२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कुश्मामा बढे आन्तरिक पर्यटक

कान्तिपुर संवाददाता

पर्वत — कुश्माको वन्दना होटलका सञ्चालक कृष्ण श्रेष्ठले सामाजिक सञ्जालमा लेखे– ‘यस्तै अवस्था हुने हो भने मेरो होटलमा अझै सय कोठा अपुग हुन्छ । मुक्तिनाथ जाने यात्रुका कारणले मात्रै मैले होटलमा कोठा थप्नुपर्ने अवस्था आयो ।’ 

कुश्मामा बढे आन्तरिक पर्यटक

दुई दशकअघिदेखि कुश्मामा होटल व्यवसाय गरेका उनले यसपटकको दसैं र तिहारका बीचमा अहिलेसम्मकै भीड बढेको बताए । वन्दना मात्रै होइन, कुश्माका नाम चलेका बेञ्जु, ब्रिज भ्यु, फ्रेन्डली, नवीन र पारिजात होटलमा यति बेला आन्तरिक पर्यटक आउजाउ गरिरहेका छन् ।


बजारका मात्रै नभएर सडकसँग जोडिएका पिसजोन रिसोर्ट, कालीगण्डकी र्‍याफटिङ क्याम्प, बटुवा रिसोर्ट र नासा होटल लगायतमा केही दिनअघि नै बुकिङ नगरे कोठा पाउनै मुस्किल छ । पछिल्लो समय नेपालीहरूको घुम्ने संस्कृतिमा विकास भएसँगै पर्वतका होटल व्यवसायीलाई आयआर्जनको राम्रो अवसर जुटेको छ ।


दसैंतिहारलगायत चाडबाडको लामो बिदा हुने र घुम्नका लागि मौसम पनि अनुकूल भएकाले मुस्ताङ आउजाउ गरेका आन्तरिक पर्यटक कुश्मामा पनि रोकिन थालेका हुन् । धौलागिरिको प्रवेशद्वार र पर्यटकीय राजधानी पोखरासँग नजिक भएकाले पनि बर्सेनि यहाँ आउने पर्यटकको संख्या बढेको व्यवसायी बताउँछन् ।


पछिल्लो समय कुश्मामा निर्मित अग्ला झोलुंगे पुलको छुट्टै आकर्षण छ । पुल हेर्न र घुम्न आउनेहरू कुश्मामा बास बस्न रुचाउँछन् । गुप्तेश्वर, अलपेश्वर, लालेश्वर, पार्वती गुफा र निर्माणाधीन बन्जी जम्प र कुश्मा–बलेवा यान्त्रिक पुल पर्यटकका मुख्य रोजाइ बन्ने गरेका छन् । मुक्तिनाथ, घोडेपानी, बागलुङ कालिका र पञ्चकोट लगायत घुमेर फर्कनेका लागि कुश्मामा एक रातको बसाइ सहज छ ।


अग्ला पुलहरू कुश्मा–ज्ञाँदी, कुश्मा–बलेवा र कुश्मा–मुडिकुवा झोलुंगे पुल, कुश्मा–बलेवा केबुलकार, कुश्मा आसपासका गुप्तेश्वर र अलपेश्वर गुफा, मोदीवेणीधामको दर्शन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको व्यवसायीहरूको दाबी छ ।


होटल व्यवसायी विषम श्रेष्ठका अनुसार निर्माणाधीन मध्यपहाडी लोकमार्गले पर्यटकको आगमनमा कमी आउने आकलन गरिए पनि गत वर्षको तुलनामा यसपटक बढी नै भीड छ । ‘पोखरादेखि पर्वतसम्म आउने सडक विस्तार भइरहेकाले टुरिस्ट कम होलान् भन्ने लागेको थियो,’ उनले भने, ‘अनुमान फेल खायो । भीड पोहोरभन्दा बढेको छ ।’


पछिल्लो समय केही विदेशी पर्यटक समेत कुश्मा आउने गरेका छन् । यद्यपि कुश्माका होटलमा भने विदेशीको तुलनामा आन्तरिक पर्यटककै भीड बाक्लो हुने गरेको छ । विषमको बेञ्जु होटलमा दैनिक सय जनासम्म आन्तरिक पर्यटकले कोठा बुकिङ गर्ने गरेका छन् ।


पर्यटन व्यवसायी जगन अधिकारीले पछिल्लो समय कुश्मामा पर्यटनको सम्भावना बढेको बताए । ‘अहिले अग्ला पुल हेर्न आउनेको भीड बढदो छ,’ उनले भने, ‘अग्ला पुलको मात्रै प्रचारले पनि आन्तरिक पर्यटकको संख्या बढेको हुन सक्छ ।’ मुक्तिनाथ जाने र पोखरा आउने पर्यटकहरू सिधै फर्कने गरेकोमा अग्ला पुलको प्रचारकै कारण यहाँ घुम्न आउने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।

प्रकाशित : कार्तिक २७, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?