व्यवसायसँगै समाज सेवा

धार्मिक पुस्तक धेरै बेच्ने राजभण्डारीले प्रतिबन्धित कालखण्डमा वामपन्थी विचार पछ्याउनेका लागि पनि किताब र पत्रिका पुर्‍याए
प्रकाश बराल

बागलुङ — साठी वर्षअघि धार्मिक विषयका पुस्तक पाउन राजधानी काठमाडाैं नपुगेसम्म सम्भव थिएन । कतिपय पुस्तक ल्याउनका लागि काशी वनारस जानुपर्ने बाध्यता थियो । 

व्यवसायसँगै समाज सेवा

त्यही समयमा यहाँका लालचन्द्र राजभण्डारीले खोलेको पसलले धेरै धार्मिक आस्था राख्नेको चाहना पूरा गरिदियो । धार्मिक आस्थाका मात्र नभई त्यतिबेला राजभण्डारीले कम्युनिस्ट विचारधाराका पुस्तक पनि बेच्थे । माओत्सेतुङ, कार्ल माक्र्स, लेलिन र चे ग्वेभारा लगायतका जीवनी, विचारधाराका पुस्तकहरू पाइने पसल पनि उनकै हो ।


धार्मिक पुस्तक बेच्ने पसलका रूपमा बाहिर देखाएर उनले वामपन्थी विचार फैलाउने कामसमेत गर्दा प्रशासन अलमलिन्थ्यो । ‘धेरै धार्मिक पुस्तक पाइने भएकाले जनताको साथ छ भनेर मलाई पक्राउ गर्न सकेन,’ उनी भन्छन्, ‘राजनीतिक रूपमा कम्युनिस्टको वर्चस्व बढाउन पत्रपत्रिका र पुस्तकबाटै पहल गरेको हुँ ।’ वामपन्थी विचारसँगै बीपी कोइरालाका पुस्तक र लोकतान्त्रिक धारका पत्रपत्रिकासमेत उनले बेचिरहेका छन् । अझै पनि महान् व्यक्तिका जीवनी खोज्नुपरे जिल्लामा उनकै पसलको नाम आउँछ ।

प्रतिबन्धितकालमा प्रशासनले थाहा पाए दु:ख दिनसक्ने दर्जनौं पुस्तक र पत्रपत्रिका ल्याएर उनले बागलुङमा बेचेका थिए । राजनीतिक आस्था राख्नेले लुकेर पढ्थे । विशेषगरी त्यतिबेलाका समीक्षा साप्ताहिक, जनादेश, गोरखापत्र र राजनीतिक मुखपत्रका रूपमा निस्कने सबै अखबार उनको पसलमा पाइन्थ्यो । तर, चिनेजानेको बाहेक अरूलाई गोरखापत्र मात्र बेच्थे । किन्ने थोरै भए पनि दैनिक १ सय ५० जनाले प्रगतिशील पत्रिका पढ्ने गरेको उनको भनाइ छ ।


प्रगतिशील पत्रपत्रिका बेचेको भेउ पाएपछि अञ्चलाधीशले उनको पसलबाट स्टेसनरी सामग्री नकिन्न सबै सरकारी कार्यालयलाई उर्दी लगाए । २०१९ देखि सुरु भएको राजभण्डारीको पसल निरन्तर चलेको यो क्षेत्रकै पहिलो हो । त्यसअघि २०१४ मा केदारनारायण भारी र महेशकुमार राजभण्डारीको पसल थियो । ती पसलमा पनि स्टेसनरी सामान बिक्री हुन्थ्यो । छोटो समयमै बन्द भएपछि अहिलेका पसल धेरैपछि मात्र खुलेका हुन् ।


तत्कालीन समयमा पनि सक्रिय राजनीति नगरेका राजभण्डारी अहिले पनि बौद्धिक व्यक्तिको रूपमा मात्र चिनिन्छन् । २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिए पनि उनी सक्रिय पदमा कहिल्यै बसेनन् ।


