२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मनकामनाको रामबजारमा हाट

किसान आफैं बेच्छन् आफ्ना कृषि उपज
कान्तिपुर संवाददाता

गोरखा — स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई बजारीकरणमा सघाउन सहिद लखन गाउँपालिका ३ मनकामनाको रामशाह बजार नयाँपुलमा साप्ताहिक हाटबजार सुरु भएको छ । हरेक शनिबार किसान आफूले सोझै किन–बेच गर्न मिल्ने गरी हाटबजार सुरु गरिएको हो ।

मनकामनाको रामबजारमा हाट

गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको सक्रियतामा कृषि उपज सञ्चालक समिति गठन गरी हाट सञ्चालनमा ल्याइएको हो । ‘असोज २७ गतेबाट सुरु गरेको हाटबजारमा बल्ल किसानको बानी परेको छ,’ सञ्चालक समितिका अध्यक्ष होमनाथ रिमालले भने, ‘दसैंमा हाट लागेन ।

आज दोस्रोपटक हाट लागेको छ । अब निरन्तर हुन्छ ।’ स्थानीय स्तरमा उत्पादित तरकारी, माछा, बंगुर र खसीको मासु, भुटेको मकैलगायतका सामग्री हाटमा बिक्रीका लागि राखिएको उनले बताए ।

साप्ताहिक हाटबजार सुरु भएपछि किसानहरू पनि उत्साहित छन् । ‘आफूलाई पुग्ने, बढी भए छिमेकीलाई दिनेगरी तरकारी लगाइन्थ्यो,’ मनकामनाकी विष्णुमाया थापाले भनिन्, ‘अब बेच्न पाइने भयो । अब खेती व्यावसायिक हुन्छ ।’ गाउँमा फलाइएका तरकारी हाटबाट किन्न ग्राहकको भीड लागेको उनले बताइन् । ‘हामी पिँडालु पनि बिक्री हुन्छ र भन्थ्यौं । दुई डोको पिँडालु भए घरलाई पुगिहाल्ने, बाँकी त्यसै खेर जान्थ्यो,’ उनले भनिन्, ‘हाटमा मज्जाले बिक्री हुने रहेछ ।’

खुद्रा किन्ने मात्र नभई थोकका व्यापारीहरू पनि हाटमा आएर तरकारीको ‘डिल’ गर्न थालेको मनकामनाकै कविर थापाले बताए । ‘किन्नेले पनि ताजा चीज किन्न पाए,’ उनले भने, ‘अब हाटबजारसँगै तरकारी संकलन केन्द्र स्थापना गर्नुपर्छ भनेर लागेका छौं । यहाँ बिक्री नभएर बचेका सामान संकलन भए किसानहरूलाई फर्काउन परेन, ठूला बजारमा एकमुष्ठ समान लान पनि पाइयो ।’

हाटबजार सुरु भएपछि किसान आफैं मालिक बनेको तिलबहादुर गुरुङले बताए । ‘टमाटर यहाँ ५० रुपैयाँ किलो बेचेका छौं । बजारमा लाँदा बीचका व्यपारीले २०/३० रुपैयाँ नाफा गरेर बेच्थे,’ उनले भने, ‘यहाँ भए किन्ने मान्छेलाई पनि दुई/चार रुपैयाँ सस्तो । हामीले पनि दाम पाउने भयौं ।’ बिचौलियाका कारण झेल्दै आएको सास्ती घटेको उनले बताए ।

बजारमा भन्दा हाटमा तरकारी सस्तो परेको तनहुँको आँबुखैरेनीकी सुस्मिता थापामगरले बताइन् । ‘बारीबाटै ल्याएको ताजा तरकारी पाइयो, सस्तो पनि पर्ने भएर हाटमै आउन थालेकी छु,’ उनले भनिन् । छिमेकी जिल्ला तनहुँको आँबुखैरेनी, मुग्लिन र गोरखा बजारका उपभोक्तालाई लक्षित गरेर हाट सञ्चालनमा ल्याइएको सहिद लखन गाउँपालिकाका कृषि शाखा प्रमुख विजय पौडेलले बताए । ‘किसानहरूले आ–आफ्नै समूह बनाएका छन् । १२ वटा कृषक समूहले यहाँ कृषि उपज बिक्रीका लागि ल्याउन थालेका छन्,’ उनले भने, ‘स्थानीयलाई प्राथमिकता दिएर बाहिरका व्यपारीहरूले पनि यहाँ सामान राख्न पाउने ब्यवस्था मिलाएका छौं ।’

गाउँपालिकाको नौवटै वडामा संकलन केन्द्र स्थापना गरेर स्थानीय कृषि उपज संकलन गर्ने योजना रहेको उनले बताए । ‘हाटबजार नलाग्दा पनि यहाँका सामान संकलन गरेर बाहिर पठाउन सके व्यावसायिक कृषिमा किसानको आकर्षण बढ्छ,’ उनले भने । गाउँपालिका विस्तारै माछा, च्याउ र केरामा आत्मनिर्भर बन्दै गएको पनि उनले बताए । हाटमा एक दिनमा ६ लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान छ ।

प्रकाशित : कार्तिक १३, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?