१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दसैंका बेला कैदीबन्दीलाई ज्वरो

लमजुङ कारागारका कैदीबन्दीमा भइरल ज्वरोको संक्रमणले बिरामी
आश गुरुङ

लमजुङ — दसैंको समय लमजुङ कारागारका कैदीबन्दीमा भइरल ज्वरोको संक्रमण फैलिएको छ । कारागारका अधिकांश कैदीबन्दी बिरामी परेका छन् ।

दसैंका बेला कैदीबन्दीलाई ज्वरो

बिरामी परेका अधिकांशमा भाइरल ज्वरो र रुघाखोकीको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । एकसाता यता फैलिएको भाइरल ज्वरो र रुघाखोकीले विरामीमध्येका प्राय: ओछ्यान परेका छन् । कैदीबन्दी बिरामी परेपछि सोमबार कारागारमै स्वास्थ्यकर्मी पुगेका थिए ।


बेंसीसहर नगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीको टोली र लमजुङ जिल्ला सामुदायिक अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको टोली छुट्टाछुट्टै समयमा गएर कैदीबन्दीको उपचार गरेका थिए । कारागारका जेलर तीर्थबहादुर अधिकारीका अनुसार ७४ जना कैदीबन्दीमध्ये ४३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरु ज्वरो र रुघाखोकीका बिरामी हुन् ।


‘एक साता वा १० दिन जति भयो । कैदी र थुनुवा बिरामी पर्न थालेको । पहिले अस्पताल लाँदै ल्याउँदै गरेका थियौं । पछि बिरामीको संख्या बढै गएपछि डाक्टरहरुलाई बोलाएर यहीं उपचार गराएका हौं’ उनले भने । उनका अनुसार पुरुष कैदी र थुनुवा साथै महिला कैदी र थुनुवा बिरामी परेका छन् । उपचारमा संलग्न लमजुङ सामुदायिक अस्पतालका डा. विष्णुमणि अर्यालका अनुसार कारागारका कैदीबन्दीमा भाइरल ज्वरो र रुघाखोकीको संक्रमण देखिएको छ । रुघाखोकी सर्ने र पछि भाइरले ज्वरोको रुप लिँदै गएको उनले बताए । ‘हामी मेडिकल टीम नै गएर उपचारमा जुट्यौं । बिरामीको अवस्था हेरेर पहिलो चरणमा औषधी चलाएका छौं । त्यसले भएन भने भर्ना नै गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।


मौसम परिवर्तन, खानपान, खानेपानी लगायत समस्याले उनीहरुमा रुघाखोकी लागेको हुनसक्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरुमा सामान्य पेट दुखाईको समस्या भएपनि झाडापखलाको समस्या भने नरहेको स्वास्थ्यकर्मीले बताएका छन् । ‘अहिले भाइरल ज्वरोको संक्रमण बढ्दो छ । स्वास्थ्य संस्था तथा अस्पतालमा आउने अधिकांश विरामी भाइरल ज्वरोको संक्रमणबाट पीडित छन्’ उनले भने ।


लमजुङ जिल्ला कारागारका कैदीबन्दीको कारागारमै उपचार गर्दै स्वास्थ्यकर्मी । तस्बिर: कान्तिपुर

प्रकाशित : आश्विन ३०, २०७५ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?