गाउँपालिका अध्यक्षले गरे सुरक्षाकर्मीलाई हातपात

प्रतिक्षा काफ्ले

स्याङजा — भलिबल प्रतियोगिता सञ्चालन भइरहेको स्थानमा युवाहरुबीच भएको झडप छुट्याउन पुगेका सुरक्षाकर्मीलाई कुटपिट गरिएको छ ।

गाउँपालिका अध्यक्षले गरे सुरक्षाकर्मीलाई हातपात

हरिनास गाउँपालिका-६ स्थित क्याक्मीमा भएको भलिबल खेलमा प्रहरी जवान रामनारायण थारुलाई गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले हातपात गरेको जिल्ला प्रहरीले जनाएको छ ।


चापाकोट नगरपालिका-४ र हरिनास गाउँपालिका ६ आयोजक टिमबीच खेल सञ्चालन भइरहँदा चापाकोट ४ दार्सिङका युवाहरुको समूहले मन्च, टेबल, कुर्सी, बेन्च, शिल्ड, भलिबल, नेट भत्काउने र फुटाल्न थालेपछि झगडा सुरु भएको थियो । उक्त युवाहरुले स्थानीय सोमबहादुर मानन्धरलाई कुटपिट गरेर घाइते बनाएपछि सुरु भएको झगडामा प्रहरी चौकी मल्याङकोट र इलाका प्रहरी कार्यालय चिसापानीबाट थप प्रहरी घटनास्थलमा पुगेका थिए ।


प्रहरी घटनास्थलमा पुग्दा युवाहरु भागेका र प्रहरीले सोधपुछ गर्ने क्रममा आक्रोशित भई गाउँपालिका अध्यक्षले प्रहरी माथि नै हापात गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश बिष्टले जानकारी दिए ।


‘युनिफर्म लगाएर डियुटिमा खटिएको प्रहरीलाई नै हातपात र दुर्व्यवहार गरिएको छ,’ उनले भने, ‘प्रहरीको रिपोर्ट अनुसार गाउँपालिका अध्यक्षलाई घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय नै बोलाइएको छ । यदि हातपात गरेको प्रमाणीत भएमा राष्ट्रसेवकलाई कर्तव्य पालनाको शिलशिलामा अवरोध तथा दुर्व्यवहार गरिएको विषयमा उचित कानुनी कारबाहीको दायरामा ल्याइने छ ।’ उनले घटनामा संलग्न व्यक्तिको खोजतलास भइरहेको बताए ।

प्रकाशित : कार्तिक ७, २०७५ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?