कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अरुणखोला बस दुर्घटना : ‘हेडलाइटै नबाली हुइँकिँदा दुर्घटना’

नारायण शर्मा

नवलपरासी — हेडलाइट (बत्ती) नै नबाली रातिको समयमा बस चलाएका कारण दुर्घटना भएको खुलेको छ । पूर्व-पश्चिम (महेन्द्र) राजमार्गअन्तर्गत अरुणखोला नजिकै आइतबार सबेरै बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । 

अरुणखोला बस दुर्घटना : ‘हेडलाइटै नबाली हुइँकिँदा दुर्घटना’

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु१ख ८४५४ नम्बरको बस सडकबाट करिब ५० मिटर तल जंगलमा खसेको थियो । दुर्घटनामा १६ यात्रु घाइते भएका थिए । बस चालकले हेटौंडाबाट हेडलाइट (बत्ती) नै नबाली हुइँकाएका कारण बस दुर्घटनामा परेको घाइतेले बताएका छन् । आइतबार बिहान ३ बजे दुर्घटना हुनुअघिसम्मको साढे २ घण्टाको यात्रामा बसको अघिल्तिरको हेडलाईट बिग्रिएको थियो ।


‘हेटौंडा आइपुग्दा झयाप्प सबै बत्ती गयो म अघिल्लो सिटमै थिएँ,’ दुर्घटनामा घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचाररत शंकर महतले भने, ‘जतिभन्दा पनि मानेन । मोबाइलको उज्यालोमा गाडी हुइँक्याइरह्यो ।’ मनहरीतिर पुगेपछि बत्ती बालेर अघिअघि हुइँकिएको अर्को बसको पछिपछि हिँडेको र नारायणगढ आएपछि रोकिएको उनले बताए । ‘रोक यसरी हिँड्न हुँदैन भन्दा चालकले नमानेको उनको भनाइ छ । नारायणगढमा आएर बिहान उज्यालो भएपछि जानेभन्दा पनि नमानेको र बत्ती बनाउन पटकपटक आग्रह गरे पनि नटेरेको घाइतेले बताए ।


‘नारायणगढमा बत्ती बनाउन म झगडा गरेकी थिएँ उल्टै तपाई चालक कि म चालक भन्दै हकार्‍यो,’ अर्की घाइते पुनम वनले भनिन्, ‘जतिभन्दा पनि नटेरेका कारण दुर्घटनामा परियो ।’ अँध्यरोमा हिँड्दा दुर्घटनामा परिने डरले सुत्न नसकेको उनले बताइन् । बस चालक रुपन्देही सैनामैना ८ की कमला ढकालले यात्रुको कुरा नसुन्दा र बिनाबत्ती र हर्न गाडी हुइँकाउँदा ६ जनाको अनाहकमा ज्यान गएको हो ।


बाटामा बत्ती नबाली हिँडेको र हर्नसमेत नभएको भनेर प्रहरीलाई जानकारी गराउन खोज्दा हेटौंडादेखि दुर्घटनास्थलसम्मको १ सय २२ किमिमा राजमार्गमा प्रहरी नै फेला नपरेको घाइतेले गुनासो गरे । चालकको सुविधाका लागि कावासोतीमा रहेको रिफ्रेस सेन्टरमा समेत त्यो गाडी छिरेको थिएन । अघिल्तिर बत्ती बालेर हिँडेको अर्को गाडी भेट्नका लागि चालकले दुर्घटनास्थलमा विपरीत दिशाबाट आएको गाडीको चर्को बत्तीले राजमार्ग नदेखेपछि सहचालकलाई मोबाइल बाल्न भन्दाभन्दै ३ बल्डयाङ खेलेको घाइतेको भनाइ छ ।


महेन्द्र राजमार्गको अरुणखोलामा दुर्घटना हुनुअघि डन्डा भन्ने स्थानको जंगलमा शौचका लागि बस रोकिएको थियो । त्यही मेसोमा अगुवा गाडी कटेको र अँध्यारोमा अरु गाडीको सहारामा त्यो बस हुइँकिएको घाइतेको भनाइ छ । यात्रु शंकर महतले भने, ‘भनेको मानेको भए दुर्घटना हुँदैनथ्यो । भन्दाभन्दै जान्दाजान्दै दुर्घटनामा परियो ।’ हेटौंडादेखि दुर्घटनास्थलसम्मको महेन्द्र राजमार्गमा त्यसदिन कहींकतै प्रहरी नहुनु दुखद् रहेको उनको भनाइ छ ।

नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक लक्ष्मण शाहीले बिहान साढे ३ बजेपछि ड्युटीका प्रहरी नरहने बताए । उज्याले हुने भएकाले त्यतिबेला ड्युटी आवश्यक नरहेको उनले दाबी गरे । ५ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । चालकका कारण देशैभरी दुर्घटना बढेपछि महेन्द्र राजमार्गको हरेक २ सय किमिभित्र चालकको सुविधा (चिया खाने, मुख धुने, आराम गर्ने, शौचालय जाने, पानी खाने, गाडीको अवस्था चेक गर्ने) रिफ्रेस सेन्टर खोलिएको छ । त्यहाँ चालक झर्ने दिशापिशाब गर्ने कम्तीमा २० मिनेट आराम गर्ने व्यवस्था गरिए पनि मध्यरातका चालकले त्यसको पालना गर्दैनन् ।


प्रहरीले बत्ती नबालेको भन्दै जरिवाना गर्न सक्ने त्रासले चालक भागेका छन् । त्यहाँ हरेक समय ४ जना प्रहरी हुनुपर्ने भए पनि आइतबार बिहान साढे २ बजे रिफ्रेस सेन्टर छिर्ने नाकामा प्रहरी थिएनन् । नियम पालना नगरेकै कारण दुर्घटना भएको हो ।

प्रकाशित : कार्तिक ५, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?