७६ वर्षीय राजभाण्डारी अहिले पनि पसलमै बस्छन् र वामपन्थी आन्दोलनबारे बहस, छलफल र सल्लाह गर्छन् । त्रिचन्द्र कलेज पढेकाले केन्द्रीय राजनीतिमा पनि चासो र दख्खल राख्छन् । उनीसँग धेरैले सल्लाह माग्ने गरेको छिमेकी देवबहादुर श्रेष्ठ बताउँछन् । ‘राजनीतिमा चासो राख्ने थोरै हुने र केन्द्रदेखि जिल्ला बुझेकाबाट धेरैले चासो राख्थे,’ उनले भने, ‘जिल्लामा वामपन्थीहरू बढाउन उनको पसल उर्वर भयो ।’ शिक्षण पेसामा लाग्दालाग्दै आफ्नै विवाहमा काठमाडौं गएर एक महिनासम्म बसेको भन्दै उनको सेवा कटौती भएपछि राजभण्डारीले पसलमै लगानी बढाएका थिए ।


जिल्लाकै जेठो विद्यामन्दिर माविमा राजभण्डारीले २ वर्ष पढाएका थिए । ‘मेरो चाहना जनतालाई जागरण फैलाउने थियो । शिक्षकबाट हटे पनि अध्ययन केन्द्र बनाएर जागरण बढाउन पाएँ,’ उनी भन्छन्, ‘पटक–पटक प्रशासनले धरपकड गरे पनि यो पेसा छाडिनँ ।’ २०४६ को परिवर्तन ताका र ०६२/६३ मा बढी समस्यामा परेको उनले बताए । सेनाले पटक पटक परिवारका सदस्यलाई तनाव दिएको उनले बताए । घर घेराउ गरेर मार्ने योजना बनाउँदा छिमेकीको सुराकीले बाँचेको उनको अनुभव छ ।


मोहनविक्रम सिंहबाट प्रभावित राजभण्डारी लामो समयसम्म उनकै विचारमा रहे । २०५२ देखि सञ्चालित जनयुद्धको पक्षधर भएकाले उनले माओवादीको सदस्यता लिए । सदस्यता लिए पनि उनले सक्रिय राजनीति गरेनन् । छोरा मुकेशचन्द्र राजभण्डारीले भूमिगत राजनीति पनि गरेका थिए । साहित्यमार्फत तिखो आलोचना गर्ने, पत्रकारितामार्फत लेखन बढाउने र बैचारिक बहसमार्फत संगठन गर्ने राजभण्डारीका बाबुछोराको क्षमताले माओवादी आन्दोलन अन्यत्रभन्दा बागलुङ बजारमा बलियो बनेको कार्यकर्ताको बुझाइ छ । ‘उहाँहरूको योगदानको मूल्यांकन सामान्य रूपमा गर्न सकिंदैन,’ नेकपाका जिल्ला नेता निर्मल श्रेष्ठले भने, ‘वैचारिक आन्दोलन सफल पार्न उहाँले देखाएको बाटो मार्गदर्शक भयो ।’


सेना र प्रहरीले चालेका सफाइ अभियानमा कार्यकर्ताको ज्यान जोगाउने काममा राजभण्डारीले अगुवाइ गरेको श्रेष्ठले बताए । सामाजिक अभियन्ता भएकाले प्रशासनले पक्राउ गर्न नसकेको अवसरको राजभण्डारीले भरपूर उपयोग गरेका थिए । महाभारतदेखि गीतासम्म धार्मिक पुस्तक बेच्ने पसलमै कम्युनिस्ट आन्दोलनका दर्जनौं पुस्तक बेचेर उनले राजनीतिक र सांस्कृतिक जागरण फैलाएको नेकपाका नेता देवेन्द्र पौडेलको भनाइ छ । शान्ति सम्झौतापछि तत्कालीन माओवादीले राजभण्डारीलाई सम्मान पनि गरेको थियो ।


उमेरले बुढ्यौली भए पनि अझै उनी सामाजिक काममा सक्रिय छन् । पसलमा प्रगतिशील पुस्तक र अखबार पनि बेच्छन् । छोरा राजेशचन्द्र र मुकेशचन्द्रले उनको पेसालाई निरन्तरता दिएका छन् । टाढाटाढाबाट आएका ग्राहक अहिले पनि लालचन्द्रको पसल खोज्दै भेट्न पुग्छन् । अहिले पनि उनको पसलमा धार्मिक ग्रन्थ र प्रगतिशील पुस्तक बराबरी बिक्री हुन्छ ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?