कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रारा भ्रमणमा गएको चापाकोटको मेयरको टोलीले कालीकोटमा रक्सी पिएर गर्‍यो झगडा, मेयरसहित केही घाइते

प्रतिक्षा काफ्ले

स्याङजा — सरकारी खर्चमा ३० जना लिएर रारा भ्रमणमा गएको स्याङजाको चापाकोट नगरप्रमुख शिव गिरीको टोलीले कालीकोट जिल्लामा मदिरा सेवन गरी झगडा गर्दा मेयरसहित केही घाइते भएका छन् ।

रारा भ्रमणमा गएको चापाकोटको मेयरको टोलीले कालीकोटमा रक्सी पिएर गर्‍यो झगडा, मेयरसहित केही घाइते

बिहीबार रारा भ्रमणको लागि निस्किएको नगरपालिकाको टोली शनिबार बेलुका रारा ताल पुगेर फर्किएपछि कालीकोटको स्थानीय एक होटलमा झगडा हुँदा गिरीको टाउकोमा चोट लागेको छ । झगडामा घाइते भएका गिरीको टाउकोमा चोट लागेको कालीकोट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।


प्रजिअ कार्कीका अनुसार गिरीलाई जिल्ला अस्पताल कालीकोट राखिएको छ । उनको टाउकोमा ५ वटा टाँका लगाइएको छ । यस्तै गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका लगाइएको बताइएको छ । यसरी नै नगर प्रहरी इन्र्चाज शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइएको कार्यपालिकाका एक सदस्यले टेलिफोनमार्फत जानकारी दिए ।


प्रजिअ कार्कीका अनुसार भक्तपुर जिल्लाबाट रारा भ्रमण आएको टोली र चापाकोट नगरपालिकाको टोली एउटै होटलमा बास बसेका थिए । च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशव्द बोल्दै झगडा भएपछि कुटपिट भएको उनले बताए ।


उनका अनुसार दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका थिए । ‘राति दुई बजे भएको झगडामा घाइतेलाई हस्पिटल लगियो भने अन्यलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ,’ उनले भने, ‘गल्ती दुवै पक्षको छ । दुवै पक्षको सहमतिमा अगाडी बढ्छौं ।’ उनले दुवै पक्ष बाहिरी जिल्लाको भएकाले उनीहरुको सहमतीमा कारबाही गरिने बताए ।


स्याङजा कामु प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले रारा भ्रमण गएका चापाकोट नगरपालिकाको टोलीबीच भएको झगडाबारे यर्थाथ बुझ्न बाँकी रहेको बताए । उनका अनुसार कालीकोट प्रजिअमार्फत मादक पदार्थ सेवन गरेर रातभर झगडा गरेको सूचना आएको र यर्थाथ बुझ्ने काम भइरहेको छ ।


प्रकाशित : कार्तिक १८, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?