कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मनलाग्दी भाडा, गन्तव्य पुग्नै सकस

हरिराम उप्रेती

गोरखा — दसैं मानेर गन्तव्यमा फर्कनेहरूसँग यातायात व्यवसायीले बढी भाडा लिने गरेको यात्रुले गुनासो गरेका छन्  । बढ्दो चापको फाइदा उठाउँदै व्यवसायीले मनलाग्दी तवरले भाडा असुलेका हुन्  ।

मनलाग्दी भाडा, गन्तव्य पुग्नै सकस

‘गोरखा–फिस्लिङ करिब ३५ किलोमिटर होला, ६ सय भाडा देऊ भन्छन्,’ फिस्लिङका सीताराम विकले भने, ‘गोरखाबाट काठमाडौं ३ सय ७० भाडा तिरे पुगिन्छ, काठमाडौं जाने ३ वटा गाडी चढेको, तीन वटैले फिस्लिङ जानेलाई लाँदैनौं भने, यो भन्दा अघि सय रुपैयाँ तिरे पुगिन्थ्यो अहिले जति भने त्यति पैसा तिर्छु भन्दा पनि गाडी चढ्न पाइएन ।’

छोटो दूरीका यात्रुलाई सहचालकले चढाउनै नमान्ने गरेको उनले बताए । ‘तीन घण्टा भयो गाडी नपाएर बसेको, गाडी चलाउनेलाई जति बिन्ती गर्‍यौं नजिक झर्ने भन्दै चढाउनै मान्दैनन्,’ विकले भने, ‘ट्याक्सीलाई १२ सय रुपैयाँ दिन्छु भन्दा आउँदाजाँदाकै १२–१२ सय दिए लान्छु भन्छन् ।’


सीमित सवारी, यात्रुको बढ्दो चापले यहाँ दसैं मनाएर फर्किनेहरू बिचल्लीमा परेका छन् । ग्रामीण भेगबाट सदरमुकामसम्म आउन सवारी नै नपाइने भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङका हेमबहादुर श्रेष्ठले बताए ।

‘तीन वटा गाडीमा अट्ने मान्छे एउटैमा कोचेका छन्,’ उनले भने, ‘भाडा पनि उस्तै महँगो छ, आज ९० रुपैयाँ तिरेर बुंकोटबाट सदरमुकाम आएँ, हिजो राति त्यति नै बाटोमा दुई सय लिए ।’

दसैंका यात्रुलाई मनलाग्दी भाडा लिएको उनको गुनासो छ । ‘खुट्टा हाल्ने ठाउँ पाए बस चढेका छौं नपाए ट्रक, ट्याक्टर, बोलेरो चढेर हिँडेका छौं,’ उनले भने, ‘जसरी हुन्छ ठाउँमा पुग्नै पर्‍यो, जति भन्छन् त्यति पैसा दिनै पर्‍यो ।’ यात्रुवाहक बसमा चाप बढ्दा ट्याक्सी चालकहरूले पनि मनलाग्दी भाडा असुलेको मकैपुरकी सीतामाया श्रेष्ठले बताइन् ।

‘यो चाडबाडमा हिँड्न नपरे हुन्थ्यो जस्तो लाग्छ, माइतीमा जान परिहाल्यो,’ उनले भनिन्, ‘आएको दक्षिणा सबै गाडीभाडामै सकिने भयो, पैसा तिरेर पनि सजिलोसँग हिँड्न पाए हुने नि ।’ आरुघाट, भालुस्वाराँ, भच्चेक लगायतका ग्रामीण भेगबाट छुट्ने अधिकांश सवारीले मनलाग्दी भाडा लिने गरेका हुन् ।


रिजर्भको नाउँमा सवारी धनीले चर्को शुल्क असुलेको पनि यात्रु बताउँछन् । ‘एउटा माइक्रोमा अट्ने मान्छे जम्मा गरेर २० हजार तिरे काठमाडौं लैजाने भन्छन्,’ सिरानचोक गाउँपालिका–६ गाखुका महेन्द्र श्रेष्ठले भने, ‘तीन सय ७० तिरेर पुग्ने ठाउँमा एउटै यात्रुबाट हजार–१२ सय असुलेका छन्, यहाँ कसैको अनुगमन निरीक्षण नै छैन ।’

दसैंका यात्रुलाई लक्षित गरेर ग्रामीण भेगमा क्यु संख्या थप गरिएको गोरखा यातायात व्यवसायी समितिका कार्यालय प्रमुख एकराज उपाध्यायले बताए ।

‘यात्रुको जहाँ चाप छ, त्यहाँ बसहरू धेरै पठाएका छौं, यसअघि १०–११ दिनसम्म बस्ने गाडी पनि नियमित चलाएका छौं, यात्रुलाई सहज सुविधा उपलब्ध गराउन १ सय २० भन्दा बढी गाडी अहिले चलेका छन्,’ उनले भने ।

व्यवसायीले बढी भाडा असुल नगरेको उनले दाबी गरे । ‘बढी भाडा लियो भन्ने गुनासो अहिलेसम्म सुनेको छैन,’ उनले भने, ‘रिजर्भमा जान्छु भन्नेलाई पनि मान्छे हालेर क्युमा जान भनेका छौं ।’


यात्रुसँग सिधै सम्पर्क गरी महँगो शुल्क असुल गरेर छुटेका दुईवटा गाडीलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख दयाराम पौडेलले बताए । ‘समितिको काउन्टरबाट नभए आफूखुसी गाडी लुकाएर यात्रुसँग महँगो भाडा उठाएर कन्ट्रयाकमा हिँड्ने दुई वटा गाडीको कागजपत्र नियन्त्रणमा लिएका छौं, उनले भने ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?