कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैं मनाउन घर फर्के प्रवासी

आश गुरुङ

लमजुङ — क्व्होलासोंथर गाउँपालिका ७, तल्लो चरागाउँ केम्ली घर भई यूएईमा कार्यरत बाबुराम सापकोटा दसैं मनाउन घर आएका छन्  । उनीमात्रै होइन, राइनास नगरपालिका ९, सिमघारीका भीम गुरुङ पनि दसैं मनाउन यूएईबाट गाउँ फर्केका छन्  ।

दसैं मनाउन घर फर्के प्रवासी

न्युजिल्यान्डका लागि नेपालका पर्यटन दूत बुद्धिसागर घिमिरे दसैं मनाउन बेंसीसहर नगरपालिका २, रानीकुवा आएका छन् । दसैं मनाउन घरगाउँ फर्केका कतारमा कार्यरत लमजुङेले सोमबार लमजुङ उद्योग वाणिज्य संघसँग मिलेर दसैंको शुभकामना आदानप्रदान कार्यक्रम नै गरे ।


लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठसहितको पदाधिकारी तथा सल्लाकार नै आएर कतारमा रहेका लमजुङेको संस्था कतार सेवा समाजले शुभकामना आदानप्रदान गरेको हो । समाजका अध्यक्ष एवं बेंसीसहर नगरपालिका २, भकुण्डेका श्रेष्ठले ७ महिनापछि दसैं मनाउन घर फर्केको बताए । ‘हुन त म ६/७ महिनाअघि मात्रै घर आएको थिएँ । दसैं मनाउन स्वदेशमै आउन मन लाग्दो रहेछ । बिदा मिलाएर आएँ,’ उनले भने ।


यूएईमा कार्यरत लमजुङ समाज यूएईका उपाध्यक्ष बाबुराम सापकोटा बेंसीसहरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । ‘दसैं आएपछि परदेश बस्नै मन लाग्दैन । गाउँ नै फर्कन मन लाग्छ,’ उनले भने, ‘बिरामी छु, तै पनि स्वदेश आएको छु, यहीं नै दसैं मनाउने हो ।’


न्युजिल्यान्डका लागि नेपालका पर्यटन दूत घिमिरेका अनुसार उनी बेला–बेला गाउँघर फर्कन्छन् । ‘यो समय भनेको दसैंको समय हो,’ उनले भने, ‘हामी आएर गाउँघरमै दसैं मनाए परिवार, साथीसँगै, इष्टभित्र सबैलाई एक खालको थप खुसी प्राप्त हुन्छ ।’ दसैंलाई खुसियालीसाथ मनाउन स्वदेश फर्केको उनले बताए ।


दसैं मनाउन यतिबेला रोजगारीको सिलसिला वा स्थायी/अस्थायी रूपमा विदेशमा बसोबास गर्दै आएका नेपाली गाउँघर फर्केका छन् । कोही फर्कने क्रममा छन् ।


भारतीय सेना, सिंगापुर प्रहरी, बेलायती सेनामा कार्यरत तथा सेवा निवृत्त भएर परदेश बसेका समेत दसैं मनाउन गाउँघर फर्केका छन् । विदेशबाट मात्रै नभई रोजगारी तथा स्थायी/अस्थायी रूपमा देशभित्रै रहेका पनि गाउँघर फर्केका छन् । कर्मचारी, शिक्षक, विद्यार्थी पनि अहिले गाउँ फर्कने क्रममा छन् । केही किनमेलमा व्यस्त छन् । गाउँघर पुगेका युवा साथीभाइसँग भेटघाट, पिङ थाप्ने तथा घुम्न हिँडेका छन् ।


केही दसैंमा रमाइलो कार्यक्रम गर्न जुटेका छन् । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले दसैं मनाउन आएका प्रवासीसँग शुभकामना साटासाट गरिएको बताए । ‘वर्ष दिनमा आउने चाडपर्व । लामो समयपछि बिदा मिलाएर आउने साथीभाइसँगै शुभकामना आदानप्रदान गर्‍यौं । सांगीतिक कार्यक्रम गरी रमाइलो गर्‍यौं,’ उनले भने ।


फूलमारी मञ्चमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा चोलेन्द्र पौडेल, माण्डवी त्रिपाठी, मञ्जु विक, रोशन कुताल क्षेत्री, प्रिया श्रेष्ठ, सुनीता अधिकारी, सुनील परियार, आश्मी गुरुङ, एसिया भण्डारी, शिवराज गौतम लगायत कलाकारले मनोरञ्जन दिलाए ।


‘यसपटक दसैं मनाउन गाउँ आएको छु । पुराना साथीहरूसँग भेट भइरहेको छ । खुसी लागेको छ,’ गायिका प्रिया श्रेष्ठले भनिन् । बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले चाडपर्वलाई भ्रातृत्व बढाउने हिसाबले मान्नुपर्ने बताए ।


‘हाम्रो समाज हो । यहीबेला विकृति विसंगति फैलिन्छ । यही बेला झगडा हुन्छ,’ शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘चाडपर्वमा धेरै वर्षपछि जुटेको परिवार एकआपसमा रमाइलो गर्नुपर्छ । भड्किलो तवरबाट होइन, जे छ त्यसमै रमाइलो मान्नुपर्छ ।’

प्रकाशित : आश्विन ३०, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?