२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जीर्ण भयो राम्दी पुल

प्रतीक्षा काफ्ले

स्याङजा — सिद्धार्थ राजमार्गमा पाल्पा र स्याङ्जा जिल्ला जोड्न कालीगण्डकी नदीमाथिको पुल विसं २०२८ बाट सञ्चालनमा आएको हो ।

जीर्ण भयो राम्दी पुल

अधिक भारवहन क्षमता नभएको भन्दै चार वर्षदेखि ठूला सवारीसाधन आउजाउमा रोक लगाइए पनि न पुलको मर्मत गरिएको छ न त वैकल्पिक योजना नै अघि सारिएको छ ।

मेरो माया क्या राम्रो थियो, त्यसैमाथि सिन्दुर थपियो

राम्दी झरेर, मनको कुरा खोलौंला निरमाया मटर चढेर

कृष्ण देवकोटा र लक्ष्मी न्यौपानेको स्वरको राम्दी पुल बोलको यो भाका मात्रै होइन पाल्पा र स्याङ्जा जोड्ने पुल सम्झाउने थुप्रै गीत छन् ।

सिद्धार्थ राजमार्गमा कालीगण्डकी नदीमाथिको राम्दी पुल सञ्चालनमा आएको पाँच दशक पुग्न लागेको छ । विसं २०२२ मा सिद्धार्थ राजमार्गसँगै निर्माण थालनी भएको ९३ मिटर लम्बाइ र ७ मिटर चौडाइको पुल २०२८ बाट सञ्चालनमा आएको हो । पोखरालाई लुम्बिनीका जिल्लाहरूसँग जोड्ने यो फलामे पुल जीर्ण हुँदै गएको छ ।

नजिकै होटल चलाउँदै आएका कालीगण्डकी गाउँपालिका ५ गुरुङ्दीका निमप्रसाद न्यौपाने भन्छन्, ‘एउटा गाडी हिँडे मात्र पनि पुल हल्लिन्छ । यसको संरक्षण नै हुन सकेन ।’ नियमित मर्मत सम्भार नहुँदा पुल जोखिममा रहेको उनले बताए । ‘अहिले त मान्छे वारिपारि गर्दा पनि डराईडराई आलोपालो गर्दै जान्छन्,’ उनले भने, ‘ठूला गाडी आउजाउ गरेको देखेरै के हुने हो जस्तो हुन्छ ।’

पोखरा हुँदै स्याङ्जा, पाल्पा, बुटवल, सुनौली, भैरहवा र पूर्व–पश्चिम जाने सवारी यही पुल हँुदै गुड्छन् । गण्डकी प्रदेशलाई सिद्धार्थ राजमार्गले तराईका जिल्लासँग जोडेको छ । महत्त्वको सडकमा पर्ने पुल भए पनि यसको नियमित मर्मत सम्भारमा सम्बद्ध निकायको ध्यान नपुगेको स्थानीय बताउँछन् ।

पुल पुरानो र जीर्ण भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चार वर्षअघि १५ टनभन्दा बढी भारका ठूला सवारीसाधनलाई आउजाउमा रोक लगाएको थियो । त्यसको नियमन नहुँदा गह्रौं गाडीहरू ओहोरदोहोर गर्ने क्रम रोकिएको छैन । विकल्प नभएकाले गाडीलाई पुल भएर आउजाउ गराउनु बाध्यता रहेको व्यवसायी बताउँछन् ।

वर्षायाममा पहिरोका कारण मुग्लिङ–नारायणगढ र नवलपरासीको दाउन्ने सडकखण्डमा जोखिम भएपछि पोखरा–काठमाडांै चल्ने ठूला सवारीसाधनहरू पनि यही पुल हुँदै गुडेका थिए । ‘१५ टनभन्दा बढीका गाडी पाल्पाको सिमानामै रोक लगाउने सहमति थियो,’ प्रशासनका सूचना अधिकारी यादवराज शर्माले भने, ‘अहिले पनि १५ टनभन्दा बढीका गाडी पुलबाट ओहोरदोहर गर्न पाइँदैन ।’

प्रशासनको निर्णय कार्यान्वयन गराउन पुलमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । अधिक भारवहन क्षमताका सवारी आउजाउमा रोक लगाइएको भनिए पनि पुल भएर दैनिक यात्रु बस र ट्रक चल्छन् । पोखरा–सुनौली चल्ने बसका चालक सन्तु तामाङ भन्छन्, ‘राम्दी पुल एकदमै जोखिममा छ । कति बेला के हुन्छ केही भन्न सकिँदैन । ओहोरदोहोर नगरेर पनि विकल्प छैन ।’ रातको समयमा तर्ने बेला एकपटक गाडीबाट झरेर पुल हेरेर मात्र चलाउने गर्ने गरेको उनले बताए ।

भीरकोट ६ को खिलुङकालिका एग्रोफार्मका निर्देशक शोभाकान्त ढकालले पुल जीर्ण भएकाले कलकारखानासँगै व्यवसायीलाई भारी चीजवस्तु ल्याउन ढुवानी भाडा बढी पर्ने गरेको बताए । ‘बढी वेट पुलले थेग्दैन, यसबाट आउजाउ नगरे अर्को बाटो लामो र घुमाउरो पर्छ,’ उनले भने, ‘पुलकै कारण हाम्रो व्यवसायलाई पनि असर परेको छ ।’ पुल जीर्ण भए पनि परिवर्तीत शासन व्यवस्थामा प्रत्यक्ष रेखदेख कसले गर्छ भन्ने प्रष्ट छैन ।

सिद्धार्थ राजमार्ग निर्माणसँगै पाल्पादेखि पोखरासम्मको विकासको ढोका खोलेको मानिने पुलको अवस्था चेकजाँचका लागि प्राविधिक आएको कहिल्यै नदेखेको स्थानीयले बताए । ‘ठूलो दुर्घटनाको दिन पर्खनुभन्दा यसलाई मर्मत गर्नेतर्फ सरकारले सोच्नुपर्छ,’ स्थानीय शिवलाल बस्यालले भने । फलाम र स्टिलको ट्रसबाट निर्मित पुल पूरा हुन ६ वर्ष लागेको सम्झना पुतलीबजारका कपडा व्यवसायी रवीन्द्र श्रेष्ठलाई छ ।

प्रकाशित : कार्तिक १३, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?