१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कृषि र पशुका कर्मचारीले तलब पाएनन्

कान्तिपुर संवाददाता

नवलपरासी — कावासोती नगरपालिकामा कार्यरत कृषि र पशुसेवा कार्यालयका कर्मचारीले चार महिनदेखि तलब पाएका छैनन् । अरु सबै ४ सय ७ जना कर्मचारीले महिनैपिच्छे तलब बुझ्ने गरे पनि गाभिएका दुई विषयगत कार्यालयका सात कर्मचारीले गत साउनदेखि तलब नपाएका हुन्  ।

कृषि र पशुका कर्मचारीले तलब पाएनन्

संघीयता कार्यान्वयनसँगै विषयगत कार्यालय खारेज भएर त्यसका सेवा स्थानीय तहमार्फत दिइने सरकारी नीतिअनुसार दुवै कार्यालय नगरपालिकाको इकाइका रूपमा छन् ।

अरू सबै कर्मचारीलाई नगरपालिकाले तलब दिँदै आए पनि दुई इकाइका कर्मचारीले तलब नपाएको पशु सेवा प्राविधिक बुद्धि देउजाले बताए । ‘हप्तैपिच्छे प्रमुख प्रशासकीय अधिकृत र लेखापालकहाँ धाइरहेका छौं तर तलब दिन चासो देखाउँदैनन्,’ उनले भने, ‘तलब नदिएर दसैं पनि
खल्लो बनाइदिए ।’

संघीय मामिला मन्त्रालयले गत असोज २२ मा कृषि र पशु सेवाका कर्मचारीलाई तत्काल तलब दिन देशभरका नगरपालिकालाई पत्राचार गरेको थियो ।

तलब नपाएपछि दुवै इकाइका कर्मचारीले पनि काममा ध्यान दिएका छैनन् । उनीहरूको तलब सुविधाको चार महिनाको करिब सात लाख रुपैयाँ बाँकी छ । नगरपालिकाका लेखा सहायक बालकृष्ण सुवेदीले मन्त्रालयले नै तलब निकासा नपठाएका कारण कर्मचारीलाई वितरण गर्न नसकेको बताए । ‘दसैंअघि नै मन्त्रालयबाट तलब दिनु भन्ने परिपत्र आएको छ भन्ने सुनेको छु ।

अब प्रक्रिया मिलाएर दिने हो,’ उनले भने । कर्मचारी समायोजन गर्दा यस्तो समस्या देखिए पनि अब तिहारको तलब खुवाउँदा उनीहरूलाई पनि दिइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : कार्तिक १३, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?