२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जाका स्थानीय तहका कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या पैदा भएको छ  । नगरपालिकाका वडाले पुराना गाविस भवन, साबिक गाविसका वडाका पुराना कार्यालय र भाडाको घरमा सेवा दिन बाध्य भएका छन्  ।

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

(स्याङ्जा) - स्याङ्जाका स्थानीय तहका कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या पैदा भएको छ । नगरपालिकाका वडाले पुराना गाविस भवन, साबिक गाविसका वडाका पुराना कार्यालय र भाडाको घरमा सेवा दिन बाध्य भएका छन् । कति गाउँपालिकाको आफ्नै भवन छैन ।
जनप्रतिनिधिको पहिलो प्राथमिकतामा सवारी साधन परेकाले गाउँ/नगर र वडा कार्यालयका भवन निर्माण हुन नसकेको आरोप स्थानीयको छ । भवन संरचना नभएपछि स्थानीय तह महँगो भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको फेदीखोला गाउँपालिका प्रमुख घनश्याम सुवेदी बताउँछन् ।


‘हाम्रो पनि पहिलो प्राथमिकता भवन नै थियो,’ उनले भने, ‘गाउँ/गाउँ पुग्नका लागि सवारीको आवश्यक पर्‍यो । अनि मात्र गाडी खरिद गर्‍यौं ।’ गाउँपालिकाले सिद्धार्थ राजमार्ग छुन्छ । राजमार्ग आसपास जग्गा खरिद गरेर कार्यालय बनाउने योजना गाउँ कार्यपालिकाको छ । ‘यहाँको घडेरी पोखराभन्दा महँगो छ,’ अध्यक्ष सुवेदीले भने, ‘जग्गा खरिद गर्न लागेको व्यक्तिपिच्छे मूल्य भए । सरकारी विद्यालयमा विद्यार्थीको संख्या न्यून भएकाले मर्ज गरेका पनि छौं । सायद अबको दिनमा कार्यपालिकाको कार्यालय सरकारी विद्यालयमा हुनेछ ।’ उनले कार्यालयको आफ्नै भवन बनाउन अझै केही समय लाग्ने बताए ।


आँधीखोला गाउँपालिकाको कार्यालय पनि आफ्नो भवनमा छैन । आफ्नै भवन व्यवस्थापनका लागि कार्यपालिकाद्वारा योजना अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सुधीर पौडेल बताउँछन् । हरिनास गाउँपालिका पनि आमा समूहको भवनमा बस्दै आएको छ । मासिक रूपमा भाडा तिर्ने सर्तमा आमा समूहको भवन प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन अधिकारीले बताए । ‘अहिले भाडामा लिएका कार्यालय भवनबाट दैनिक कार्य सञ्चालन गर्न असजिलो भए पनि जेनतेन काम चलाइरहेका छौं,’ उनले भने, ‘आफ्नै भवन नहुँदा कार्य सम्पादनमा असहज भएको छ ।’ उनले वडा कार्यालयको भवनसमेत नहुँदा सेवा प्रवाह प्रभावकारी नभएको बताए ।


यस्तैगरी कालीगण्डकी गाउँपालिकाको पनि आफ्नै भवन छैन । मिर्मीमा कार्यालय राख्ने लामो विवादपश्चात् पुरानो गाविसको भवन प्रयोग गर्दै बिर्घामा कार्यालय स्थापना गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश खनालका अनुसार कार्यपालिकाको भवन निर्माणसँगै वडा कार्यालयका पनि भवन स्थापना गर्ने योजना छ । उनले गाउँ कार्यपालिकाको भवनमा जेनतेन सेवा सुचारु गरिए पनि वडाको भने निकै समस्या रहेको बताए । यस्तैगरी अर्जुनचौपारी गाउँ कार्यपालिकाको भवन पनि भाडामा हो । आफ्नै भवन नहुँदा भाडामा लिएर काम चलाउन बाध्य भएको जनप्रतिनिधि बताउँछन् । कर्मचारीका अनुसार भाडाका लिइएको कोठाले सेवा दिदा सेवाग्राहीको भीडसँगै असहज भएको हुन्छ । भीरकोट नगरपालिका पनि आफ्नो भवनमा छैन । प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगनाका अनुसार भाडाकै कार्यालयमा काम चलाउनुपरेको छ । कार्यालय मासिक भाडा बुझाउने गरी अर्कैको घर भाडामा लिएर स्थापना गरिएको हो ।


भवन तथा पूर्वाधार अभावका कारण सेवाग्राही आउँदा भीड हुने र चुस्त सेवा दिन गाह्रो हुने वडाध्यक्षहरूको भनाइ छ । ठाउँ अभावका कारण वडा सचिव नै उठेर सेवा दिनुपरेको भीरकोट नगरपालिका ६ का वडाध्यक्ष लक्ष्मण खत्री बताउँछन् । कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा गरेअनुसार जोस, जाँगरले काम गर्न कठिनाई भएको उनले बताए । 


कार्यालयमा उठेर सेवा दिनसमेत नसकिने वडा सचिवहरूको गुनासो छ । एउटै भवनमा एक/एक वटा कोठा बाँडेर सेवा दिनुपरेको उनीहरू स्वयं बताउँछन् । वडाध्यक्षका लागि कुर्ची राखिए तापनि कतै सिंगो कोठा नै खाली राखिएको छ भने कुनै पालिकाको वडामा वडाध्यक्षसहित वडा सचिव र कर्मचारीले एकै ठाउँबाट सेवा दिएका छन् । पुरानो नगरपालिका भए पनि पुतलीबजार, वालिङ नगरपालिकाका वडा कार्यालय अधिकांश भाडामा नै छन् ।


धेरै वडाको कार्य एउटै भवनबाट गर्नुपर्दा सेवाग्राहीको अलमलिने गरेको गुनासो छ । भाडामा सञ्चालन भएका पालिकासँगै वडाका कार्यालयहरू निकै पुराना, साँघुरा र जीर्ण छन् ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?