कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सुस्ताको निहुरो देशैभरि

नारायण शर्मा

नवलपरासी — सुस्तापारिको भारतीय जंगलमा हुने निहुरोले दसैंमा देशभरिका मुख्य बजार ओगटेको छ । यहाँको जंगलमा प्रशस्तै पाइने निहुरोको माग दसैंमा अत्यधिक हुने गरेको छ । शाकाहारी हुन वा मांसहारी दसैंमा सागको माग बढी हुने भएपछि निहुरो सुस्तापारी भारतीय जंगलबाट ल्याइएको हो ।

सुस्ताको निहुरो देशैभरि

नारायणी नदीपारि सुस्ता रहेको छ । सुस्ताको ३ तिर भारतीय वाल्मीकि राष्ट्रि्रय निकुन्जमा निहुरोको जंगलै छ । भारतीयहरू यो साग खाँदैनन् । यो खाने साग हो भन्ने उनीहरूमा जानकारी नै छैन । हरेक परिवार बिहान एउटै धन्दामा सक्रिय हुन्छन् निहुरो टिपेर नेपालीलाई बेच्छन् । वर्षौंदेखि सयौं भारतीय यही निहुरो बेचेर गुजारा गर्दै आएका छन् ।


भारतीय जंगलमा पाउने यो निहुरो उन्यू प्रजातिको घाँस हो । यहाँ पाउने निहुरो र नेपालको पहाडमा पाउने निहुरोको स्वादमा धेरै फरक छ । पहाडमा पाउने निहुरोको डाँठ मोटो, रंग कालो हुन्छ र मुन्टो घुम्रिएको हुन्छ । सुस्तामा पाउने निहुरोको डाँठ पहाडीभन्दा पातलो मसिनो हुन्छ । टुप्पो घुम्रिएको हुन्छ । स्वाद पनि पहाडी जस्तो तिख्खर हुन्न ।


भारतीयले दैनिक एक ट्रक निहुरो पारिपट्टिको भेडियारी नेपाली बजारका खरिदकर्तालाई दिन्छन् । सुस्ताको निहुरोमा महिनाको लाखौं कमाउने बिचौलियाले सुस्तेली र भारतीयहरूसँग प्रतिमुठा ५ रुपैयामा खरिद गर्छन् र नेपाली बजारमा ५० रुपैयाँ प्रतिमुठामा बिक्री गर्छन् । सुस्ताको निहुरो भारतीय जंगलबाट टिपेर ट्रयाक्टरमा ल्याउँछन् । त्यहाँबाट नाउमा राखेर १७ सय मिटर लामो नारायणी तारेर नेपाली बजारमा लगिन्छ । नेपाली भूमि हुँदै सुस्ता आउजाउ गर्न नारायणी नतरी सुखै छैन ।


हिउँद बर्खा सधैंजसो निहुरोको माग अत्यधिक छ । नारायणी नदीवारि ल्याएपछि बिचौलियाको राज सुरु हुन्छ । हरेक साँझ एक ट्रक निहुरो नेपाली बजारमा लगिन्छ । काठमाडौं, बुटवल, पोखरा, नेपालगन्ज, नारायणगढको मुख्य तरकारी बजारमा यहाँको साग एकाबिहानै पुगिसक्छ ।


ताजा र कुनै विषादी वा मलखाद नमिसाउने भएकाले त्यसको माग अत्यधिक रहेको छ । विषादी नमिसाउने र मल खाद्यको समेत प्रयोग नहुने भएकाले आर्गेनिक तरकारी (साग) का रूपमा बजारमा यसको माग सधंै एकनासको रहने स्थानीय उमा गिरी बताउँछन् । भारतीयहरूले नखाने र सुस्तादेखि दक्षिण, पूर्व र उत्तरको भारतीय जंगलमा प्रशस्तै पाउने भएकाले यो बाह्रै महिना बिक्री हुने गरेको छ । वर्षादको समयको निहुरोमा जुकाले फुल पार्ने भएकाले स्वास्थ्यका लागि त्यति उपयुक्त नभए पनि त्यसको मागमा भने कहिल्यै कमी आउँदैन । विषादी रहित हुने भएकाले ठूलाबडा र सचेत वर्गको भान्सामा निहुरोको साग अनिवार्य जस्तै भएको छ ।


‘नेपालमा राजदरबार रहँदासम्म सुस्ता दरबारियाहरूका लागि सिकार खेल्ने थलो भनेर प्रख्यात थियो अहिले निहुरोका लागि प्रख्यात छ,’ स्थानीय रोज मिया भन्छन्, ‘यहाँको निहुरो नपुगेको भान्छा नै छैन ।’ दसंैका लागि अत्यधिक माग हुने भएकाले स्थानीयहरू एक साताअघि देखि जंगलमा निहुरो टिप्न खटेका थिए ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?