१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रोकियो पुनर्निर्माण

दिप्ती सिलवाल

पर्वत — घर बनाउन सुरु गरेको वर्ष दिन भयो । बिहादी गाउँपालिका ३ रानीपानीकी गंगा पराजुलीको घरको जग, पिल्लर र बिम बाँधेर छाडेपछि अहिलेसम्म काम त्यसै अलपत्र छ ।

रोकियो पुनर्निर्माण

रानीपानीकै विष्णु श्रेष्ठको घर पनि भुइँको टाइबिम र पिल्लर ठड्याइएपछि माथि उठ्न सकेको छैन ।

पराजुली र श्रेष्ठको मात्रै होइन रानीपानीका दर्जनौं भूकम्पपीडित परिवारले समयमा घर ठड्याउनै सकेका छैनन् । यसको मूल कारण कामदार अभाव भएर हो । गाउँमा दक्ष कामदार पाइँदैनन् ।

भएका केही सीमित संख्याका कामदारले पहुँचवालाकहाँ मात्रै प्राथमिकता दिँदा भ्याइनभ्याइ छ । कामदार नपाएपछि रानीपानीको मुख्य भूकम्पग्रस्त गाउँ कुँडादी र चोर्दीलगायतमा निजी आवास पुनर्निर्माण रोकिएको हो ।

‘सिमेन्टको गारो लगाउने काम हामीले जान्दैनौं,’ स्थानीय देवीप्रसाद पराजुलीले भने, ‘जानेका मिस्त्री पाइँदैनन् । पाली फालेर बसेको ७ महिना भयो ।’ देवीप्रसादले भूकम्प प्रतिरोधि घर बनाउन पुरानो चिरिएको घरको छानो भत्काएका थिए ।

नजिकैका लीलादेवी भट्टराई, गंगा काफ्ले र गीता शर्मालगायतले घर बनाउनै पाएका छैनन् । मिस्त्री मात्रै होइन घर बनाउन स्टिमेट गराउन प्राविधिक नपाएर अलपत्र परेकाहरू पनि थुप्रैजना छन् ।

भूकम्प प्रतिरोधी घर निर्माण गर्न पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लिएर बसेको करिब डेढ वर्ष पुग्दासमेत भूकम्प पुनर्निर्माण प्राधिकरणले पठाएका प्राविधिक गाउँमा पुगेका छैनन् । पहिलो चरणमा गत वर्ष पुगेर स्टिमेट गरिएका सीमित संख्याका घरमध्ये पनि अधिकांश अधुरै छन् । त्यसयता प्राविधिक नआउँदा घरको जग हाल्नसमेत नपाइएको पीडितहरूको गुनासो छ ।

‘हामीले दर्जनौंपटक गाउँपालिकामा हारगुहार गर्‍यौं,’ स्थानीय घनश्याम पराजुलीले भने, ‘हाम्रो कुरा कसले सुन्ने ? भोलि–पर्सी भन्दाभन्दै वर्ष दिन बित्यो । अब त आसै मरिसक्यो ।’ पीडितहरूले प्राविधिक नआएकै कारण समयमा घर थाल्न नसकेको र प्राविधिक स्टिमेटकै समस्याका कारण दक्ष कामदार समेत नपाएको गुनासो गरेका छन् ।

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि घर बनाउन नपाउँदाको समस्या भनेर साध्य नभएको पीडितहरूले बताएका छन् । ‘घर भत्किएपछि कुनै रात सञ्चोले सुत्न पाइएकै छैन,’ स्थानीय ७८ वर्षीय देवीप्रसादले भने, ‘चिसोले मलाई दमको रोगले छोइसक्यो । बुहारी पनि छातीको रोगी भइन् । नातीनातिना पनि रातदिन खोकिरहन्छन् ।

स्थायी ओत हालेर मर्ने रहर थियो । पूरा नहुने भयो ।’ प्राविधिक पठाइदिन आग्रह गर्दै धेरैपटक गाउँपालिकामा पुग्दा पनि स्टिमेट गर्न नआएको उनी गुनासो गर्छन् । भूकम्प पुनर्निर्माण प्राधिकरणको जिल्ला कार्यालयका अनुसार पहिलो किस्ता लिएका धेरैजसो पीडितले दोस्रो किस्ताको रकम लिन आएकै छैनन् ।

जिल्ला कार्यालय प्रमुख जगदीश शर्माका अनुसार ४ हजार ८ सय १० जनाले पहिलो किस्ता लिएका थिए । १ हजार ४ सय ५० जनाले मात्रै दोस्रो किस्ता लिएका छन् । गत जेठबाट दोस्रो किस्ता रकम वितरण सुरु भए पनि अपेक्षित सहभागिता नभएको उनले बताए । पीडितले घरको जग उठाएर पिल्लर हालेको प्राविधिक रिपोर्ट लिएर दोस्रो किस्ताको रकम माग गर्नुपर्ने प्रावधान छ । तर, प्राविधिकले स्टिमेट नगरेकै कारण धेरैजसो पीडितहरूले दोस्रो किस्ता रकम पाउनै सकेका छैनन् ।

बिहादी गाउँपालिकाले भने प्राधिकरणबाट नपठाएकै कारण सबै पीडितका घरघरमा प्राविधिक पठाउन नसकेको जनाएको छ । ‘हामीले मागेका बेला प्राविधिक नै पाइएन,’ गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषालले भने, ‘उपलब्ध भएका प्राविधिकलाई फिल्डमा खटाएकै छौं ।’

जिल्लामा सबैभन्दा बढी क्षति बिहादीमै भएकाले सबैतिर एकैपटक प्राविधिक पठाउन नसकिएको उनले बताए । दक्ष कामदारको हकमा भने गाउँपालिकाले केही गर्न नसकेको उनको भनाइ छ । ‘सबैतिर एकैपटक घर बनाउने काम भएकाले गाउँमा कामदारको अभाव भएको हो,’ उनले भने ।

प्रकाशित : कार्तिक १२, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?