृति र राष्ट्रियतासँग जोडिएको बताउँछन् । उनले सम्पदामाथि नै बसेर अहिलेको पुस्तालाई सम्पदा चिनाउन नसकेको स्विकारे । ‘अन्य भाषाले हाम्रो संस्कृतिको मर्म र भाव ग्रहण गर्न सक्दैन,’ कार्यक्रममा उनले भने, ‘तसर्थ सम्पदा र संस्कृतिलाई राम्रोसँग बुझाउन पनि सामाजिक शिक्षालाई नेपाली भाषामा पढाउन आवश्यक छ ।’


सामाजिक चिन्तक विश्व सिग्देलले विदेशी भाषामा आफ्नै देश पढ्नुपर्दा आफ्नो राष्ट्रिय स्वाभिमान, नागरिक चेतना, अपनत्व र आत्मविश्वासमा कमी आउँदै गएको अनुभव सुनाउँछन् । उनले भने, ‘नेपाली समाज, लोक परम्परा, चाडपर्व, रहनसहन आदि सांस्कृतिक पक्षका मौलिक शब्दहरू अंग्रेजी भाषामा विशुद्ध अनुवाद हुन नसक्ने हुँदा विद्यार्थीको सही बुझाइमा समस्या देखिएको छ ।’ साहित्यकार गणेश पौडेल सामाजिक शिक्षा नचिन्नेले समाजको सौन्दर्यलाई नचिन्ने धारणा राख्छन् । समाजसँग नयाँ पुस्ताको संवाद टुट्दै गएकोप्रति उनी चिन्ता व्यक्त गर्छन् ।

‘पोखरामा १ सय ५० थरीका धान पाइन्छन् तर हामीमध्ये कमैले मात्रै ती धान चिन्छौं,’ उनले भने, ‘बोटबिरुवा, चराचुरुंगीको हकमा पनि त्यस्तै छ ।’ अंग्रेजीमा नपढाउँदैमा विद्यार्थीको अंग्रेजी भाषा कमजोर हुन्छ भन्ने दृष्टिकोण पनि दोषयुक्त रहेको उनले बताए । ‘अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन हाम्रा विद्यार्थीको अंग्रेजी राम्रो बनाउनु निश्चित रूपमा जरुरी छ,’ उनी भन्छन्, ‘तर अंग्रेजी सिकाउनका लागि स्वयं अंग्रेजी, विज्ञान र गणितजस्ता विषय छन् ।’ अहिले नेपाली भाषामा ज्याँदै थोरै सामग्री मात्र पढाइका कारण विद्यार्थीको नेपाली भाषामाथिको पकड अत्यन्त कमजोर भएको उनको ठहर छ ।


त्यसो त विद्यालयमा पठाइने सामाजिक शिक्षा विषयलाई नेपाली भाषामा पढाउन दबाब दिन पोखरामा अभियान नै सुरु भएको छ । सामाजिक शिक्षा मात्र नभई बालबालिकाको आधारभूत तहको सम्पूर्ण शिक्षा मातृभाषामै पढाइनुपर्ने मान्यता अभियानले राखेको छ । आधारभूत तहदेखि माध्यामिक तहसम्म अनिवार्य रहेको यो विषय गण्डकी प्रदेशमा नेपाली भाषामै पढाउन अभियान थालिएको हो । ‘सामाजिक शिक्षा नेपाली भाषामा’ अभियान २०७५ मा शिक्षण, साहित्य, लेखनमा आबद्धहरू छन् ।


अभियानले नै पोखरामा सामाजिक शिक्षा नेपालीमा पढाउनुपर्ने बहस छेडेको हो । अभियान संयोजक बसन्तकुमार गौतमले सामाजिक शिक्षाको महत्व नबुझाइदा क्याम्पस र विश्वविद्यालयमा मानविकी अध्ययन गर्ने विद्यार्थीको संख्या घटदै गएको तथ्यांक प्रस्तुत गरे ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?