कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिक्लेसमा शान्ति स्तम्भ

कान्तिपुर संवाददाता

पोखरा — कास्कीको मादी गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा शान्ति स्तम्भ निर्माण भइरहेको छ । दशक लामो सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही माओवादीको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल भूमिगत जीवनबाट पहिलोपटक सिक्लेसमै सार्वजनिक भएका थिए । त्यसपछि शान्तिप्रक्रिया सुरु भएको थियो ।

सिक्लेसमा शान्ति स्तम्भ

शान्तिप्रक्रियाको प्रस्थान बिन्दु सुरु गरेको स्मरणमा गाउँपालिकाले स्तम्भ निर्माण गरिरहेको हो । विद्रोही नेता सार्वजनिक भएको सिक्लेसको ऐतिहासिक र राजनीतिक महत्त्वलाई ध्यानमा राखेर स्तम्भ बनाउने योजना अघि सारिएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बताए ।


‘सिक्लेस नेपालको शान्तिप्रक्रियाको सुरु बिन्दु भएकाले सम्झनास्वरूप स्तम्भ बनाउन लागिएको हो,’ उनले भने, ‘स्तम्भसँगै शान्तिप्रक्रियासँग सम्बन्धित ऐतिहासिक दस्तावेज, तस्बिरलगायत पनि संग्रहालयमा राखिने छ ।’ स्तम्भ गाउँको थप पर्यटकीय ‘प्रोडक्ट’ हुने र अध्ययन अनुसन्धानका लागि पनि सहयोगी बन्ने उनको विश्वास छ ।


निर्माणका लागि गाउँपालिकाले १० लाख रुपैयाँ छुट्याएको छ । सिक्लेसबासीबाट १० प्रतिशत श्रमदान रहने योजनामा छ । शान्ति स्तम्भ निर्माण उपभोक्ता समिति अध्यक्ष दानबहादुर गुरुङले अहिलेसम्म ८० प्रतिशत काम सकिएको बताए । उनका अनुसार एउटै ढुंगा कुँदेर स्तम्भ बनाइने छ । त्यसमा शान्तिको प्रतीक परेवादेखि विभिन्न ११ वटा सन्देश दिने आकृति रहनेछन् । ‘स्तम्भलाई अब ‘बेस’ मा राख्ने काममात्र बाँकी छ,’ उनले भने, ‘चाडबाड र खेती थन्काउने चटारोले केही ढिला भएको हो । अब केही दिनमै काम सकिनेछ ।’


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालयसँगै स्तम्भ रहनेछ । मादी–६ भेंडीखर्क तप्राङबाट ल्याइएका ढुंगा कुँदेर मूर्तिकार नारद हार्तम्छाली कलाङले स्तम्भ बनाएका छन् । ‘शान्तिप्रक्रिया हाम्रो गाउँबाट सुरु भएकाले चिनारी राख्न खोजिएको हो,’ मादी–१ का वडाध्यक्ष सुरज गुरुङले भने । माओवादी अध्यक्ष दाहाल र अर्का नेता बाबुराम भट्टराई २०६३ असार २ मा सिक्लेसबाट काठमाडाैं गएका थिए ।


उनीहरूलाई तत्कालीन सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हेलिकप्टरमा काठमाडाैं लगेका थिए । यसअघि सोही वर्षको जेठ २८ मा दाहाल र सिटौलाबीच सिक्लेसमै वार्ता भएको थियो । जेठ २६ मा दाहाल र भट्टराई सिक्लेस पुगेका थिए ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?