सकिएको छैन दसैंको चहलपहल

कान्तिपुर संवाददाता

दमौली — तनहुँका गाउँघरमा दसैंको चहलपहल अझै सकिएको छैन  । तागाधारीहरूले दशमीकै दिन मात्र टीका लगाउने चलन भए पनि कोजाग्रत पूर्णिमाका दिनसम्म यहाँ चहलपहल हुन्छ  ।

सकिएको छैन दसैंको चहलपहल

दसैंको अवसरमा विभिन्न युवा क्लबले आयोजना गरेको दसैं विशेष कार्यक्रमले गाउँघरमा दसैंको चहलपहल बढाएको हो । भिमाद ५ मिछुर्लुङमा आइतबारबाट तेस्रो दसैं मिछुर्लुङ मेला सुरु भएको छ ।


तेस्रो नेत्र युवा संस्थाले आयोजना गरेको मेला भर्न तनहुँ, स्याङ्गजा, पाल्पा र नवलपरासीबाट दर्शक आएका छन । मेलाको मुख्य आर्कषणमा होमस्टे प्रवद्र्धन, परम्परागत काठको रोहटे पिङ, लिङ्गे पिङको मज्जा, ऐतिहासिक तथा धार्मिकस्थलको अवलोकन, पुरुष भलिबल प्रतियोगिता मुख्य आकर्षकको रुपमा रहेको युवा संस्थाका अध्यक्ष दलप्रकाश थापाले बताए ।


‘दसैंको संस्कृति संरक्षण गर्न मेला आयोजना गरेको हौं, उनले भने, ‘मेलाले दसैंको मौलिकता कायम गर्छ ।’ मेलाका लागि युवाले काठको रोहटे पिङ बनाएका छन । दसैं मेला आयोजना गरेकै कारण परम्परागत काठको रोहटे पिङको संरक्षण भएको छ ।

बालबालिकाका लागि काठको झाटे पिङ बनाएको उनले बताए । मेला भर्न आउने दर्शकले पिङको मज्जा लिएका छन । मेलामा आउने अतिथि, खेलाडी, दर्शकलाई निधारमा रातो टीका र जमरा लगाई दिँदा झनै रौनिक थपिएको छ ।

विदेश रहेका गाउँका युवाले मेलाका लागि बर्षेनी एक लाख रुपैयाँ पठाउने गरेको छ । वैदेशिक रोजगारीमा रहेका गाउँका युवाले पठाएको रकमले बर्सेनि मेला आयोजना हुने उनले बताए । गाउँमा दसैंमा रमाइलो होस भनेर विदेशबाट पैसा पठाएको मिछुर्लुङ दोहा कतार प्रवासी समाजका अध्यक्ष मोहन थापाले बताए । 'गाउँको कार्यक्रमका लागि बर्सेनि केही पैसा छुटाउने गरेका छौं, उनले भने, ‘दसैं मनाउन नपाए पनि कार्यक्रमका लागि सहयोग गर्न पाउँदा खुसी छौं ।’ सामाजिक सञ्जालमा कार्यक्रम हेर्दा गाउँ भए जस्तै लाग्छ उनले भने । फेसबुक लाइभमार्फत गाउँको कार्यक्रम हेरिरहेका छन् ।


त्यस्तै भिमाद ४ को नरिककोट युवा क्लबले पनि दसैंको अवसरमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमका लागि ३० वर्षपछि काठको रोहटे पिङ बनाइएको छ । यहाँ पनि पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै घिरिङ, ऋषिङ, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी, व्यास नगरपालिकाका गाउँ तथा टोलमा दसैंका अवसरमा कार्यक्रम सम्पन्न भइसकेका छन । कतिपय स्थानमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?