सेतीमा हिउँदे र्‍याफ्टिङ गर्नेको भीड

कान्तिपुर संवाददाता

दमौली — हिउँदयामसँगै सेती नदीमा जलयात्राका लागि पुग्ने पर्यटकको संख्या बढेको छ । जलस्तर नबढ्ने र पानी सफा रहने भएकाले र्‍याफ्टिङका लागि आन्तरिक र बाहय पर्यटक आकर्षित भएका छन् । 

सेतीमा हिउँदे र्‍याफ्टिङ गर्नेको भीड

सेतीमा दैनिक आधा दर्जन डुंगामा र्‍याफ्टिङ हुने गरेको पर्यटन विकास समिति अध्यक्ष हरिसिंह गुरुङले बताए । र्‍याफ्टिङ गर्न युरोप, अमेरिका र एसियाली मुलुकबाट पर्यटक आएका छन् ।


सेती नदीमा एक रात र दुईदिने प्याकेजमा र्‍याफ्टिङ हुने गरेको छ । दमौलीबाट सुरु गरिने र्‍याफ्टिङमा टोली बन्दीपुरको धाप र साराङघाटमा बास बस्ने गरेका छन् । र्‍याफ्टिङ गर्ने पर्यटकलाई लक्षित गरेर धापमा सुविधा सम्पन्न रिसोर्ट खुलेको छ भने साराङघाटमा क्याम्प बनाएर बस्ने गरेका छन् ।


क्याम्पमा पर्यटकका लागि स्थानीयले खानेकुराको व्यवस्था मिलाउने गरेका छन् । क्याम्पमा बस्ने पर्यटकलाई मनोरञ्जन दिन स्थानीयले कौराहा र झ्याउरे नृत्य देखाउने गरेका छन् । धापबाट दोस्रो दिन पर्यटक गाईघाट पुग्छन् । खाना र बाससहित प्याकेजमा प्रतिव्यक्ति पाँच हजार रुपैयाँ र्‍याफ्टिङको व्यवस्था मिलाइएको व्यवसायीले बताए । दमौलीदेखि चितवनको गाईघाटको दूरी ३२ किमि छ । प्राकृतिक दृश्यावलोकनसहित र्‍याफ्टिङ गर्न पाइने भएकाले पनि सेती नदी पर्यटकको रोजाइमा पर्ने गरेको हो ।


र्‍याफ्टिङका लागि यो नदी सुरक्षित पनि मानिन्छ । सौराहा घुम्नेगरी आएका पर्यटकहरूले चितवनसम्म र्‍याफ्टिङको माध्यमबाट यात्रा रोज्ने गरेको र्‍याफ्टिङ गाइड सनमा लामाले बताए । दमौलीबाट सेती नदी हुँदै पर्यटक धाप र साराङघाटमा एक रात बस्ने र भोलिपल्ट चितवन जाने गरेका छन् । सौराहा घुम्नका लागि पोखराबाट प्याकेज बनाएर हिँडेका विदेशी पर्यटक प्राय: चितवनसम्म र्‍याफ्टिङ गर्छन् ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?