कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरासर सवारी, सुलभ भाडादर

कान्तिपुर संवाददाता

पर्वत — दसैंका बेला फ्रि क्यु भन्दै सवारी गुडाउनेविरुद्ध पर्वत ट्राफिकले कडाइ गरेपछि यो दसैंभर यात्रुले सहज यात्रा गर्न पाएका छन्  । व्यवसायीले पनि दसैंको दिनमा समेत साबिककै भाडादरमा सवारी गुडाएर आवागमनमा सघाए  ।

सरासर सवारी, सुलभ भाडादर

विगतमा सहज सवारी नपाउँदा गन्तव्यमा पुग्न समस्या भोग्दै आएका यात्रुले यो वर्ष भने दसैंको दिनमै समेत सहज रूपमा सवारी पाइएको बताए । ‘अरू बेलाभन्दा सस्तो भाडामा आइयो,’ पोखराबाट फलेवास आउँदै गरेका राजेन्द्र केसीले भने, ‘गतवर्ष दसैंको दिनमा फ्रि क्यु भन्दै दोब्बर भाडा लिएका थिए, अहिले अढाई सयमै आइयो ।’

पोखरादेखि फलेवाससम्मको बस भाडा साढे दुई सय कायम भएको दुई वर्ष भइसक्यो । केही समयअघि सरकारले नै भाडादर १० प्रतिशत बढाएको भए पनि दसैंमा आफन्तकोमा टीका थाप्न आएका यात्रुले पुरानै भाडादरमा यात्रा गर्न पाएको बताए ।

स्थानीय रुटमा चल्ने सवारीले पनि दसैंको दिनमा समेत पुरानै दरमा सेवा दिएको यात्रुहरूले बताए । ‘अरू बेला घुम्तीदेखि कुश्मासम्मको भाडा २० रुपैयाँ लिन्थे,’ खुर्कोटबाट आएकी दिना शर्माले भनिन्, ‘दसैंमा १५ रुपैयाँमै आइयो । यात्रु धेरै भएकाले होला गाडी ५–५ मिनेटमा छुटेका थिए ।’

पोखरादेखि कुश्मा र धौलागिरिमा स्थानीय रुटमा चल्ने सवारीले पनि दसैं अवधिभर यात्रुलाई सहज सेवा दिए । सार्वजनिक सवारीमध्येका बस, जिप, ट्याक्सी लगायतले आलोपालो गरेर भए पनि साबिककै दररेटमा यात्रुलाई सेवा दिएको बताए ।

‘केही व्यवसायीले यात्रुलाई धेरै भाडा लिएको गुनासो आयो,’ व्यवसायी विशाल पुनले भने, ‘ट्राफिक प्रहरी र हामी बसेर समझदारी गर्‍यौं । दसैंमा पनि टीका नहुनेले सरासर चलाउने । हुनेले टीकापछि सेवा दिने गरी गाडी चलायौं ।’

व्यवसायीका अनुसार विगतमा यात्रु ठगिनुको कारण चालकको लापरबाहीले हो । ‘हामीले तोकिएकै दररेटमा यात्रु बोक्नुपर्छ भनेका छौं,’ एक व्यवसायीले भने, ‘ड्राइभर राखेर चलाउँदा उसले बठ्याइँ गर्छ ।’ केही चलाख चालक र परिचालक मिलेर यात्रुसँग बढी भाडा लिएर कमिसन खाने गर्दा त्यसको असर गाडीधनीलाई पर्ने व्यवसायीको गुनासो छ ।

ट्राफिक प्रहरीले यात्रुहरूको गुनासो सुन्न शिवालय चोकमा यात्रु सहायता कक्ष राखेको छ । यात्रुले सहज गाडी नपाउने, बढी भाडा लिने समयमा गन्तव्यमा नपुर्‍याउने लगायतका समस्या सुनाउन स्थापना गरिएको सहायता कक्षमा केही गुनासा आएपछि ट्राफिक प्रहरी सचेत भएको थियो ।

केही यात्रुले गुनासो गरेपछि दैनिक निगरानी बढाइएको ट्राफिक प्रमुख महेन्द्र रानाभाटले बताए । ‘केहि यात्रुको गुनासो आएपछि हामीले टीका पनि नभनी निगरानी बढायौं,’ उनले भने, ‘त्यसको प्रभाव सजिलै देखियो ।’ यात्रुले समयमा सवारीसाधन पाउनु र बढी भाडा लिएको गुनासो नआएपछि ट्राफिक निगरानी सफल भएको रानाभाटको दाबी छ ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?