१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

डिंगाको रखवाली अनिवार्य

आश गुरुङ

लमजुङ — संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका आ–आफ्नै कानुन  । लमजुङको एउटा गाउँ, जहाँका बासिन्दाले डिंगा (गाईभैंसीलगायतका बस्तुभाउ) चराउनैपर्ने नियम बनाएका छन्  ।

डिंगाको रखवाली अनिवार्य

गाउँमा घरपालुवा जनावरलाई यत्तिकै छाड्ने गरिन्छ । फुकाएर छाडेका बस्तुभाउ अरूको घरआँगनमा पस्ने, मानिसलाई हान्ने साथै बालीनाली खाने गरेपछि क्व्होलासोंथर गाउँपालिका–८ घाम्राङका बासिन्दाले चौपायाका पछि एउटा मानिस अनिवार्य हुनुपर्ने नियम बनाएका हुन् ।

‘गाईबस्तु धनीले आफ्ना डिंगा अनिवार्य चराउनुपर्छ । नत्र कारबाही गरिने नियम बनाएका छौं,’ कोम्रो गाउँ संरक्षण तथा विकास समितिका अध्यक्ष मखनबहादुर गुरुङले भने । नियम उल्लङ्घन गरे पहिलो पटक ५ सय, दोस्रो पटक १५ सय र तेस्रो पटक पनि गरे २५ सय जरिवाना तोकिएको छ । गाईभैंसीले अलैंचीका बिरुवा खाएमा प्रतिबिरुवा ५० रुपैयाँ धनीलाई बुझाउनुपर्नेछ ।

किवीका बिरुवा खाएमा प्रतिबिरुवा ५ सय क्षतिपूर्ति तोकिएको छ । धान, मकै, कोदो, काउली, बन्दा, तोरीजस्ता बाली खाएमा बस्तुभाउका धनी र बालीका धनीबीच अनुगमन समितिले सहमति गराई क्षतिपूर्ति भराउनेछ ।

यसै साता गाउँमा बसेको भेलाले महिलामाथि हुने हिंसा, बलात्कार तथा जघन्य अपराध गरेमा एक लाख रुपैयाँ जरिवाना तोकेको अध्यक्ष गुरुङले बताए । जरिवाना तिर्न नमानेमा कानुनबमोजिम कारबाही गरिनेछ । ‘गाउँमा केही वर्षअघि घटना भयो । कानुनअनुसार हामीले आफैं कारबाही गर्न मिल्दैन । तर, गाउँमा कुनै यस्ता घटना हुन नदिन हामीले महिलामाथि हुने जुनसुकै हिंसाजन्य घटना घटाउनेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेका हौं,’ उनले भने ।

उनका अनुसार विशेष परिस्थिति (गुरुङ समुदायको संस्कारसंस्कृति जन्य क्रियाकलाप) बाहेक चुरोट, जाँडरक्सीजस्ता मादकपदार्थ प्रयोग गर्न नपाइने नियम बनाएको छ । १८ वर्ष पूरा नभएका बालबालिकालाई सुर्तीजन्य तथा मादकपदार्थ सेवन तथा लानल्याउन निषेध गरिएको छ । यस्ता कार्य गरेको पाइएमा अभिभावकलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ जरिवाना तोकेको छ ।

घाम्राङ गाउँ र यस क्षेत्रभित्र कुनै ठाउँमा जुवातास खेल्न खेलाउन नपाइने नियम बनाइएको समिति सचिव कुलप्रसाद गुरुङले बताए । उनका अनुसार विद्यालय, गाउँसभा सम्मेलनमा घरबाट जाँडरक्सी खाएर आएको पाइएमा २ सय रुपैयाँ जरिवाना तोकेको छ । कटुवालले बोलाएको बैठकमा उपस्थित नहुनेलाई २ सय रुपैयाँ जरिवाना तोकेको छ । जरुरी काम परेरमा थाहा दिनुपर्नेछ ।

सभाले ढिकीमा कुटेको चामल प्रतिकिलो १ सय रुपैयाँ, मकैको पिठो प्रतिकिलो ७० रुपैयाँ तोकेको छ । धानबारी, कोदोबारी गोड्ने, कान्ला ताछ्ने कार्य धनीले खाजा खुवाएर ३ सय, मंसिरमा धान माड्नेका लागि धनीले ३ छाक खुवाएर ३ सय, काँचो दाउरा काट्नेलाई एक छाक खाएर ४ सय, मल, दाउरा बोक्नेलाई एक छाक खाएर ३ सय, गोरु जोत्ने धनीले खाना नखुवाई १ हजार, गोरु मात्र लगेमा एक हल ३ सय, खेतबारीमा गारो हाल्ने काम एक छाक खाएर ४ सय, बारबेर गर्ने कामका लागि ३ सय रुपैयाँ तोकेको छ ।

असार–साउनमा बनेरी (महिनाभरि काम) बस्नेलाई अन्न लिएमा ५० पाथी धान र रकम लिएमा १२ हजार ५ सय रुपैयाँ तोकेको छ । एक दिन खेत रोप्ने र पर्मबारे गोरु धनी र कामदारबीच सहमतिमा गरिने निर्णय गरिएको छ । उमेर नपुगेका कामदारलाई दुवैको सहमतिमा हुनेछ । असारसाउन रोपाइँमा हलगोरु साथै जहानसहित गएमा तीन छाक खाना खुवाएर प्रतिव्यक्ति ३०० रुपैयाँ, एकबर्ष असार नगरेका वा सिकारु कामदारलाई प्रतिदिन १ सय ५० रुपैयाँ तोकेको छ । अन्नबालीको नल उक्काउने र कोदो रोप्ने काममा प्रतिव्यक्ति ३ सय तोकेको छ ।

दाल प्रतिपाथी ५ सय, मस्याङ, बोडी, भट्टमास ३ सय, गाईभैंसीको घ्यूको प्रतिमाना ६ सय ५० सय रुपैयाँ तोकेको छ । घाम्राङका अगुवा गमप्रसाद गुरुङका अनुसार गाउँलेले बर्षमा एक पटक आफ्नो नियम आफैं बनाएर कार्यान्वयन गर्ने गर्छन् । ‘मुलुक कानुन कार्यान्वयनमा फितलो देखिएको बेला घाम्राङ गाउँको रीतिथितिले कानुनी राज्यको अनुभूति दिलाउने झल्को दिने काम गरेको छ । यो एक उदाहरणीय काम हो,’ उनले भने ।

गाउँमा हरेक वर्ष भदौमा भेला बसेर निर्णय गर्ने गरिएकोमा यसपटक कामको बढी चटाराले कात्तिकमा आएर निर्णय गरिएको उनले बताए । क्व्होलासोंथर गाउँपालिका ८, घाम्राङका अध्यक्ष राजु गुरुङले गाउँलेले बनाएको नियम कानुन गाउँले व्यावहारिक कार्यलाई हेरेर बनाएको बताए । ‘हामी आफ्नो गाउँको नियम कानुन आफैं बनाउँछौं । यसले समुदायलाई भाँड्न दिँदैन । अनुशासनमा बाँध्छ । नत्र कसैले कसैलाई नटेर्ने हुन सक्छ । हाम्रो चुनौती सरकारको कानुनसँग होइन,’ उनले भने ।

प्रकाशित : कार्तिक १८, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?