दसैं खल्लो भयो

‘सबै हाँसीखुसी दसैं मनाएको देख्दा मलाई भने चाडबाड पनि नआए हुन्थ्यो जस्तो लाग्छ’
विना थापा

काठमाडौँ —  (कास्की) - छोराछोरी नातिनतीनालाई दसैंमा टीका लगाएर आसिक दिने उमेर  । मिठोमसिनो खाने, खुवाउने र रमाएर दसैं मनाउने दिन  ।

दसैं खल्लो भयो

(कास्की) - छोराछोरी नातिनतीनालाई दसैंमा टीका लगाएर आसिक दिने उमेर । मिठोमसिनो खाने, खुवाउने र रमाएर दसैं मनाउने दिन । तर, ८६ वर्षीया जैसारा परियारका सन्तान भएनन् । श्रीमान् पनि बिते । ‘सबै हाँसीखुसी दसैं मनाएको देख्दा मलाई भने चाडबाड पनि नआए हुन्थ्यो जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘यो उमेरमा पनि काम गरेर गुजारा चलाउनुपर्ने अवस्था छ । बुढेसकाल दु:खमै बित्ने भयो ।’


उनले काम नगरी बिहानबेलुकी हातमुख जोर्न पाउँदिनन् । पोखराको केआईसिंह पुलमा बस्दै आएकी परियारका श्रीमान् नरबहादुरको गत वर्ष मृत्यु भयो । ‘श्रीमान् छँदा दुवै जनाले अरूको घरमा काम गरेर पनि दसैं मनाएका थियौं,’ परियारले भनिन्, ‘बल घट्दै गयो, न बास राम्रो छ, नत गाँस,’ त्यहीमाथि घुँडाको समस्या छ, बसेपछि उठ्न पनि गाह्रो हुन्छ ।’ कहिलेकाहीँ साहुको घरमा काम गर्न जान्छिन् । पाएको ज्यालाले दुईचार छाक धानिन्छ । कहिले भने भोकै सुत्नुपर्ने उनको बाध्यता छ ।


पुलमुनिको सरकारी जग्गामा छाप्रो बनाएर दम्पती बस्दै आएकोमा नरबहादुर मृत्युपछि उनी एक्लै छिन् । वर्षाको पानी छाप्राले धान्दैन । ‘बस्नखानको ठेगान छैन । दसैंको के कुरा गर्नु ?’ परियार भन्छिन्, ‘खान नुहाउन र कपडा धुने पानी पनि अन्तबाट ल्याउनुपर्छ ।’ स्याङ्जाकी जैसारा मगरले ४९ वर्ष अघि दलितसँग विवाह गरेकै कारण आफन्बाट एक्लिएकी हुन् । उनले भलाम आटीघरका नरबहादुर परियारसँग बिहे गरेकी थिइन् । ‘श्रीमान्ले ज्यामी काम गर्नुहुन्थ्यो, म पनि होटलमा काम गर्थें, बचत नभए पनि बिहान–बेलुका हातमुख जोर्न ढुक्कले पुग्थ्यो,’ उनले भनिन्, ‘उसबेला बल थियो बचत गर्नेबारे केही सोचिएन, जेपर्ला त्यही टर्ला भनियो । अहिले दु:ख पाइयो ।’ उमेर ढल्केपछि बिरामी हुने, हिँड्न नसक्ने समस्या भएपछि पछुतो लागेको उनले बताइन् ।


सन्तान जन्मिएनन् । न जग्गा छ न घर । ‘आकाशको पानी पर्‍यो भने, चुहिएर राम्रोसँग सुत्न पनि पाइँदैन,’ उनको बिलौना छ, ‘सरकारले केही व्यवस्था गरिदिए हुन्थ्यो नि ।’ ‘छोराछोरी भए पनि उनीहरूको सहारा पाइन्थ्यो होला,’ परियार भन्छिन् । पैसा र छोराछोरी नभएपछि घर, समाज र छिमेकको पनि सहारा नपाइने उनको अनुभव छ । घुँडा दुख्ने रोग छ, कतै चाप्यो भने, कसलाई गुहार्ने भन्ने चिन्ता छ, काम गर्न सकिएन भने, धेरै दिन भोकै बस्नुपर्ने अवस्था आउने उनले बताइन् । वृद्धाश्रममा गएर बस्न पाए पनि हुने उनको आशा छ । परियार विवाह भएदेखि केआईसिंह पुलमै बस्दै आएकी हुन् ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?