कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पाउँदुरे नाच संरक्षणमा कुमाल

हरिराम उप्रेती

गोरखा — कछाड, दौरा र स्टकोटमा सजिएर घण्टौँसम्म पाउदुरे नाच्दा सिरानचोक गाउँपालिका– ४ चोरकाटेका ज्ञानबहादुर कुमालाई कहिलै थकानको महसुस भएन  । उमेरले ७५ नाघेका ज्ञानबहादुर आफूले जानेको कला गाउँ ठाउँमा देखाउन पाउँदा फुरुङ्ग छन्  ।

पाउँदुरे नाच संरक्षणमा कुमाल

‘सानोमा बावुबाजेले कर गरेर नाच्न लगाए, झ्याउरे नाच्दानाच्दै पाउदुरे नाच्न जानेको हुँ,’ उनी भन्छन्, ‘जानेपछि नाचुनाचु लाग्ने भइहाल्यो, मैले नाच्न थालेको ६० वर्ष पुग्यो ।’ बुढेसकलामा युवा जोसका साथ नाच्ने ज्ञानबहादुरलाई नाच लोप हुन्छ कि भन्ने चिन्ता पनि उत्तिकै छ । ६० नाघेका १६ सहपाठीको समूह बनाएर उनी यति बेला पाउदुरे नाच संरक्षणमा जुटेका छन् ।


सामान्यतया पाउदुरे नाच्न ३ जना चाहिन्छ । ‘दुई जना मारुनी अनिवार्य हो, केटा मान्छेलाई मारुनी बनाउँदा केटी मान्छेले लगाउने लुगामा सिगार्नुपर्छ,’ उनले भने, ‘आजकल मारुनी बन्न केटी मान्छे आफैं इच्छा पनि जनाउँछन् ।’ ज्ञानबहादुरको समूहमा डिल बहादर कुमाल र डब्बरबहादुर कुमालले मारुनी नाच्दै आएका छन् । ‘केटा नाचे गाउन, घलेक र चालो लगाएर भेष बदल्नुपर्छ,’ उनले भने, ‘बीचमा नाच्ने मै हुँ, केटाको भेषमा हुनेलाई भारते भन्छन् ।’ केटीको भेषमा सिंगारिँदा पटकुी, नौगेडी मालामा पनि लगाउनुपर्ने उनीहरू बताउँछन् ।


नाच प्रस्तुत गर्ने समूहले कुमाल समुदायको पहिचान झल्कने पोसाक अनिवार्य लगाउने नियम बसालिएको छ । ‘एउटा समूहमा कम्तीमा दुई जना मादल बजाउन जान्ने मान्छे अनिवार्य चाहिन्छ,’ ज्ञानबहादुरले भने, ‘गीत गाउन त जति भए पनि भयो ।’


गाउँमा हुने शुभकार्य पूजा, व्रतवन्ध तथा सार्वजनिक कार्यक्रममा प्रस्तुत गर्दै आएको उनले बताए । तिहारमा देउसीभैलोमा पनि पाउदुरे नाच प्रस्तुत गर्ने स्थानीय नेत्रबहादुर कुमालले बताए । शुभकार्य र गाउँमा हुने कार्यक्रममा उक्त नाच प्रस्तुत गरेवापत गच्छेअनुसार दक्षिणा पाउने उनले बताए ।

‘यो हाम्रो समुदायको निकै पुरानो नाच हो,’ नेत्रबहादुरले भने, ‘हामी पाका पुस्ताले यसलाई आजसम्म संरक्षण गरेका छौँ, हाम्रा छोरा नातिले गर्छन, गर्दैनन्, सिकाउन भने थालेका छौँ ।’ पछिल्लो पुस्ताले पनि नाचमा चासो भने राख्न थालेको उनको भनाइ छ । ‘हाम्रो पहिचान र परम्परा विर्षन हुँदैन भनेका छौँ, यति निकै पुरानो नाच संरक्षण गर्दा हाम्रै समुदायको इज्जत बढ्छ,’ नेत्रबहादुरले भने । पाउदुरे नाचमा प्रस्तुत हुने गीतमा देवीदेवतालाई पुज्ने गरेको उनले बताए । ‘सम्झिए जतिका देवीदेवतालाई पुजेर टुक्का बनाउँदै गीत भन्ने हो,’ उनले भने ।


कुमाल समुदायको बाहुल्यता रहेको चोरकोटेमा पाउदुरे नाच प्रस्तुत गर्ने चार समूह छन् । पाउदुरे नाचलाई ‘नाचरे’ पनि भनिने स्थानीय गजेन्द्रबहादुर कुमालले बताए । ‘यसको गीत हाम्रै भाषामा पनि हुन्छ, यो गीत गाउन जाने कुमाल भाषाको प्रचार पनि हुने भयो,’ उनले भने । बीचको १०–१५ वर्ष नाच लोप हुने अवस्थामा पुगे पनि अहिले आफूहरूले ब्युताएको कटुमासे समूहका अमरबहादुर कुमाल बताउँछन् ।


‘सानो–सानोमा गराभाइ (समूह) मिलेर खुव नाच्थ्यौँ,’ उनले भने, ‘केही वर्ष यो नाच हरायो अहिले फेरि हाम्रो परम्परा छाड्नुहुन्न भनेर सुरु गरेका हौँ ।’ नाचलाई जीवन्त राख्न अमरबहादुरले भने युवा पुस्तालाई अघि सारेका छन् । भारते आफू नाचे पनि मारुनीका लागि १७ वर्षीय अनिषा कुमाल र सुस्मीता कुमाललाई जिम्मेवारी दिएका छन् । ‘बाजेहरूको पालादेखिको नाच सिक्न पाउँदा हामीलाई पनि खुसी लागेको छ,’ अनिषा भन्छिन् । चोरकोटमा तीन सय भन्दा बढी घर धुरी कुमाल समुदाय छन् ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?