खानेपानीले फेरियो दैनिकी

दिप्ती सिलवाल

पर्वत — तीन वर्षअघिसम्म जिल्लाभर एउटा कहानी थियो, नाम रानीपानी, छैन खानेपानी  । अहिले त्यो कहानी फेरिएको छ ।

खानेपानीले फेरियो दैनिकी

खानेपानीको चरम संकट खप्न नसकेर कतिपय स्थानीय अन्यत्र बसाइँ पनि गएका हुन् ।

पानी बोक्न टाढाको आउजाउले समय नमिलेर कतिपय बालिकाको पढाइ पनि छुट्यो । स्थानीय नेपालतारा माविको कक्षा ११ मा पढ्ने तिर्सना पराजुलीलाई अब पहिले जस्तै सखारै गाग्रो बोकेर पानी लिन टाढा पुग्नुपर्ने चिन्ता छैन । कक्षा १२ का विमल र सिजनले पनि हिजोआज बिहान ९ बजेसम्मै ढुक्कले पढ्न पाएका छन् ।

‘होमवर्क नसकेर क्लासमा पिटाइ पनि खानुपथ्र्याे,’ विमलले भने, ‘सधैं बिहान उठेर दुई गाग्री पानी ओसार्दा घरमा पढलेख गर्न समय नै पुग्दैनथ्यो । अहिले त्यो समस्या छैन ।’

२०६९ सालतिर चलेको खुला दिसामुक्त अभियानले गाउँमा नयाँ सोच जन्मायो । खुला दिसामुक्त हुनलाई घरघरमा चर्पी चाहियो । चर्पीलाई पानी । नजिक पानीको स्रोत नभएपछि स्थानीयले चर्पी बनाउनै मानेनन् । तर, गाउँ पुगेका प्राविधिकले जुक्ति सिकाए । तत्कालीन पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले गाउँदेखि करिब ३ सय ५० मिटर तलको ढावगैरा मूलबाट पानी ल्याउने योजना हुन सक्छ । सुरुमा गाउँलेले पत्याएनन् । ‘पानी माथिबाट तल पो जान्छ, तलबाट माथि आउँछ भन्दा पत्याउने कुरै भएन,’ ढावगैरा खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद पराजुलीले भने, ‘यहाँ बिजुली आइसकेको थियो । सरहरूले बिजुलीबाट तानेर ल्याउन सकिन्छ भनेपछि हामी कस्सियौं । काम सुरु गरेको एक वर्षमै घरघरै खानेपानी आयो ।

अहिले रानीपानीका कुँणादी, केवरेटोल, बुढाघरेटोल, टारीपुछारेटोल, सिरानटोल, खडेटोल र आचार्यटोललगायतमा दुईवटा लिफ्ट खानेपानी आयोजना सञ्चालनमा छन् । करिब ८० लाखको लागतमा सम्पन्न आयोजनाले यी गाउँका सय हाराहारी घरपरिवारमा पानी पुगेको छ । घरघरै जोडिएका धारा प्रयोग गरेको आधारमा महसुल बुझाउनुपर्छ । एक परिवारले न्यूनतम सयदेखि हजार रुपैयाँसम्मको पानी खर्चन्छन् । पानी तानेको विद्युत् खर्च नौ सयदेखि हजार रुपैयाँ हाराहारी विद्युत् प्राधिकरणलाई बुझाउनुपर्छ । पानी खोल्ने र बन्द गर्ने कर्मचारीलाई मासिक तीन हजार । ‘सबै खर्च गरेर हाम्रो कोषमा तीन लाख जम्मा भएको छ,’ अध्यक्ष पराजुलीले भने, ‘त्यसैको ब्याजले मर्मतसम्भार गर्दैआएका छौं ।’

घरघरै पानी आएपछि स्थानीयलाई खानेपानीमा सहज मात्रै भएको छैन बारीमा सिँचाइ गरी तरकारी बेचेर आम्दानी गर्न पनि पुगेको छ । स्थानीय ज्ञानप्रसाद ढकालले अहिले चारवटा टनेलमा तरकारी हराभरा बनाएका छन् । तीन वर्षअघि कुँणादीका तेजबहादुर दर्जीको घरबारी साढे ३ लाखमा किनेका ढकालले सो लगानी तरकारीकै आम्दानीबाट एक वर्षमै जुटाए । ‘उतिबेला पानीको समस्याकै कारण तेजबहादुरको परिवार मलाई घरजग्गा बेचेर बुटवल सर्नुभयो,’ उनले भने, ‘मैले किनेकै वर्ष खानेपानी आयो । धारा आएपछि पानी सदुपयोग गर्न तरकारी खेती गरें ।’ ढकालले दर्जीको १२ रोपनी बारी र तीनतले घर किनेका थिए ।

उनले अहिले त्यो बारीमा टनेलभित्र गोलभेंडा, काउलीका साथै प्याज र बन्दा फलाउँछन् । बिरुवा पनि बेच्छन् । ढकाल मात्रै होइन पानी आएपछि गाउँकै नुमराज शर्मा र भवानीप्रसाद शर्मा लगायतले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रै आम्दानी गरिरहेका छन् । रामप्रसाद पराजुलीले बारीमा १ हजार २ सयवटा आँप र लिचीलगायत फलफूलका बिरुवा लगाएका छन् । विगतमा हरियो तरकारी देख्नै नपाइने यो गाउँमा अहिले घरघरै करेसाबारी हरिया छन् । ‘अहिले घरघरै तरकारी छ,’ स्थानीय भवानीप्रसाद शर्माले भने, ‘पहिला किनेर खानेले अहिले बजारमा बेच्छन् ।’ गाउँसम्म सडक सञ्जाल सहज भएकाले जिल्लाकै हुवास र स्याङ्जाको वालिङसम्म यहाँको तरकारी जान्छ ।

पानीको संकट समाधान भएपछि अहिले गृहिणी र विद्यार्थीलाई धेरै सहज भएको स्थानीय शिक्षक दुर्गादेवी शर्माले बताइन् । ‘पहिले कुनै पनि दिन विद्यार्थी समयमा कक्षामा आउँदैनथे,’ विगत स्मरण गर्दै उनले भनिन्, ‘मलाई पनि घरको काम सकेर स्कुल पुग्न सजिलो थिएन । अहिले आँगनकै डिलमा धारो छ । चाहिएका बेला पानीको खाँचो छैन ।’ पानीकै समस्या देखाउँदै धेरै विद्यार्थी समयमा विद्यालय नआउने समस्या हटेको उनले बताइन् । घरघरै धारा भएपछि गाउँमा आयआर्जन गर्ने लहर बढ्ने मात्रै नभई सरसफाइमा समेत सुधार आएको स्थानीय अगुवाले बताए ।

धारा भएपछि सबैका घरमा पक्की चर्पी छन् । पानीको समस्याकै कारण घर वरपर देखिने फोहोरमैला पनि अहिले हटेको छ । पारिवारिक, सामाजिक र व्यक्तिगत सरसफाइकै कारण मौसमी बिरामीको संख्या कम हुँदै गएको स्थानीय स्वास्थ्यकर्मी ज्ञानप्रसादले बताए ।

प्रकाशित : कार्तिक १३, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?